लेखक : अमित रिजाल
प्रकाशक : शार्वरी प्रकाशन गृह
बितरक : शार्वरी प्रकाशन गृह
विधा: कविता
आवरण: महेश श्रेष्ठ ‘भाजु’
प्रकाशन मिति: २०१४, मार्च
सर्वाधिकार: लेखकमा
संस्करण: पहिलो
प्रति: १०००
मुद्रण: कृपा प्रिन्टिङ प्रेस, पोखरा
मूल्य: रू. १५०
पुस्तकभित्रका केहि कविताहरू:
तपाईलाई थाहा छ, उसको के बिग्नेस छ ?
कलाकार हो चरित्र निभाउँछ
गायक हो हरतरहका गीत गाउँछ
राष्ट्रियता जस्तै नाम भएको
विकासजस्तै बनोटको
शान्तिजस्तै रुपरङको
उसले बेच्ने गरेको सामानको
ऊ आफंै विज्ञापन गर्छ
उसले बेचिसकेको
तपाईंले किनिसकेको
वा तपाईंले नबेचेको
तर उसले तपाईंसँगै किनेको
थाहै हुन्न
उसको यस्तै एउटा बिग्नेस छ ।
निर्णय गर्छ
नियम बनाउँछ
बजार चलाउँछ
हैन भने हो हुन्छ
हो भने हैन हुन्छ
ठ्याक्कै हैन–हैन जस्तै हो
ठ्याक्कै हो–हो जस्तै हैन खालको
देश विदेशमा प्रभावको
उसको बिग्नेस छ ।
सापटी माग्छ
दिनुहुन्छ
तपाईंलाई नै ऋणमा लगाउँछ,
र कमाउँछ,
उसको अचम्मको बिग्नेस छ ।
तपाईंलाई खेतबारी जानुपर्ने हुन्छ
गोबर सोहोर्नुपर्ने हुन्छ
कारखाना पुग्नुपर्ने हुन्छ
बिर्सनलाई चाहिने कत्ति पो निहुँ छन्
हो तपाईंकै बिर्सने बानीमाथि
उसले गर्ने बिग्नेस छ ।
फेरि माग्छ
फेरि दिनुहुन्छ
सम्मोहित पार्ने बिग्नेस छ ।
जब बत्ती जान्छ
नदी किनारका राँकेभूतहरूले
सम्झाएर तर्साउँछन्
जब बाढीले ठेक्का नसकिँदैको सडक बगाउँछ
वारि तर्न नसकेका आशाले सम्झाउँछ
जब रोगले खेद्छ
डाक्टरको फिस र औषधीको बिलले याद दिलाउँछ
जब सामान महँगिन्छ
उसैसँग लिएको ऋणले बिर्सन दिन्न
र सराप्नुहुन्छ सबभन्दा नराम्रो गालीले
तर
तपाईंलाई फेरि खेत खन्नुपर्छ
गाईबस्तु हेर्नुपर्छ
खेताला जानुपर्छ
बिर्सन सक्ने उति नै निहुँ छन्,
हो तपाईंकै बिर्सने बानीमाथि
उसले गरिरहने
कहिल्यै घाटा नखाने
एउटा सप्रिरहेको बिग्नेस छ ।
तपाईंलाई थाहा छ, उसको के बिग्नेस छ ?
आगो २
ज्वालामुखी फुटेपछि
खरानीको वर्षाले भिज्यो गाउँ,
खेतबालीहरू,
खरबारीहरू,
जङ्गलहरू,
घरहरू,
गोठहरू,
खरानीकै आँधीले
पूरै हल्लियो सहर,
छोपिए सडक र गल्लीहरू,
पुरिए घरका छतहरू,
खेल मैदानहरू,
एयरपोर्टहरू,
उथलपुथल भयो नक्साभित्र र नक्साबाहिर
दराजहरू, कागजहरू र सहीछापहरूले
बेथिति देखे
मान्छेहरूले खरानी खाए
खरानी लाए
खरानीमा सुते
खरानीको काम गरे
खरानीकै सास फेरे
केही समयदेखि
मान्छेहरूले
खरानीभित्रको आगो बिर्सिएका छन् ।
मेरो कोठा
हस्तमैथुन, मेरो स्वप्नदोष चुहिएको कट्टु
दौडधुप, मेरो यात्रा गन्हाउने मोजा,
रुघा, मेरो अत्यास पुछिएको रुमाल,
पुरुष गन्धका कपडाहरू,
महिनौंदेखि भ्याकुम नलगाएको कार्पेट,
आधा लेखिएका कविताका संभ्रम हरफहरू,
आधा नलेखिएका कथाका यत्रतत्र पन्नाहरू,
नभेटिएको समयदेखि थाकेर
उर्जाहीन निस्तेज घडी,
रङ्ग पखालिएर बनेको भित्ताको टाटे चित्र,
छरालिएर पर्खिरहेको ओछ््यानसँगै सुतेको निन्द्रा
सबै सजीव छन् मेरो कोठामा
सपना जस्तै निरव सजीव ।
मेरो कोठामा
म
दिउँसोभरि सँगेटिएका सल्लाह लिएर छिर्छु
हल्लाहरू लिएर छिर्छु
म
घामले पोलेका विचारहरू लिएर छिर्छु
विचारले डामेका घामहरू लिएर छिर्छु
पानीले रुझेर लाचार भएर छिर्छु
लाचारीले भिजेर पानी भएर छिर्छु
धुलोले मैलो भएर छिर्छु
मैलोले धुले भएर छिर्छु
जब म
फेरि कोठाको ढोका खोल्छु,
मलाई त्यही रङ्गले स्वागत गर्छ,
मलाई त्यही गन्धले स्वागत गर्छ ।
मेरो कोठामा
मेरा सपनाहरूको खात छन्,
मेरो कोठामा
मैले एक्लै गरेका बातहरूको गुञ्जन छन्,
मेरो कोठामा
असह्य यौवन थुतेर पुछेका टाटाहरू छन्,
मेरो कोठामा
चुरोटले पोलेका लुगाफाटाहरू छन्,
मलाई मेरो यो कोठा त्यसै–त्यसै सुविधा लाग्छ
मलाई मेरो यो कोठा किन–किन सुविधा लाग्छ
केही आश्चर्य
र अप्रत्यासित सत्यहरू भए पनि,
मैले बोली फोर्न नसकेको त्यो तरुनी
सपना बनेर
मेरो यही कोठामा आउँछे र भन्छे –
‘केही कुरा गरौँ न १’
मैले बजारमा महङ्गो भएर नकिनेको कमिज
सपना बनेर
मेरो यही कोठाको हृयाङ्गरमा टाँगिएको हुन्छ ।
मेरो कोठा मलाई सधँै पहिलो सम्भोग लाग्छ
बारम्बार सम्झिरहन मन लाग्ने ।
मेरो कोठा एउटा दिनको विछोड लाग्छ ।
अर्को दिनको सुरुवात
र
त्यस्ता धेरै दिनहरू,
त्यस्ता धेरै पीरहरूको निचोड लाग्छ ।
मलाई मन नपर्ने कुरा हँुदै नभएको हैन यो कोठामा
जस्तै,
सिलिङको कुनामा बुनिएका माकुराका जालोहरू
कुन्नि कहाँबाट आउँछे ऊ
र बनाउँछे बारम्बार ।
म
मेरै सिरानी मास्तिर अरुले जालो बुनेको
कसरी मन पराउन सक्छु रु
म भत्काउँछु, च्यातिदिन्छु फेरि ।
भित्तामा टाँगिएको पोस्टरमा
स्विजरल्याण्ड वा कतैको पहाडजस्तो
एक छिन आफूलाई स्थिर राखेर
मेरो कोठा र मेरो अस्थिरताबारे सोच्दै छु
‘मैले बुनेको जालो चाहिँ कसले भत्काइरहेछ हँ ?