उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार

१६ जुलाई, २०१९

नेपाली शिक्षा परिषद्ले भानुजयन्तीका अवसर पारेर वरिष्ठ कवि एवं भाषाशास्त्री मुकुन्दशरण उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कारले सम्मानित गरेको छ । लेखनाथ सदन सोह्रखुट्टे मा आयोजित उक्त पुरस्कार समर्पण कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी तथा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती हुनुहुन्थ्यो । अस्वस्थताका कारण परिषद्का अध्यक्ष राष्ट्कवि माधव घिमिरे उपस्थित हुन नसकेकाले कार्यक्रमको सभापतित्व परिषद्का कोषाध्यक्ष भीमबहादुर अधिकारी ले गर्नुभएको थियो । कुलपति उप्रेतीले उपाध्यायलाई भानुभक्तीय टोपी पहिराइदिनुभएको थियो भने सत्यमोहन जोशीले सम्मानपत्र तथा परिषद्का उपाध्यक्षले नगद पुरस्कार प्रदान गर्नुभएको थियो । यस पुरस्कारको राशि नगद रु. एक लाख पच्चीस हजार रहेको छ ।

साहित्य तथा भाषा वाङ्मयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट योगदान गर्ने साधकलाई प्रतिवर्ष प्रदान गर्ने गरी आदिकवि भानुभक्त पुरस्कारको स्थापना भएको हो । गोपाल पाँडे असीमको अग्रसरतामा स्थापित नेपाली शिक्षा परिषद्ले २०५२ सालदेखि भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय काम गर्ने विशिष्ट व्यक्तित्वलाई यो पुरस्कार दिँदै आएको छ । पहिलोपल्ट यो पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिएको थियो । तत्पश्चात् नयराज पन्त, यदुनाथ खनाल, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, कृष्णचन्द्र सिंह प्रधान, भानुभक्त पोखरेल वासुदेव त्रिपाठी, अङ्गूरबाबा जोशी, मदनमणि दीक्षित आदि वरिष्ठ साहित्यकार तथा भाषाशास्त्रीहरु लाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।


उपाध्यायको कृतित्व तथा व्यक्तित्वमाथी प्रकाश पार्ने काम प्रा.दीनदयाल रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साहित्यकार तथा भाषासेवीहरुको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बोल्दै परिषद्की सदस्यसचिव रमा शर्मा ले विभिन्न साहित्यानुरागी तथा श्रष्टाहरुबाट थोपा थोपा गरेर अहिलेसम्म परिषद्ले रु. पच्चीस लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको र अझ थप गरेर पचास लाख पुर्याउने योजना रहेको बताउनुभयो ।


मिति : २०७६ साल असार २९ गते आइतवार

 

पाठकको प्रतिक्रिया