वानिरा गिरी
प्रारम्भिक जीवन

पिता इन्द्रराज गिरी र माता जानकीदेवीका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानिरा गिरीको जन्म भएको थियो । उनको जन्म दार्जिलिङको खरसाङमा संवत् २००३ वैशाख २२ गते शनिबार भएको थियो । वानिरा गिरीको नाउँ सानामा सत्यदेवी थियो । उनी अक्षय तृतीयाका दिन जन्मेकीले उनलाई सत्यदेवी भनिएको थियो । वानिरा गिरी सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन् । त्यसपछि उनका बुबाले छोरीलाई बोकीबोकी हिँडे । छोरीको पढाइ लेखाइबाट इन्द्रराज गिरी धेरै सन्तुष्ट थिए त्यसैले उनी छोरीको भविष्य लगेर डाक्टरमा जोड्न पुग्थे । सोही अनुरूप वानीराले पनि आई.एस्सी. पढिन् । आई.एस्सी. को अन्तिम परीक्षा आउनु केही दिन अघि उनका बुबाको पनि स्वर्गारोहण भयो ।

शिक्षा तथा कार्य जीवन

वानिरा गिरी चार वर्ष हुँदा देखि नै नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा भर्ना भएकी थिइन् । त्यस स्कुलमा उनले छैटौँ कक्षा उत्तीर्ण गरिन् । उनी कक्षा एकदेखि छ सम्म पढाइमा प्रथम भइरहिन् । त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरियो । त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एस.एल.सी. पास गरिन् । उनले स्नातक गरेपछि एम.ए. पढ्न २०२२ सालमा काठमाडौं आइन् र एम.ए. मा भर्ना लिइन् । भारतीय विद्यार्थीलाई नेपाली पढ्ने श्री ५ महेन्द्र छात्रवृत्ति अन्तर्गत नै उनले भर्ना पाएकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नै एम.एड्. पनि गरिन् । पढाइमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि पनि गरिन् र आफूलाई मन पर्ने कविलाई विद्यावारिधी को विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा वानिराले विद्यावारिधी गरिन् र नेपाली साहित्यमा विद्यावारिधी गर्ने उनी प्रथम नारी भइन् ।

व्यक्तिगत जीवन

काठमाडौं टेकेपछि वानिरा गिरीको शङ्कर गिरीसँग परिचय भयो र अन्तत: २०२३ सालमा इन्जिनियर गिरीसँग उनको वैवाहिक जीवन पनि स्थापित भयो । यिनका एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन् ।

साहित्यिक यात्रा

वानिरा गिरी सानैदेखि कवितालेखनमा रुचि राख्थिन् । एघार वर्षकै उमेरमा उनी कविता लेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा ईश्वरवल्लभले भनेका थिए “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्य भूमिको राप मैले त्यतिबेलै देखेको थिएँ । त्यसैले अगमसिंह गिरीले आयोजना गरेको कवि गोष्ठीमा मैले उनलाई पुरस्कार स्वरूप केही कृति दिएको थिएँ ।” उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्व कलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आफू मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्तेपत्रिका पनि निकालिन् । एघार वर्षको उमेरमा उनी भित्तेपत्रिका सम्पादन र प्रकाशन पनि गर्थिन् । वानिरा गिरीले बाल्यकालदेखि नै आफूलाई साहित्यतर्फ लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डी.के. खालिङको सम्पादनमा दार्जिलिङ्गबाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि उनी जनसमक्ष प्रस्तुत भएकी हुन् । त्यसपछि उनी कविता लेखनमा क्रमश: चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कविता सङ्ग्रह प्रकाशित भयो । त्यसपछि २०३४ सालमा यिनको अर्को कविता सङ्ग्रह प्रकाशित भयो ‘जीवन: थायमरू’ अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो । ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०३४ सालमा प्रकाशित भयो । त्यसै गरी २०४४ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो । उनको ‘शब्दातीत शान्तनु’ नेपाली साहित्यमा निकै चर्चित बन्यो । त्यही कृतिले संवत् २०५६ को साझा पुरस्कार पनि प्राप्त गर्‍यो । उनले पाएका पुरस्कारको लेखा जोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । उनी प्रबल गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइन् । यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन् ।

लेखनशैली

डा. वानिरा गिरीका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन् । उनी कवितामा जीवन लेख्छिन् र जीवनै कवितामा लेख्छिन् । गिरीका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ । त्यसैले उनी कवितामय धर्तीको गीत लेख्छिन् । उनका कवितामा एकातिर दर्शनले साँध लगाएको हुन्छ भने अर्कातिर उनका काव्यात्मक विम्बमा लालुपाते फुलेको हुन्छ । उनी जीवन र जगत्का प्रसङ्गलाई अलङ्कारमय बनाउँछिन् ।

लेखन एवम मुख्य कृतिहरू

कविता सङ्ग्रह

• एउटा जिउँदो जङ्गबहादुर
• जीवन: थामहरू - २०३४
• शब्दातीत शान्तनु - २०५६

उपन्यास

• कारागार - २०३५
• निर्बन्ध - २०४४

आत्मकथा

• मेरो आविष्कार - २०४१

पुरस्कार/मान-सम्मान/पदक

• रत्नश्री स्वर्ण पदक
• गोरखा दक्षिणबाहु चौथा
• लोकप्रिया देवी पुरस्कार-२०४८
• साझा पुरस्कार - २०५६
• नेपाली साहित्यका विश्व नारी रत्न
• महाकवि देवकोटा पुरस्कार - २०७३


नेपाली विकिपिडियाबाट
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस