मोना

लेखक : विश्वबन्धु कार्की
प्रकाशक : अनेसास, वासिङ्टन डिसी
बितरक : एम.के. पब्लिसर

विधा : उपन्यास

पृष्ठ : २०८

मूल्य : रु.२५०

पुस्तकबाट :

चिन्तै चिन्ताको मारले मोना दिनप्रतिदिन दुब्लाउँदै गई । उसका पहिलेका स्याउझैं पुक्क फुलेका राता गाला ख्याउटे बन्दै थिए । लामा काला कपाल पातलिँदै गए तथा शरीरमा हाडछालामात्र बाँकी रहने अवस्था भयो । मोनाको शरीर देखेर मान्छेहरू आ–आफ्नै शैलीमा कुरा गर्थे । कोही कामको मारले मर्न आँटेकी भन्थे, कोही बिहे गर्नुपर्ने बाध्यताले दुब्लाएकी । ती भनाइमा केही अंश सत्यता पनि लुकेको थियो ।एक दिन चौतारीमा ४÷५ जना लोग्ने मान्छेहरू गाउँतिर उकालो लाग्दै गरेको देखियो । बलबहादुर बूढा रामेश्वर आएको थाहा पाएपछि मोनालाई घर–आँगन सफा गर्ने सल्लाह दिएर दोबाटोसम्म उनीहरूलाई लिनको लागि गए । गाउँलेहरू पनि मोनाको केटो आयो भनेर हुलतिर नै आफ्नो आँखाको निशाना बनाइरहेथे । केही क्षणमा नै त्यो हुल मोनाको घरमा पुग्यो । मोना आफ्नो काम सकेर कोठामा झ्यालढोका बन्द गरेर रुँदै बसेकी थिई । उसलाई बाहिरी कुराको कुनै पर्वाह थिएन । ऊ मात्र चन्द्रेलाई हृदयमा अँगालिरहेकी थिई । मान्छेहरू घरआँगनअगाडिको आँपको रूखमुनि रहेको पर्खालमा ओछ्याइएको गुन्द्रीमा बसे । केही उठेर पर्खालबाट गाउँघरको दृश्य नियाल्न थाले ।

अनि छोरी खै त बले ? काम गर्न गएकी छे कि कसो ? नत्र त देखिनुपर्ने मादल ठोकेर । रामेश्वर बूढाले कुरो फुत्काए ।

बिचरी ! एकदम लाज मान्छे, कतै लुकेर बसेकी होली । (मतानतिर फर्केर) मोना ! ए मोना !! बाहिर आइज न, किन लुकेर बसेकी ?’ बलबहादुर बूढाले घाँटीको नसा फुलाएर आफ्नो आग्रहलाई मोनाको कानसम्म पु¥याउने प्रयत्न गरे तर मोनाको अत्तोपत्तो देखिएन, मात्र केही क्षण त्यो परिवेशभित्र मौनता छायो । मोनाको नराम्रो र तीखो रुवाइको आवाज बाहिर पनि सुनिएपछि बलबहादुर बूढा भीडबाट उठेर मतानतर्फ होमिए । मतानमा पुगेर ढोका ढक्ढक्याए । धेरैसमयसम्म पनि ढक्ढक्यइरहे तर पनि मोनाको ढोका खुलेन । मोना कोठामा रोइरहेकी थिई ।
 
‘यो मोना त त्यस्ती छैनजस्तो लागेको थियो । यो त .... बरु मलाई मार, म मर्न तयार छु । एउटी छोरी थिई, त्यो पनि मेरो अनुरोध र इच्छालाई कुल्चेर हिँड्ने भैसकिछ । म मर्ने छु, यदि तैँले यो बिहे गरिनस् भने ... । बाको कुरा नमान्ने कस्ता छोरी हुन्छन् ? म बूढो बालाई कति दिन यसरी नै पिरोल्छेस् ? ए मोना !’ बलबहादुर बूढा मतानको भ¥याङबाट धेरै समयसम्म फत्फताइरहे । बूढाको आँखाबाट पनि आँसु बह्यो । उनी ढोकामा टाउको अड्याएर रुन लागेपछि अन्त्यमा मोनाको ढोका खुल्यो । त्यहाँबाट ऊ रुवाइको हिँक्क–हिँक्कमै आँगनमा झरी ।

‘किन रुन्छ्यौ ? एकदिन अर्काको घर जानैपर्छ क्यारे ! तिम्रो घर के ? हाम्रो घर के ? तिम्रा बा र म त मादल ठोकेर साथीसाथी । अरू केको डर ?’ रामेश्वरले मोनालाई हातको इशारामा ढाडस दिए । रामेश्वरको ढाडसले पनि मोनाको रोदन कम हुन सकेन । रामेश्वरको छोरो गोपाल मोनाको मुहार देखेर बेहोस भइसकेको थियो । त्यो बिछट्टै राम्री अप्सराजस्ती स्त्रीलाई श्रीमतीको रूपमा पाउने भएकामा गोपाल मनमनै दङ्ग प¥यो ।

‘केटी मन प¥यो हैन कान्छा ?’ त्यत्तिकैमा एउटाले सोध्यो । गोपालले आफ्नो बा रामेश्वरतर्फ फर्केर सहमतिको टाउको हल्लायो । बिहेको समय हेर्न रामेश्वरले सँगै आएका पण्डितलाई अह्राए । ‘अँ क्यानाम दुवै केटोकेटीको ग्रह मिलेको छ, आजै टीका लाएपछि क्यानाम वैशाख चौबीस गतेको साइतमा बिहे गर्नुभए राम्रो, नत्र असार तीन गतेको साइतमा .... क्यानाम केटाकेटीको टीकाटालो गर्नुपर्ला अब ।’ पण्डितले गोजीबाट चश्मा झिकेर टुप्पी सुमसुम्याउँदै पात्रोतिर नजर लगाई त्यो कुरा बताए । त्यसपछि अक्षतापानी ठिक पारेर केटाकेटी दुवैलाई सँगै राखेर टीकाटालो भयो, केटाकेटीको फोटो पनि रामेश्वरले खिचे ।

हल्काफुल्का खाजा खाएर रामेश्वर बूढाको हुल बेँसी ओरालो लाग्यो, बिहेको तिथि निश्चित गरे टीकोटालोपछि मोनाको पीडा झन् बढेर आयो । अरू समयको भन्दा त्यो व्यापक भयो । धेरै समयदेखि उसको आँखामा जमेको आँसुको हिमताल विस्फोट भयो । त्यसबाट आएको पीडाको बाढीले मोनाको चन्द्रेसँग जीउने इच्छाका बाँधहरू भत्किन पुगे । कल्पनाका सुन्दर बगैँचाहरू बगर बन्न बाध्य भए । मोना त्यो दिन कतै गइन । ऊ कोठामा बसेर आफ्नो स्वरूप बिरूप पारेर कोठाभित्रै पीडा पोख्दै बसिरही । त्यो दिन उसको हृदयमा नराम्रो चोट परेको थियो । मोनाको हृदयमा मौलाएका इच्छाका पालुवाहरू प्रेमको प्रकाशबाट वञ्चित भई ओइलाउन बाध्य भए । चन्द्रेले पनि आफ्नो घरको आँगनबाट बलबहादुर बूढासँगै गएका चारपाँच व्यक्तिलाई देखेको थियो । चन्द्रे पनि मोनाको पीरले गर्दा माछाको सिद्राजस्तै बनेको
थियो । जसको कारण गाउँलेहरूको कुरा गर्ने विषयवस्तु ऊ र उसको शरीर बनेथ्यो । त्यो दिन मोनालाई उसले कतै देख्न सकेन । बाख्रापाठा चराउन जाँदा पनि त्यत्रा साथीको भीडमा ऊ एक्लो बन्यो, मोनाको अनुपस्थितिमा । सालको रूखमुनि बसेर ऊ रूखको फेदमा हँसियाले कोरेर आफ्ना प्रेमका प्रतीकहरू हेर्दै निराश मुद्रामा टोलाइरहेको थियो । रूखको फेदमुनि ऊ
एक्लै एकोहोरो विगतलाई नियालिरह्यो – बाख्रा हेर्न आउँदा दिउँसभर ऐँसेलु, काफल र पँदेल खाएको, रातमाटे चउरमा बाघचाल, डण्डीबियो, खोपी खेलेको, तामाखानी बजारमा जेरी, माल्पुवा खाएको, परालको माचमा लुकामारी खेलेको आदि विगतका तीतामीठा क्षणका सम्झनाहरूले उसका आँखामा ढाकेका आँसुलाई प्रश्रय दिइरहेको थियो । मौसम पनि त्यो परिवेशसँगै मिल्दो जुल्दो भएको कारण बाख्राहरू पातपतिङ्गर टेक्दै हिँड्दा आएको आवाज, हावाको सिर्सिर र चराचुरुङ्गीको चिर्बिरबाहेक संसार शून्य लाग्यो ।
मोनाले बेलुकामात्र कोठाबाट आँगनमा पाइला टेक्न पुगी, जुनबेला सूर्य क्षितिजपारि लुकिसकेको थियो । बलबहादुर बूढा बाख्रापाठालाई खुवाउनु–पियाउनु सकेर भान्सामा आगो जोर्दै थिए । मोना बिरालोचालले भान्सामा प्रवेश गरी अनि भाँडाकुँडा मस्काएपछि खाना पकाउन थाली । बलबहादुर बूढा कोठामा गएर बिँडीको धुवाँमा हराए । मोना भने खाना ठिक पारेपछि आँपको रूखमुनि गएर आँपको रूखमा अढेस लागेर बसी । नजिकैको वस्तुलाई राम्ररी ठम्याउन नसकिने अँध्यारो थियो । त्यो अँधेरी रात मोनाको जीवनसँग मेल खाइरहेथ्यो । मोना त्यो अँध्यारोमा बसेर आकाशमा मेघको मल्याक्मिलिक हेर्दै थिई । बलबहादुर बूढा भान्सामा पसेर कराए –‘छोरी ! ए मोना !! अब दुई गाँस टिपेर खाटमा पल्टौँ भनेको, कता गई कता ?’ ‘हजुर ! बा म आएँ ।’ मोनाको मधुर आवाज निष्पट अँध्यारो चिर्दै भान्साकोठामा पुग्यो । बाबुछोरी बसेर खाना पस्के अनि बूढाले भने खाना खान सुरु गरे । मोना भने दुई घुँडाको चेपमा चिउँडो राखेर टुकी बत्तीको धिपधिप हेर्दै चन्द्रेको स्मृतिमा डुबेकी थिई । बलबहादुरले जति आग्रह गरे तापनि मोनाले खान खान मानिन, तर बलबहादुर बूढाले मोनाले खाना नखाए आफू कोठामा नजाने निश्चय गरेपछि भने उसले दुई गाँस टिपेकी थिई । खाना खाँदै टोलाइरहेकी मोनालाई भात सर्कियो । भात सर्केको देखेपछि बलबहादुरले छोरीलाई पानी दिएर टाउको समाइदिए । मोना मौन थिई, किनकि उसको हृदयको बरफलाई आँसुले पग्लाइसकेको थियो । बलबहादुर बूढालाई कोठामा गएपछि खाटमा पल्टेर निदाउन कुनै सकस भएन । मोनालाई भने चन्द्रेको सम्झना र मायाले निदाउन दिएन ।

 

 

उपन्यास 'मोना'बारे केहि टिप्पणीहरू:

"१५ वर्ष अघि लेखिएको यो उपन्यास त्यति बेलै प्रकाशन गर्न पाएको भए यसले साहित्य जगतमा ठुलै हलचल मच्चाउने थियो, आहिले कुनै सम्पादन विना जस्ताको त्यस्तै लिएर पाठक समक्ष आउनु लेखकको इमान्दारिता हो"- गीता केशरी

"यो उपन्यासले चर्चित उपन्यासहरु 'बसाइ' र 'मुग्लान'को झल्को दिन्छ"- युबराज नयाघरे

"लेखकले १५ वर्षकै उमेरमा प्रेम र वियोगलाई राम्ररी चिनीसक्नु भएको रहेछ"-  लोकेन्द्रबहादुर चन्द

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस