लेखक : प्रोल्लास सिन्धु्लीय
प्रकाशक : साङ्ग्रिला बुक्स
बितरक : उपन्यास
उपन्यासबाट :
आउँछु मस्यौरी
“रामदाइ ! रामदाइ ! !”
झमक्क साँझ परिसकेको थियो । झ्याउँकिरीका फरकफरक चर्का–मधुरा स्वरले पर्यावरण गुञ्जायमान थियो । बास बस्ने तर्खरका चराचुरुङ्गीको हल्लीखल्लीले बारीपुछारको बाँसझ्याङ नै हल्लाइरहेझैँ लाग्थ्यो । तल अँधेरी झरना एक्लैएक्लै विरक्त लाग्दोगरी सुसाइरहेको थियो ।
आफूभरिको कालीकाठको लौरो काँधमा हालेर राम पँधेरातिरको पाखोबाट अँधेरी झरनातिर ओर्लिंदै गरेको देखियो । अँधेरी झरनाको शिरहुँदै खतिवडा गाउँ जाने गोरेटो थियो । दिउँसै अँध्यारो हुने त्यो गोरेटो झमक्क साँझमा कस्तो हुँदो हो ?
अँधेरीखोलातिर झरेको निकैबेरसम्म पनि राम उकालो लागेको देखिएन । पाखातिरबाट घाँसको भारी लिएर घर फर्किंदै गर्दा मस्यौरीले कुनै आकृति अँधेरीखोलातिर झर्दै गरेको हेक्का राखेकी थिइन् । कद अन्दाज गर्दा तिनलाई त्यो आकृति राम हो कि जस्तो पनि लागेको थियो । मामाघरतिर जान लागेका होलान् भन्ठानेकी थिइन् तिनले । तर, निकै बेरसम्म पनि पारि पाखामा ननिस्किएपछि उनको मनमा चिसो पस्यो । घाँसको भारी त्यतै बारीमै छाडेर उनी दौडिइन् रामको घरतिर ।
“रामदाइ ! रामदाइ ! !’ चिच्याउँदै तिनी आँगनमा पुगिन् । सानीआमा मकै छोडाउँदै रहिछन्, नबोलौँलाजस्तै गरिन् ।
“रामदाइ खै त ?” मस्यौरीको स्वरमा डरमिश्रित कम्पन थियो ।
“खै ! अघिसम्म त त्यैँ पँधेराको डिलमा घोसेमुन्टो जोतेर बसिराख्या देख्या थेँ !” सानिमाले ओठ लेप्य्राइन् ।
“... तलतिर...तलतिर... अँधेरीतिर गा’को रामदाइ हो ? ? ! !” यत्ति भनेर मस्यौरी उत्तरको प्रतीक्षासमेत नगरी दौडिइन् अँधेरीतिर ।
“रामदाऽऽइ ! रामऽऽदाऽऽइ ! !’ अँधेरीखोला मस्यौरीको स्वरले गुञ्जायमान भयो तर त्यसको प्रत्युत्तर कतैबाट आएन । तिनी अत्तालिएर अँधेरी झरनाको शिरमा पुगिन् । अँधेरीखोला ठूलो ढुङ्गाको डिलबाट निकै तऽऽल खसेर छङ्छङ गरिरहेको सुनियो । त्यसै त अँधेरी, अँधेरो थपिएर बाटोको डोबसमेत पहिल्याउन नसकिने भएको थियो त्यसबखत ।
चिच्याउँदा–चिच्याउँदा तिनी बेहोसजस्ती भइन् तर त्यसको जवाफ आउँदै आएन । भुइँमा थचक्क बसेर तिनी डाँको छाडेर रुन थालिन्, “रामऽऽ दाऽऽइ ! !”
दुई मिनेटजति पछि नजिकै खस्राकखुस्रुक गरेको जस्तो आवाज आयो । मस्यौरीले आँसुको भेल बग्दै गरेका आँखा उठाएर हेरिन्— नजिकैको ढुङ्गामा कुनै मानवआकृति चल्मलाउँदै गरेको देखियो ।
मस्यौरी दौडिएर त्यहाँ पुगिन् । राम हातको सिरानी हालेर केही थाहा नपाएको जस्तोगरी ढल्किरहेका रहेछन् ।
“रामदाइ ! !” मस्यौरी आत्तिएर अँगालो हाल्न पुगिन् ।
“रामदाइ ! ! मेरो राम ! ! ! किन यस्तरी बसेको यहाँ ?” उनको आँखामा बलिन्द्र धारा आँसु यथावत् थियो । उनले झन्झन् कसिलोगरी रामलाई समातिन् । मानौँ, प्रकृति पनि मन थामेर सुनिरहेझैँ थियो क्यार, निकै बेरसम्म मस्यौरीको हिँक्क–हिँक्कबाहेक केही सुनिएझैँ लागेन ।
“म बस्दिनँ मस्यौरी ! अब म यो गाउँमा बस्दै बस्दिनँ !” रामको आँखा पनि ओभाना रहेनन् ।
“त्यसो नभन न रामदाइ ! त्यसो नभन ! तिमी भएनौ भने मेरो के हुन्छ ? तिम्री आमाको के हुन्छ ?”
“म बस्दिनँ अब ! सानिमा पोइल नजाउन्जेल या त्यो नमरुन्जेल म यो गाउँमा खुट्टै टेक्दिनँ !”
निकै बेरसम्म अँधेरीको अँधेरो र उनीहरूबीचको मौनता कायम रह्यो । अँधेरी झरना उस्तै डरलाग्दोगरी सुसाउँदै रह्यो । अझै सुसाइरहेछ उस्तैगरी ।
०००
“हो रहेछ,” उनले मनमनै दोहो¥याए, “लोभी झन् सारो, नहुने ढुङ्गाभन्दा सारो भन्थे, हो रहेछ !”
जत्ति नै मख्खीचुस भए पनि रामदाइका मामा धनाढ्य रहेछन् । मामाको त्यो धनाढ्यता भर्खर मात्र देखेका थिए रामदाइले । मामाका चार सन्तानमध्ये एउटा छोरा र एउटी छोरी बोलीविहीन थिए । त्यसबेला घरमा बोलीविहीन छोरीबाहेक अन्य कोही थिएनन् । तिनले इसाराले रामदाइलाई बोलाइन्, “हाम्रा बाको पैसा हेर्छस् ?” रामदाइ पनि उस्तै केटाकेटी नै त भए, “हेर्छु,” भन्दै उनको पछि लागे । माथिल्लो तलामा एउटा ठूलो सन्दुक रहेछ । बैनीले लुकाएको ठाउँबाट चाबी झिकिन् र भोटेताल्चा खोलिन् । आफूभरिको सन्दुकको ढक्कन सकिनसकी खोलेर रामदाइले तन्किएर हेरे, बाफ रे बाफ ! पूरै सन्दुक पैसाका बिटैबिटाले भरिएको रहेछ । एक फोल्ड दोबारेर खोस्टाले बाँधेका गड्डीहरू एकनासका देखिन्थे । त्यसमध्येको एक गड्डी झिकेर उनले हातमा खेलाए । कुन्नि के सोचेर हो बैनीसँग सोधे, “यो एउटा म लैजाऊँ ?” उनले मुसुक्क हाँसेर मुन्टो हल्लाइदिइन् । खुसुक्क खोकिलामा गड्डी घुसारेर उनी लागे घरतिर ।
खोल्सीको पँधेरो सुनसान रहेछ । रामदाइ पँधेरोको डिलमा उक्लिए । एक पटक लामो श्वास फेरे र त्यहीँको चौरमा घुँडा दोबारेर बसे ।
त्यसै त पारिलो पाखो, आज अझ पारिलो लागिरहेको थियो । बेला–कुबेला छोप्न आउने तुवाँलो पनि टाढाटाढा चौतारातिरको क्षितिजमै अलमलिइरहेजस्तो देखिन्थ्यो । घरतिर हेरे— के–के न बित्लाजस्तो गरेर पूरै घर छेकारो मारेर रातो भाले एक्लैएक्लै दौडिरहेको रहेछ । काली अघिसम्म आँगनमा नाम्लोको डोरी खेल्दै थिइन्, कतिबेला घरतिर सुइँकुच्चा ठोकिसकिछन् । पालीको खोरमा ‘मुकुमुकु म्या, मुकुमुकु म्या’ गर्ने दुई काला पाठाबाहेक हल्ला गर्ने अर्को जन्तु भँगेराका जोडी मात्र देखिए । र, त्यो परिवेशलाई शान्त हुन नदिन तिनै काफी पनि थिए ।
अँधेरीपारिको खतिवडा गाउँ सुनसान देखिन्थ्यो । त्यसको झन्डै माथितिरको मावली गाउँतिर रामदाइले आँखा डुलाए, अहँ केही हल्लीखल्ली देखिएन । उस्तै शान्त देखियो त्यो गाउँ पनि ।
घरमा आमा सुकुल बुन्दै थिइन् । सोधिन्, “कता पुगेर आइयो महाराज ?”
“पारि मामाघर ! मामाले सोध्दै हुनुहुन्थ्यो । आज बिहानैदेखि बैनीको झल्को आइराखेको छ, आमालाई यता पठाइदेऊ है भन्नुभएको छ,” रामदाइले कुरा बनाए ।
“आऽऽ, गर्लान् याद ! कोही नपाएर अब मेरो झल्को आउला नि तिन्लाई !” आमाले ओठ लेप्य्राइन् ।
“खै, मलाई त त्यसै भने । कि तपैँ जान्नूस्, कि तपैँकै दाइ जानून् ! मलाई के ! नजाने भए नगए भैहाल्यो नि !” उनले पनि उसैगरी घुक्र्याए ।
“जान त हुन्थ्यो नाइँ ! ढिकीमा धानको घान हालिसकेको छ । अलपत्र पारेर जानुभएन क्यार ।” उनले सायद छोरोको कुरो पत्याइछन् ।
“जानू न त जानू ! कालीकी आमालाई भनेर म कुट्दिउँला त्यो धान ।”
छोरोको आश्वासनले मख्खै परिन् उनी । एकै छिनमा कम्मरमा बाँधेको धोतीको सप्को काँधमा हालेर अँधेरीखोला पारि उक्लिँदै गरेको देखियो उनलाई ।
आमा हिँडेपछि रामदाइ घरभित्र पसे । ढोकाको आग्लो दÃोसँग लगाएर ओछ्यानमा पैँलेटी मारे । र, खोकिलाको गड्डी निकालेर धमाधम गन्न थाले । एक–एक रुपैयाँको त्यो गड्डीमा एक सय पाँच वटा नोट रहेछन् ।
मध्याह्न ढल्किसकेको थियो । रामदाइले काठको पुरानो दराजबाट आमाले पट्याएर राखिदिएको लुगा झिके । एक जोर लुगा जुटको झोलामा पोको पारे । पिँडुलासम्म आइपुग्नेखालको खुकुरी कम्मरमा बाँधे । आमा माइती पुग्दानपुग्दै रामदाइ भोटेचौरतिर उकालो लागे ।
हिँड्ने बेला उनले भेटेको एक मात्र पात्र मस्यौरी थिइन् ।
दुई दिनअघिको अँधेरीकाण्ड सम्झेर मस्यौरी भित्रभित्रै भक्कानिइरहेकै थिइन् । तर, उनले रामदाइको “लाहुर जाने” योजनामाथि कुनै अड्चन हाल्ने हिम्मत भने गरिनन् ।
“पर्खिराख्नू ! तँलाई लिन म एक दिन यो गाउँमा आउँछु । मेरी आमाको हेरविचार गर्दै गर्नू !” रामदाइको खस्न लागेको आँसु पुछ्दै मस्यौरीले टाउको हल्लाएर उनको आदेश शिरोधार्य गरिन् । हिँड्ने बेला गला अवरुद्ध पारेर यत्ति भनिन्, “यहाँको चिन्ता गर्नुपर्दैन, आफ्नो मात्रै चिन्ता गर्नू !”
‘बाटोखर्च’ भनेर मस्यौरीले दिएको दुई रुपैयाँ पनि खल्तीमा हालेर उनी उकालो लागे । घाँटी नै दुख्नेगरी फर्किंदै, हेर्दै गर्दागर्दै मस्यौरी ओझेल परिन् । भोटेचौरको डिलमा पुगेपछि उनले फेरि फर्केर तलतिर हेरे । बारीमा फिँजाउन राखिएको गोबरमलको थुप्रोजस्तै मस्यौरी जहाँको त्यहीँ उभिइराखेकी रहिछन् । मस्यौरीले नदेखे पनि उनले अन्तिम पटक हात हल्लाए, “आउँछु मस्यौरी ! परदेशमा भोकभोकै मरिनछु भने तँलाई लिन मात्र भने पनि म आउँछु !”