लेखक : सरस्वती प्रतीक्षा
प्रकाशक : बुक हिल पब्लिकेसन
बितरक : उपन्यास
-लक्ष्मी रुम्बा
हजारौँ मजदुरको पसिना घोलिएको लमतन्न राजमार्ग रातको दहमा चुर्लुम्मै डुबेको छ । बाटोको नक्सा पढ्दै अन्धकार चिरिरहेछ गाडीको उज्यालो । चम्किरहेछ प्रेम–आलोकमा सामलीको मनको आकाश । प्रेमको नथियासँगै कुदाइरहेकी छे सामली आफूलाई जीवनजस्तै राजमार्गका बांगाटिंगा धर्साहरूमा । विपरीत दिशाबाट पार हुँदै छन् उनको प्रेमको भौतिक रूप– दिवाकर । तर, एउटै समीकरणमा बहिरहेछ प्रेमको सिमली हावा ।
सहरको एउटा कोठाभित्र भर्खरै यस्तै दृश्यचित्र कोरेको छु बेचैन मनको भित्तामा । सामली स्केच मेरो मनको क्यानभासमा बेस्सरी गडिएको छ । सहरको नदीमय भीड, पुस्तक पसल र चिया अड्डाहरू जहीँतहीँ सामली मसँगै हिँडिरहेकी छे । यति छिट्टै सामलीसँगको गहिरो मित्रताको सेतु बनेको छ– नथिया ।
पुरुषसत्ताको नग्न तस्बिर
कविताका तीन ठेलीपछि सरस्वती प्रतीक्षाको पहिलो पाइला हो यो आख्यान–मैदानमा । बादी समुदायको उत्पीडनको सिंगो तस्बिरका साथ नेपाली उपन्यासको दैलोभित्र भर्खरै छिरेको छ– नथिया । उपन्यासको मूल सन्दर्भलाई प्रतीकात्मक रूपमा नथियाले जोडेको छ । ‘नथिया’ को शरीरभरि बदिनीहरूको आँसु, रगतको लेप लागेको छ, छन् पुरुषसत्ताले चुसेका नीलडामहरू र फैलँदो विद्रोही आगोको लप्का ।
नथियाका पाना पल्टाउँदै जाँदा पाठक मन उद्वेलित भइरहन्छ । प्रश्न जागिरहन्छ, के समयको गर्भमा बदिनीहरूको प्रेम सधैँ तुहिन्छ ? कहिलेसम्म यो समाजमा भोग्या र केवल भोग्या भइरहन्छन् महिला ? कहिले पल्टिन्छ यो भोग्या इतिहासको अनुहार ? प्रश्नको खात बोकेर हुत्तिन्छ मन हुरीखोलाको तिरैतिर पक्रैया बस्ती भएर ।
पुरुष शक्ति संरचनामा विभेदको पाइला सार्दै नेपाली समाज घिस्रिरहेछ । महिलाको लैंगिकता र यौनिकतामाथि हरदम पुरुष नियन्त्रण पितृसत्ताको चारित्रिक विशेषता नै हो । संसारमा पहिलो वर्ग उत्पीडन पुरुषद्वारा नारीमाथि गरिने शोषण सँगसगै भयो, एंगेल्स यसै भन्छन् । यो शोषणको इतिहास आजपर्यन्त जारी छ । पुँजीवादी समाजमा महिलालाई वस्तुसरह उपभोग गरिन्छ । र, पक्रैयाजस्ता बस्तीहरूमा आँसुको भेल बगिरहन्छ ।
०००
हुरीखोलाको तीरमा उपन्यासको सेटिङ छ । पञ्चायती शासन व्यवस्थाको दाम्लोमा बाँधिएको छ दाङको पक्रैया बस्ती । यहाँ हरसपनाको जरा हो– पेटको भोक र स्वअस्तित्वको खोज । इतिहासले सिर्जना गरेको वर्तमान स्वरूपलाई तथाकथित संस्कारी समाजले नाम दिएको छ– बादी बस्ती । जहाँ नथिया उतार्नु कुमारीत्व तोडिनु र आँसुको मुहान फोडिनु हो । जुन कुकृत्य पुरुषका लागि सानको विषय बन्छ ।
स्त्रीदेहका यायावरहरूको लर्को लाग्छ यहाँ । बाध्यात्मक चलनमा यौनहिंसाको सिकार बनाइएका बादी महिला भोकको संघर्षमा रुमल्लिएका छन् । पीडाको जीवित संग्रहालय नै भन्न सकिने यो बस्तीमा बादी समुदायको सुखको आदिम चाहना सधैँ सीमावर्ती क्षेत्रमा गएर उभिन्छ ।
यो त्यो बस्तीको कथा हो, जहाँ समाजको जगमा भोग र केवल भोग मात्र छ । उपन्यासले यही भोगको जगमा पुरुषोचित मूल्यअनुकूल चलिरहेको समाज र सत्तामाथि दरिलो प्रश्न खडा गरेको छ । तर, उपन्यास केवल भोगको इतिवृत्तान्त बनेको छैन । केन्द्रमा रहेको भोगवादी पुरुष मान्यता वरिपरिको समाजमा स्थापित रुढ मान्यताहरूको नांगो तस्बिर पनि उपन्यासको सशक्त पक्ष हो ।
मेरी उल्स्टनक्राफ्टले ‘अ भेन्डिकेसन अफ दि राइट्स अफ उमन’मा पितृसत्तात्मक सामाजिक संरचनामाथि प्रहार गर्दै भनेकी छिन्, ‘पाशविक शक्तिले अहिलेसम्म विश्वमा शासन गरिराखेको छ र राजनीतिको विज्ञान शैशवावस्थामा नै छ ।’ सन् १७९२ मा उनले लेखेको यो वाक्यको सार एक्काइसौैँ शताब्दीसम्म पनि सान्दर्भिक हुनु इतिहास गतिरोधको प्रतिबिम्ब नै हो । समानताको लडाइँ चलिरहेको विश्व परिवेशमाझ देशले बहुदलीय व्यवस्था हुँदै गणतान्त्रिक आँगनमा पाइला टेक्दा महिला, त्यसभित्र पनि बादी महिलाहरू सामाजिक, राजनीतिक, आर्थिक, अस्तित्वको कति नजिक छन् भन्ने खुर्पेचिह्न ठडिन्छ ।
नथिया एकसरो अध्ययनमा पूरा हुन सक्छ । तर, नथियाको पूर्ण पठन त्यतिमा सकिँदैन । यसको मुख्य कारण हो, यसमा भएका विविध विषयको मेल । बादी समुदायको सांस्कृतिक जीवन पद्धतिमा उत्पादनका सबै स्रोत थुनिएका छन् । असमान अर्थराजनीतिक संरचनामा मात्र छ, दैहिक विनिमयको दुःख । त्यसैले बग्ने गर्छ बादी बस्तीमा कौमार्य तोडिनुको रक्तबाढी । सामली र उसका दौंतरीहरूले भोग्नुपरेको शोषण–कथा केवल मांसहाटको कथा होइन । यो त मांसहाटको जगदेखि धुरीसम्मको कथा हो ।
प्रश्नहरूको चाङ
प्रोफेसर दिवाकरको सामलीसँगको प्रेमिल नोस्ताल्जियाबाट उपन्यासको बुनोट सुरु भएको छ । यी दुईको आत्मिक प्रेमले समाजद्वारा निर्धारित प्रेमका रुढ मान्यता भत्काएका छन् । सामलीको केन्द्रीयतामा विस्तारित उपन्यासले उनैको नथिया विद्रोहपछि बेखामानबाट छलपूर्ण बलात्कारपश्चात नयाँ मोड लिएको छ । अल्बेयर कामु भन्छन्, ‘विद्रोहबाट नै मान्छेले आफ्नो अस्तित्व प्राप्त गर्छ ।’ आर्थिक, राजनीतिक, शैक्षिक हिसाबबाट सबाल्टर्न सामलीभित्र पटक–पटक अंकुरित छ, विद्रोहको बिउ ।
सुक्मेली, कोकिला, रैतबी, रञ्जितालगायतका नथिया उतार्ने पाशविक आक्रमणले जोकोहीलाई जिरिंग बनाउँछ । शारीरिक सुखभोगको रंगीन झन्डा गाढेर हाँस्नेहरू बुझ्दैनन्, यहाँ कलिला बदिनीहरूको आँसुको भाका ।
०००
निकै कम तर सार्थक भूमिकामा उभिएका जयनेपाल पञ्चायती शोषणविरुद्ध क्रान्तिमा होमिन गाउँ छाड्छन् । सामलीसँगको मौन प्रेम साँचेका जयनेपाल बुझ्छन् वर्गमा विभक्त समाजको मनोदशा । नेपथ्यका पात्र युक्फुङ सर र जयनेपाल समाज परिवर्तनका संवाहक हुन् ।
जीवनमा कहिलेकाहीँ छलहरूले ठूलो अर्थ राख्छ । प्रेमीबाट लोग्नेमा परिणत रेन्जरको छली प्रेमले सामलीलाई थप जब्बर बनाएको छ । उपन्यासकै क्रूर पात्र रेन्जर प्रवृत्तिले प्रश्न गर्न बाध्य बनाउँछ, प्रेमको उत्कर्ष विवाह हुन्थ्यो भने किन वैवाहिक सम्बन्धहरू अविश्वासको लेउ लागेर चिप्लिरहन्छन् ?
प्रेमको छिपछिपे पानीमा तैरिरहेको रेन्जर र गहिराइमा पुगेकी सामलीको प्रेमान्तर निकै मार्मिक छ । प्रेम र भावनाको नाममा उत्पीडनको पराकाष्ठा नाघेपछि स्वास्नीमान्छेको कठोरता विस्फोट हुन्छ । नसानसामा विद्रोही चेत उर्लिएपछि गर्भिणी सामली बोक्रे प्रेमलाई लोप्पा खुवाउँदै स्याडिस्ट लोग्नेलाई त्यागिदिन्छे । सम्बन्धको पोसाकमा ठाँटिएर आफूलाई सुपर जिनियस ठान्ने पुरुष अहम् यहाँनेर जलेर खाग भएको छ ।
डेटस्पायर सबन्धबाट बिरक्तिएकी सामलीको आवेग सम्बन्ध गासिन्छ मोहम्मदसँग– बदलामा पाउँछिन् मात्र निस्तो प्रेम । दैहिक उत्पीडनको मुक्ति, प्रेमको खोजीमा सामलीको सपनाको धागो चुडिँदै जान्छ । भोकको साम्राज्यअघि कसैको केही चल्दैन । थपिँदै गएका जीवनका जटिलतामा सामली प्रेम र भावनाका हरअध्याय बन्द गरेर पूर्णतः होमिन्छे भोकको मैदानमा । सुरु हुन्छ यही बिन्दुबाट दिवाकरसँगको उनको प्रेमको वास्तविक यात्रा ।
आर्थिक अभाव सन्तुलनका लागि शरीरको सौदाबाजी गरिरहेका बदिनीहरूको सपनाको संसार कति असन्तुलित छ, यसको मार्मिक चित्रण उपन्यासमा पाइन्छ । पुरुष शोषणको बर्बरतामा समयको विद्रुप चित्र बनाउँदै नथिया आयतन फैलिएको छ ।
प्रेमका खातिर हर जोखिम उठाउन तत्पर दिवाकर उपन्यासको मूल खाँबोमा जोडिएका पात्र हुन् । वर्षको धागो जति तन्किए पनि उनीभित्र प्रेमिल यादमा बाँचिरहेकी छे सामली । प्रेमको लामो तड्पन बोकेर जीवनको भागदौडमा जबर्जस्त सामेल छन् दिवाकर । जसको प्रेममा सामलीको जीवनकथाले कोल्टे फेरेको छ ।
उपन्यासभित्र सामलीको व्यक्तित्वको रसायनले गलेका शेरे डन र चेतनाथ इन्दे्रणीजस्ता संवेदनशील पुरुष पात्रहरू छन् । वर्गीय दृष्टिले आफूलाई चोखो र पवित्रजस्ता शब्दहरूले बिटुल्याइरहने समाजमा फुलमाया बादी र फुलमाया बुढाथोकीबीचको सामाजिक अन्तर छ । मेजर मानबहादुर, इन्स्पेक्टर, हवल्दारजस्ता चरित्रले प्रहरी प्रशासनको धज्जी उडाएको छ । स्त्रीदेहको लतमा आमाछोरीको नथिया खोल्ने गुमानसिंह ठेकेदारको क्रूरतामा यौनिक शोषणको पराकाष्ठा देखिन्छ । सामलीले छोरीलाई उच्च शिक्षा दिलाउने आँटमा बादी महिलाको उन्मुक्ति झल्किन्छ ।
आ–आफ्ना युनिकनेस बोकेर नथियाका पात्रहरू सहानुभूति नभई समानुभूतिमा उत्रिन्छन् पाठकीय मनमा । उपकथामा जोडिएका सहायक पात्रहरूले पाठकमा अल्छी काँडा उमार्दैनन्, बरु थप रोचकता थपिदिन्छ । सबै पात्रहरूकोे अब्बल चरित्र निर्माणले पाठकीय मन मस्तिष्कमा प्रभावको आयु लम्बिरहन्छ । उत्पीडनको कठालो समाउने क्रममा पात्रहरू सामन्ती समाजप्रति दारा किट्किटाउँछन् । सामन्ती आर्थिक संस्कृतिको पिँधमा थिग्रिएका उनीहरूको प्रतिरोधी आवाज पक्रैया बस्तीको हावामा बिलाउँछ । यद्यपि यो समुदायको प्रश्नले राज्यका कैयाँै गम्भीर समस्यामाथि प्रश्न उठाउँछ ।
छोडिएका स्पेस
नेपाली समाजको आर्थिक संस्कृतिको भयावह रूप–चित्रण हो नथिया । क्रय–विक्रयको तराजुमा नारी शरीरको वस्तुकरणले उपन्यासको प्लट भरिएको छ । तर, बादी समुदायको समस्याको सूक्ष्म चित्रण गरिए पनि समस्या उन्मूलनको पाटोमा धेरै स्पेस छाडिएजस्तो लाग्छ । बादी बस्तीको आँसुको कथा लिपिबद्ध गर्ने क्रममा लेखकले आफ्नो काव्यिक ट्रेडमार्कलाई छाडेकी छैनन् । भावनाको रफ्तारमा बग्दा उपन्यासले संवेदनाको छालमा बढ्तै डुबुल्की मारेको पाइन्छ । स्थानीय लबज पक्रिएका संवादहरू उपन्यासका प्रमुख आकर्षण हुन् । तर, पात्र संवादहरूमा लेखकीय विचारको डोज बढी नै हाबी भएजस्तो देखिन्छ । उपन्यास बुनाइमा तत्कालीन राजनीतिक उथलपुथलका छिर्केमिर्के बुट्टाहरू प्रस्ट खुलेका छैनन् ।
०००
लेखकीय लोकेसनको छनोटले लेखकको विश्व दृष्टि निर्धारण गर्छ । समाजको पिंधमा थिग्रिएको जातिमाथिको विषय छनोट नै लेखकको अग्रगामी चेत हो ।
समष्टिमा भाषाशैलीगत हिसाबले सरल, सरस रहेको उपन्यास व्यञ्जनाका तरेलीमा निकै खँदिलो रहेको छ । नेपाली समाजको सामन्ती आर्थिक संस्कृति, पुरुष सत्ताको भयावह रूप, महिला स्वत्वको खोजी र बादी समुदायको अतर्वस्तुको उत्खनन उपन्यासले उठाएका सन्दर्भहरू हुन् । पटकथाको भर्याङ चढ्दा उपन्यासले आफ्नो मौलिकता कायम राख्नसके रजतपटमा पक्कै अर्को उचाइ छुनेछ ।
आत्मिक प्रेमकथा
प्रेमिल रहरहरूको असामयिक मृत्युमा टोलाइरहेकी सामली अब आफँैमा प्रेम–कोलाज भएकी छे । द आर्ट अफ लभिङमा एरिक फ्राम भन्छन्, ‘प्रेम मान्छेभित्रको एक सक्रिय शक्तिको नाम हो, जसले व्यक्ति र दुनियाँबीचको ढोका फोडिदिन्छ र अर्को दुनियाँसँग जोडिदिन्छ ।’ सामलीको दुनियाँमा प्रेमले ठ्याक्कै त्यही दायित्व पूरा गरेको छ । प्रेमको तुफानी युद्धमा सामेल भएकी एक योद्धा– सामली, जोसँग छैनन्, अब पराजयका कुनै अंश ।
‘मलाई ज्युँदाहरूसँग डर लाग्दोछ, मरेकाहरूसँग लाग्दोनइँ ।’ दुखानीको जंलमा सामलीले दिवाकरसँग पोखेको यो वहले सिंगो मानवीय विश्वासमाथि आशंका पैदा गरेको छ । प्रेमलाई जोगाउन आफ्नै प्रेमसँग निर्मम हुन सक्ने सामलीमा छ प्रेमको घाँटी निमोठ्ने वैवाहिक संस्थाप्रतिको वितृष्णा– ‘बिहाले प्रेमलाई मार्छ र हजुरसँगको प्रेम मरयाको कम्तीमा मु देख्न सक्दोनइँ । यसैले हजुरसँगको प्रेमलाई सधैँ जीवित राख्न मु हजुरलाई छोडीकन जाँदै छु ।’
पीडाको भिरमा अल्झिरहेकी सामली सीमान्त प्रेमको चुचुरोमा पुगेकी छे । प्रेमले मान्छेमा पृथ्वीजत्रै आँट भरिदिन्छ सायद । दिवाकरसँगको प्रेमतृप्तिमा सामली आफैँ महासागर भइदिन्छे र बिर्सिन्छे आँसुका खहरे भेलहरू । प्रेमको अन्तिम र सबैभन्दा सुन्दर बाटो रोजेपछि सारा बन्धनको साङ्लो तोड्दै छाडिदिन्छे पक्रैया बस्ती । सामली दिवाकरको प्रेमकथाले बिर्साउँछ हर पुराना प्रेमकथाहरू ।
मनको कुनोबाट
–सामलीले कुनै दर्शन पढेकी छैन तर ऊ दार्शनिक हो मेरा लागि ।
–सामलीले इतिहासको कुनै मोर्चा जितेकी छैन, तर ऊ विजयी योद्धा हो मेरा लागि ।
–सामलीको प्रेमगाथा कुनै लयमा गाइएको छैन, तर ऊ प्रिय संगीत हो मेरा लागि ।
जीवनको आकाश फैलाउनु, पहाड बनाउनु, नदी बगाउनु, भेलहरूसँग जुध्नु मान्छेले आफ्नै जीवनबाट सिक्छ । सामलीले पनि सिकेकी छे । प्रेमको सीमाहीन फैलावटमा बेसर्त हिँडिरहेकी छे, जोदाहा सामली एउटा अविदित यात्रामा…।
समीक्षा साभार: नयाँ पत्रिका