मुग्ध सिम्फोनी

लेखक : किशोर पहाडी
प्रकाशक : सांग्रीला बुक्स्
बितरक : सांग्रीला बुक्स्

पृष्ठ : ९४
मुल्यः रु १९४

 

पुस्तकबाट साभार :

 

'मुग्ध सिम्फोनी'


अँध्यारै थियो । दिन उघ्रिसकेको थिएन । खत्र्याक खुत्रुक् छिन्द्रिङ टिन्द्रिङ आवाज आयो । मलाई थाहा भयो— राधा ब्यूँझिछे भनेर । अब दिनको शुरुआत भयो भनेर थाहा भयो । चारैतिर सन्नाटा व्याप्त थियो ।
सँगै नरेशको घरको कुखुरो बास्न शुरु ग¥यो ।
आफ्ना भाइबहिनी नब्यूँझियून् भनेर राधा अँध्यारोमै छामछामछुमछुम गर्दै उठी । गाग्री लिई र मेरो ढोका खोलेर बाहिर गई ।
मलाई थाहा छ— अब करीब पन्ध्र–बीस मिनेटपछि राधा फर्कनेछे भनेर ।
राधा कहाँ गएकी— मलाई थाहा छैन । तर फर्कँदा गाग्रीभरी पानी बोकेर घर छिर्छे भन्ने मलाई थाहा छ ।
म अनुमान लगाउन सक्छु— राधा घरमुनि रहेको फिर्के खोलातिर जान्छे र आफ्नो नित्यकर्म सकेर गाग्रीमा पानी भरेर माथि मकहाँ आउँछे ।
मभित्र त्यतिखेर उसका भाइबहिनी निदाइरहेकै हुनेछन् । भाइबहिनी अर्थात्— सीता र कमल । मभित्र यी तीन जना मात्र छन् । १४ वर्षकी राधा, १२ वर्षकी सीता र ९ वर्षको कमल र म ?
म भनेको यी तीनै जना बस्ने गरेको माटोको भित्तो, झ्याल हुँदैनभएको, छ्वालीको जीर्ण छाना भएको एउटा सानो छाप्रो ।
म यिनीहरूका बाबु शेरेद्वारा बनाइएको हुँ । करीब पन्ध्र वर्षअघि नै शेरे र उसकी अर्धाङ्गिनी सुन्तलीद्वारा बडो मिहिनेतका साथ बनाइएको हुँ ।
शेरे आफ्नो सानो टुक्रा जग्गामा मकैको खेती लगाउँथ्यो— मकै र तोरी । त्यतिले वर्षदिन खान नपुगेर शेरे र सुन्तली यताउता काम गरेर अलिअलि पैसा कमाउने गर्दथे ।
एक दिन गाउँमा आइपुग्यो— भारतको मुम्बईबाट गाउँकै दीपक नामको ठिटो । यो ‘दीपक’ लाई पहिले–पहिले गाउँमा ‘चिप्रे’ भनेर बोलाइने गरिन्थ्यो किनभने बालखकालमा उसको आँखामा चिप्रा धेरै आउने गथ्र्याे रे । भारतको मुम्बई गएर त्यहाँबाट नीलो क्याप, रातो ज्याकेट लगाई गाउँ छिर्दा कसैले उसलाई ‘चिप्रे’ भनी बोलाएनन्; बरु ‘दीपके’ भन्न थाले । टाढा–टाढाको कुरा त थाहा छैन, किनभने मेरो खुट्टा छैन त्यसैले म कहीँ जान सक्दिनँ । यहीँ वरपरको कुरा मात्र थाहा छ— यो शेरेले चाहिँ ‘दीपके’ भनी नै बोलायो ।
दीपकका कुराहरूको के वर्णन गर्नु ? यही मअगाडिको आँगनमा बसेर दीपकले यति मीठा–मीठा र रमाइला कुराहरू ग¥यो— “ओहो ! कति राम्रो ठाउँ ! रेलगाडी ! बसगाडी ! पिलेन ! त्यहाँ त जे काम गरे पनि पैसो त खनखनी ।”
उसका कुराहरू सुनेर शेरेलाई पनि भारत गएर पैसा कमाई ल्याउन मन लाग्यो ।
उसले मध्यरातमा सुन्तलीलाई अँगाल्दै भन्यो— “म पनि दीपकसँग देश जाऊँ है !”
अन्धकारमा सुन्तलीले मौन स्वीकृति दिई ।
र, दीपकसँग शेरे पनि मुम्बईतिर लाग्यो ।
शेरे जाँदा सुन्तली धेरै रोई । हिजो शेरेले “दुःख नमान् । म फर्कँदा गहना, लुगा ल्याइदिउँला नि !” भनेको थियो र मात्रै नत्र त अझ बढी रुन्थी होला ।
सुन्तलीसँगै सानी राधा पनि रोएकी थिई । सीता र कमल त धेरै साना थिए । कमल त झन् काखकै ।
शेरे गएपछि म पनि उदास–उदास भएँ । मेरो छेउछाउका सुन्तलाका दुई बोटहरू पनि उदास भए । डोकोभित्रको ओथारो बसेकी कुखुरो पनि उदास भयो । वातावरणमा सिम्फोनीको धुन बजेको जस्तो सुनेँ मैले त ।
‘सिम्फोनी’ को धुन एक पटक गाउँका आत्माराम सरले क्यासेट बजाउँदै आउँदा सुनेको थिएँ, उहाँले फुर्ती लाएर शेरेलाई भन्नुभएको थियो— “बुझ्नुभयो शेरे दाइ, यो सिम्फोनी हो सिम्फोनी । यो सुन्दा साह्रै मजा लाग्छ ।”
हुन पनि उहाँले बजाउनुभएको सङ्गीतले वातावरण नै साह्रै मनोरम र मार्मिक बनाएको थियो । त्यस बेलादेखि मलाई छेउका दुई सुन्तलाका बोटहरूले पनि बेला–बेलामा सिम्फोनी बजाएझैँ लाग्छ । सुन्तलाका बोटहरूको मुनि आलीमा रहेको सिस्नोको घारीले पनि सिम्फोनी बजाएझैँ लाग्छ । मभन्दा अलि माथि रहेको बाँसको झाङले पनि सिम्फोनी बजाएझैँ लाग्छ ।
म पश्चिम नेपालको दुर्गम गाउँको एउटा छाप्रो— बेला–बेलामा यसरी सिम्फोनी सुनिरहेको हुन्छु ।
... र ...
र अर्काे सालको दशैँमा शेरे अचानक गाउँ आइपुग्यो । सुन्तली, राधा, सीता, कमल सबै खुशी भए । सुन्तलीले गहनाको आशा गरेको तर त्यो ल्याउन सकेन शेरेले । तर जे ल्याएको थियो त्यो... उफ् !
“त्यहाँ चौकीदारको काम गर्छु, बूढी ! राम्रै कमाइ हुन्छ” भनेर दुईवटा हजारका र सातवटा सयका नोटहरू शेरेले सुन्तलीलाई दिएको थियो । अरू कसैलाई थाहा भएन तर राती अन्धकारमा पनि मेरा कान र आँखा टाठो हुनाले थाहा पाएको— नोटहरू मात्रै होइन, जानुअघि शेरेले सुन्तलीलाई निको नहुने रोग पनि छोडेर गइदिएको रहेछ ।
दशैँ मनाएर शेरे मुम्बई फर्केपछि सुन्तली त यता बिरामी पो हुन थाली । अनि त कलिलै उमेरमा राधाले आफ्नी आमा सुन्तली, बहिनी र भाइ सीता र कमल स्याहार्न थाली ।
सुन्तली दिनप्रतिदिन दुब्लाउँदै जान थाली । दुब्लाउँदा–दुब्लाउँदा ऊ हाड र छालाको आकृति मात्र भई । केटाकेटी उमेरकी राधालाई यता हेर्नु न उता हुन्थ्यो । कसलाई पो बढी स्याहार्नु हुन्थ्यो । आमालाई खुवाऊ, हेरविचार गर । बहिनीलाई, भाइलाई ।
मलाई राधाको पीडा देखेर दुःख लाग्थ्यो । सास्ती देखेर ममता जाग्थ्यो । तर के गर्नु मेरा हात छैनन्, त्यसैले उसलाई म कुनै मद्दत पनि गर्न सक्दिनथेँ । गाउँका केही भद्रभलादमीले उनीहरूको दुःख हेर्न नसकेर मद्दत गरेको चाहिँ मैले देखिरहेको थिएँ ।
अन्ततः एक दिन सुन्तलीले यो संसार छोडेर गई । आफ्नी आमाको निधन भएको दिन आँगनमा बसेर सानो भाइ कमललाई आफ्नो सानो काखमा लिँदै राधाले सीतालाई भनी— “पहिले आमालाई पनि हेर्नुपर्थ्यो, अब त हेर्नुपरेन नि ! तँलाई र भाइलाई मात्र हेरे पुग्छ ।”
सीता टुलुटुलु हेर्दै रही । बाबुको अत्तोपत्तो छैन— मर्यो कि बाँचेको छ, थाहा छैन ।

एउटा सिम्फोनी.... बिथोबिनको वातावरणमा बज्न थाल्यो— आत्माराम सरले भनेर थाहा पाएको— सिम्फोनीको बारेमा । नत्र मजस्तो जाबो एउटा छाप्रोलाई के थाहा सिम्फोनीको कुरा ?
राधा फर्केर आई । फर्केर आउन्जेल कमल र सीता पनि ब्यूँझिसकेका थिए र दिसापिसाप गर्न निस्किसकेका थिए ।
गाग्री छेउमा राखेर राधाले मेरो भुइँ बढार्न थाली । त्यसपछि चुलोमा आगो बाली र चामल, पीठो के हो पकाउन थाली । आमाको मृत्युपछि राधाले यी सब गर्न परिरहेकै छ जब कि उसको उमेर अहिले जम्मा चौध वर्ष मात्र भएको छ ।
म ती तीनलाई ट्वालट्वालती हेर्दछु मात्र । म केही गर्न सक्दिनँ उनीहरूको लागि किनभने मेरो हात पनि छैन, मेरो खुट्टा पनि छैन । निर्निमेष हेरेर उनीहरूलाई ओत दिनुबाहेक म केही गर्न सक्दिनँ ।
खाना पकाइसकेपछि तीनवटा थालमा तीन भाग लगाई राधाले । तीनै जना चुलोसँगै बसेर खान थाले । मेरो झ्याल छैन । चुलोमा बलेको आगो र खुला ढोकाबाट आएको अलिकति प्रकाशले भित्र अलिअलि उज्यालो थियो ।
दक्षिणतिरको भित्तोको छेउमा ठूलो घ्याम्पो थियो । शायद त्यसभित्र केही थिएन तर त्यो पहिल्यैदेखि त्यहीँ थियो ।
पश्चिमतिर काठका टुक्राटाक्री दाउराको अलिकति थुप्रो थियो । पूर्वतिरको भित्तामा लक्ष्मी माताको फोटो थियो— धनकी देवी लक्ष्मी माता । त्यहाँ पहिले सुन्तलीले दिनहुँ पूजा गर्दथी । शेरेले २ हजार ७ सय दिएको दिन धेरैबेर लगाएर पूजा गरेकी थिई । तर अचेल राधाले कहिले गर्छे, कहिले गर्दिन— आज गरिन क्यार !
खाँदाखाँदै सीताले सोधी राधालाई— “दिदी ! दिदी ! आमा के भएर मर्नुभएको रे ?”
“एड्स रे एड्स । चुप लाग् ।” राधाले भनिन्— “खा खुरुखुरु ।”
राधालाई वास्तवमा हतार थियो । यदि दिनभरि दाउरा खोजखाज गरेर बेच्न नलग्ने हो भने यिनको घरमा चुलो बल्दैन । राधालाई राम्ररी थाहा थियो— जसरी पनि जङ्गलमा गएर दाउरा एक भारी ल्याउनु छ र एक घन्टा हिँडेर त्यो दाउरा कालीबजार पु¥याउनु छ । त्यहाँ बेच्नु छ जतिमा भए पनि । यसो गर्न सकिएन भने राधालाई राम्ररी थाहा थियो— उसका भाइबहिनीहरू भोकै हुनेछन् ।
कहिलेकाहीँ एक्लै हुँदा फतफताउँछे राधा— “मलाई पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर खोइ मैले पढ्नै पाइनँ ।”
राधाले पढ्नलेख्न जानेकी छैन । साथीभाइसँग दगुर्दै, खेल्दै, हल्ला गर्दै हिँड्न कति मजा हुन्थ्यो होला— त्यसबाट पनि ऊ टाढै छे ।
राधा फतफताउँछे कहिलेकाहीँ— “मलाई पनि त खेल्न मन लाग्छ । तर मैले खेल्नओर्नतिर लागेँ भने सीता र कमल भोकै पर्नेछन् ।”
नाम्लो र डोरी लिएर राधा अब ढोकाबाट निक्ली जङ्गलमा दाउरा बटुल्न ।
सिम्फोनी होइन, उसले ढोकाबाहिर पाइला चाल्नासाथ घन्टी बज्यो माथि डाँडाको मन्दिरको— टङ् टङ् टङ् टङ... गर्दै । गणेशको मन्दिरको घन्टी ।

वक्रतुण्ड महाकायः सूर्यकोटि समप्रभः
निर्विघ्नं कुरुमे देव सर्व कार्येषु सर्वदाः

राधा बिस्तारै तल झर्दै गई केत्तुके बोटलाई छेउ पार्दै । अनि बल्ल सिम्फोनी बज्न शुरु भयो— सुन्तलाको बोटबाट बजेको सिम्फोनी । सिस्नोको घारीबाट बजेको सिम्फोनी । फुच्ची सीता र फुच्चे कमलले मेरो ढोकामा बसेर आफ्नी मायालाग्दी दिदीलाई हेर्दै रहे ।
दिदी त्यस्ती अबोध दिदी, जसले आफ्नी आमा मरेपछि बहिनीलाई भनेकी थिई “पहिले आमालाई पनि हेर्नुपथ्र्यो । अब हेर्नु परेन । बहिनी र भाईलाई मात्र हेरे पुग्यो । ”... एउटा क्रुर सत्य !








पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस