करोडौँ कस्तूरी

लेखक : अमर न्यौपाने
प्रकाशक : फाइन प्रिन्ट
बितरक : फाइन प्रिन्ट

पृष्ठ : ३८४
मूल्य : ४५०


रचनागर्भ

 

काठमाडौ, असार २१ - पाँच वर्षअघि

सम्झिरहेछु ।

मेरा विद्यार्थीहरूले पनि सम्झिरहेका होलान् ।

पढाउने सिलसिलामा शिक्षाभन्दा सिर्जनशीलता ठूलो कुरा हो भन्ने बुझाउन मैले पटकपटक भनेको थिएँ, “कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएका भए के हुन्थे होलान् ?”

यो प्रश्नको उत्तर अनेक हुन सक्छन् । मैले उत्तरको रूपमा एउटा मनोकथा बनाएर विद्यार्थीलाई सुनाएँ :

मानौँ,

कलाकार हुन जन्मेका हरिवंशले आफ्नो भित्री इच्छालाई दबाएर शिक्षालाई मात्र महत्त्व दिन्छन् । त्यसैले कक्षा पास गर्न गिदीबाट पसिना बगाउँदै पढ्छन् । तीन पटकसम्म फेल भएर चौथोपटकमा मुस्किलले एसएलसी पास हुन्छन् । आईए, बीए र एमए पनि किस्ताबन्दीमै कटाउँछन् । यति पढिसक्दा उनी ३५ वर्षका भइसक्छन् ।

पढाइमा एमए पास गरिसक्दा उनीभित्रको कलाकार रोगी, पुड्को र कतै हिँडडुल गर्न नसक्ने भएर कुजिइसकेको हुन्छ । राम्रो डिभिजन नआएका कारण उनलाई जागिर पाउन हम्मेहम्मे पर्छ । त्यसैले एउटा प्राइभेट कलेजका प्रिन्सिपलको खुब चाकडी गरेर पार्टटाइम मास्टरी जागिर फेला पार्छन् । त्यसलाई जिन्दगीभर बिर्सिनसक्नुको गुन सम्झिन्छन् उनी ।

रंगमञ्च र पर्दामा हास्यव्यंग्य प्रस्तुत गर्न नपाएका उनले त्यसको क्षतिपूर्ति चोक, चौतारो, चियापसल, पिकनिक, कक्षाकोठा तथा मानिसहरूको जमघटमा हँसाएर गर्छन् । कहिलेकाहीँ सुटुक्क भट्टीपसलमा छिरेर पनि हसाउँछन् । हसाउँछु भनेर होइन, उनले बोल्यो कि हाँसिहाल्छन् चिन्नेहरू ।

त्यसैले, मानिसहरूले उनलाई हेपेर अनेक उपनाम दिन्छन् : जोकर, सनकी, हुस्सू, हलिवंश, नरपशु, गोबरगणेश आदि ।

उनका विद्यार्थीहरू उनको जोकर पाराबाट खुब मनोरञ्जित हुन्छन् । कुरा गर्छन्, “हरिवंश सर त क्या जोक्कर छ यार ! लास्टै हसाउँछ । पढाउन नजाने पनि हरिवंश सरको कक्षामा फ्रेस भइन्छ ।”

पछिपछि गएर उनी दुईतीनवटा कलेजमा कतै पार्टटाइम, कतै करारमा पढाउने हुन्छन् । उनलाई एमए पास गरेर कलेज पढाउन पाएकामा बडो गर्व लाग्छ । तर, कमाइ थोरै भएकाले डेरा भाडा तिर्न र स्वास्नी–छोराछोरी पाल्न बडो मुस्किल परेको हुन्छ । त्यसैले बेलाबेलामा लोग्नेस्वास्नीको ठास्सठुस्स पर्ने गर्छ ।

उनका छोराछोरी आफ्नो बा जोकरजस्तो भएकामा लाज मान्छन् । साथीहरूलाई हाम्रो बा भनेर चिनाउन पनि अप्ठ्यारो मान्छन् । कसैकसैले ‘जोकरका छोराछोरी’ भनेर जिस्काउँदा उनीहरू खिन्न हुन्छन् ।

उनकी स्वास्नी पनि कसैले जोकरकी स्वास्नी भनिदेलान् कि भनेर उनीसँग हिँड्नै अप्ठ्यारो मान्छिन् ।

समाजबाट हास्य र हेलाँको पात्र हुँदा पनि हाँसिरहने हरिवंश परिवारबाट समेत झन्झन् उपेक्षित हुँदै जान्छन् । १५ वर्ष दु:ख गरेको आम्दानीमा ऋणधन थपेर सहरको काँठमा सानो घर मात्र उभिने घडेरी किन्छन् । त्यहाँ तीनकोठे घर बनाउन अरू आठ–दस वर्ष लाग्छ । त्यो बेलासम्म उनी बूढा भइसकेका हुन्छन् । तर पनि जिन्दगीभरमा यति पढेर यति काम गर्न सकेकामा आफूलाई धन्य ठान्छन् । शिक्षाले उनको जिन्दगीलाई यति साँघुरो बनाइदिन्छ । यो कुरा उनी आफैँलाई थाहै हुँदैन । किनभने, शिक्षाले उनको आँखामा पट्टी लगाइदिएको हुन्छ ।

मानौँ,

यसरी हरिवंशले जिन्दगीभर आफूभित्रको महान् कलाकारलाई कहिल्यै चिनेनन् । आफूभित्रको कस्तूरी पहिल्याएनन् । श्रीखण्डलाई सधैँ खुर्पाको बिँड बनाइरहे ।

कथा सकिएपछि

यो मनोकथा सुनेर विद्यार्थीहरू खुब आनन्दित र मनोरञ्जित भए । अन्त्यमा भनेँ, “कलाकार हरिवंश आचार्य त्यस्ता कस्तूरी हुन्, जसलाई आफ्नो नाभिको सुगन्ध बेलैमा थाहा भयो र त्यो सुगन्धलाई आफूभित्र मात्र सीमित राखेनन्, संसारलाई दिए । संसार धन्य भयो । उनी महान् कलाकार बने । यही नै सिर्जनशीलताको शक्ति हो । तर, धेरै कस्तूरीलाई आफ्नै जीवनबाट आएको सुगन्ध पनि कहाँबाट आएको हो भन्ने थाहै हुँदैन । थाहै नभएर जिन्दगी सकिन्छ । केहीले थाहा पाएर पनि केही गर्न सक्तैनन् । थोरैले जीवनको उत्तरार्धमा पुगेर मात्र थाहा पाउँछन् । त्यो बेलासम्म सुगन्ध पनि आफैँ मक्किएर लगभग सकिइसकेको हुन्छ । सायद संसार र सृष्टि यसरी नै चलिरहेको छ ।”

पाँच वर्षपछि

एक दिन लेखक दाजु कृष्ण धरावासीलाई भेट्न उनको घर जाँदै थिएँ । पुग्नै लाग्दा अचानक मेरो मनोलोकमा झिलिक्क भयो । विद्यार्थीलाई उतिबेला भनेको मनोकथा अचानक पुन: क्लिक भएको रहेछ, “कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएको भए के हुन्थे होलान् ?”

हिँड्दाहिँड्दै मनोलोकमा एउटा उपन्यास उत्तिखेरै लेखियो । आफैँलाई प्रश्न गरेँ, “यतिन्जेल यो कथा किन क्लिक नभएको होला ?”

त्यसपछि धरावासी दाइको घर पुगेँ र उनलाई नै पहिलोपटक भनेँ, “दाइ † तपैँलाई भेट्न आउँदाआउँदै मनोलोकमा एउटा उपन्यास लेखियो । विषय स्वत: बन्यो, शैक्षिक ।”

दाइले खुसी भएर भने, “छिट्टै लेखिहाल्नू भाइ ।”

यो उपन्यास लेख्ने सोच बनाएपछि मैले थुप्रै मदनकृष्ण, हरिवंशहरूलाई चोकचोकमा देख्न थालेँ, जो चोक र चौतारामा, चियापसल र भट्टीपसलमा हँसाएर जीवन खेर फालिरहेका छन् । थुप्रै नारायणगोपाल र लता मंगेस्करहरूलाई देखेँ, जो वनपाखा र मेलापातमा गीत गाएर जीवन बिताइरहेछन् ।

जताततै करोडौँ कस्तूरीहरूलाई देख्न थालेँ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौँतारिइरहेछन् । जीवन धूँवामा उडाइरहेका लक्ष्मीप्रसाद देवकोटाहरू, भट्टीमा भड्किरहेका नारायणगोपालहरू, भैँसी चराइरहेका रामवरण यादवहरू, यसै कुँजिएर बसेका झमक घिमिरेहरू, आवारा भई बरालिइरहेका विकासानन्दहरू, सय रुपियाँ बोकेर बरालिएका पुष्कर शाहहरू...।

पटकपटक एसएलसी फेल भइरहेका रवीन्द्रनाथ टैगोरहरू, तृतीय श्रेणीमा म्याट्रिक पास भएर दु:खी बनिरहेका महात्मा गान्धीहरू, चिया बेचिरहेका नरेन्द्र मोदीहरू, खलासी काम गरिरहेका रजनी कान्तहरू, लम्बु भनेर सबैबाट होच्याइएका अमिताभ बच्चनहरू...।

अन्धो र बहिरो भएर तड्पिरहेका हेलेन केलरहरू, दाउरा चिरिहेका अब्राहम लिंकनहरू, मन्दबुद्धिका भनेर हेपिइरहेका अल्बर्ट आइन्स्टाइनहरू, स्कुलबाट निकालिएका थोमस एल्बा एडिसनहरू, भीख मागिरहेका चार्ली च्याप्लिनहरू, घरेलु कामदार भइरहेका म्याक्सिम गोर्कीहरू, कवाडी काम गरिरहेका स्टिभ जब्सहरू, सडकमा चना बेचिरहेका पेलेहरू, कलेज छोडिरहेका बिल गेट्सहरू, कुँजो भएर निरीह जीवन बिताइरहेका स्टेफन हकिङ्सहरू...।

लाग्यो, संसारमा त्यस्तो मानिस कोही हुँदैन जोसँग केही नहोस् । संसारमा त्यस्तो मानिस पनि कोही हुँदैन, जोसँग सबैथोक होस् ।

अनि, उपन्यास लेख्दै गर्दा उपन्यासको सार यसरी निकालेँ, वनको कस्तूरीले आफ्नो विनाको सुगन्ध कहाँबाट आएको हो, थाहा पाउँदैन र कहाँबाट आयो भनेर वनवन खोज्दै भौँतारिइरहन्छ । मानिस भने आफ्नो जीवनको सुगन्ध थाहा पाउनसक्ने कस्तूरी हो । तर, मानवचक्रलाई हेरिल्याउँदा थाहा लाग्छ, धेरैलाई आफ्नो जीवनको सुगन्ध थाहा हुँदैन । मानव–सभ्यताको आजसम्मको क्रम हेर्दा यस्तो निष्कर्ष निकालेँ, करोडौँ कस्तूरीहरू, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरे । करोडौँ कस्तूरीहरू, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन् । करोडौँ कस्तूरीहरू, जो आफ्नो सुगन्ध थाहा पाएर पनि निष्कर्म भई निष्क्रिय जीवन बाँचिरहेछन् । करोडौँ कस्तूरीहरू, जो आफ्नो सुगन्ध जीवनको उत्तरार्धमा मात्र थाहा पाएर भौँतारिँदै बाँचिरहेछन् । केही कस्तूरीहरू, जसले आफ्नो सुगन्ध बेलैमा थाहा पाए र त्यसलाई व्यवहारमा ल्याए, उनीहरूकै विचार, दर्शन, सिर्जना र आविष्कारले संसार र संसारका मान्छेहरूलाई चलाइरहेछ ।

भर्खर एसएलसीको रिजल्ट भएको छ । ४७ प्रतिशत विद्यार्थी पास भए । ५३ प्रतिशत फेल भए । स्वाभाविकै हो, पास हुनेहरू जीवनमै पास भएझैँ खुसी भइरहेछन् । फेल हुनेहरू जीवनमै असफल भएझैँ दु:खी भइरहेछन् । एकाधले त फेल भएँ भनेर आत्महत्यासमेत गरे । कतिले आत्महत्या गर्ने प्रयास गरे होलान् । खासमा कुनै पनि परीक्षामा पास हुनु भनेको अरूको कुरामा पास हुनु हो, आफ्नो कुरामा होइन, जीवनमा होइन । स्कुल र कलेजमा अरूको दिमागको कुरा विद्यार्थीको दिमागमा राखिन्छ र त्यसैका आधारमा परीक्षा लिइन्छ । अनि, पासफेल छुट्याइन्छ । त्यसैले परीक्षामा पास भएँ भनेर धेरै खुसी र फेल भएँ भनेर धेरै दु:खी हुनु व्यर्थ छ ।

अझ कठोर सत्य भन्ने हो भने शिक्षाले मानिसलाई नोकर बनाउँछ, इच्छाले मालिक । जीवा लामिछाने, उपेन्द्र महतोजस्ता सफल व्यवसायी इन्जिनियरिङ शिक्षा पढेका हुन् । उनीहरू अब्बल विद्यार्थी पनि हुन् । सायद उनीहरू इन्जिनियर नै भएका भए कुनै सरकारी या गैरसरकारी इन्जिनियर हुन्थे होलान् । तर, कक्षामा पढ्दै नपढेको कुरामा उनीहरू सफल भए । त्यसैमा जीवनको पहिचान बन्यो र आफूजस्ता कैयौँ इन्जिनियरहरूलाई काम लगाउन सक्ने भए ।

नारायणगोपालसँग स्वर नभएको भए संगीतको शिक्षाले मात्र केही हुन्थेन । उनी गाउनैका लागि जन्मेका थिए । आफू केका लागि जन्मेको हुँ भनेर चिन्नु नै आफूभित्रको कस्तूरी चिन्नु हो । कहिलेकाहीँ सोच्छु, गीत गाउनै जन्मेका नारायणगोपाललाई उनका अभिभावक र शिक्षकले जबरजस्ती डाक्टरी पढाएर डाक्टर बनाएको भए उनी कस्ता डाक्टर हुन्थे होलान् ? उनका सयौँ सुमधुर गीतहरू अहिले कहाँ हराउँथे होलान् ?

शैक्षिक परीक्षाका सम्बन्धमा अल्वर्ट आइन्स्टाइनले भनेका छन्, ‘सबै मानिससँग कुनै न कुनै खुबी हुन्छ । तर, यदि माछाको परीक्षा रूख चढ्न लगाएर लिइयो भने उसले आफूलाई जीवनभर असफल ठान्नेछ ।’

चरा र माछालाई, बाँदर र हात्तीलाई एकै किसिमको परीक्षा लिइयो भने के होला ? प्रत्येक मानिसको अनुहार र औँठाछाप फरकफरक हुन्छ तर स्कुल र कलेजमा एकै किसिमको प्रश्नपत्रका आधारमा मूल्यांकन गरिन्छ । पासफेल छुट्याइन्छ । अनि, विद्यार्थीहरू त्यही मूल्यांकनका आधारमा आफ्नो जीवनको मूल्यांकन गर्छन् । यो बिलकुल गलत छ । उड्न सकिनँ भनेर माछाले दु:खी हुनुहुँदैन, पौडिन सकिनँ भनेर चराले आफूलाई असफल सम्झिनु हुँदैन । स्कुल र कलेजको परीक्षाले जीवनको सही मूल्यांकन गर्न सक्तैन । सबैसँग फरकफरक क्षमता हुन्छ । त्यसैले परीक्षामा सफल हुनुभन्दा जीवनमा सफल हुनु ठूलो कुरा हो, प्रत्येक मानिसभित्र फरकफरक र अमूल्य कस्तूरी हुन्छ भन्नका लागि नै करोडौँ कस्तूरी लेख्नुपरेको हो । करोडौँ कस्तूरी सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि हो ।

 

प्रकाशित मिति: २०७२ असार २१

साभार: कान्तिपुर

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस