छुटेको जुत्ता

लेखक : भोजराज न्यौपाने
प्रकाशक : शव्दहार क्रियशन
बितरक : शव्दहार क्रियशन

विधा: कविता
पृष्ठ : १००
मुल्य :१५०

कविताको भाषा खँदिलो हुन्छ, खुकुलो हुदैन । कवितामा भाव सघनता हुन्छ, जटिल गुम्फन हुँदैन । थोरै शब्दमा धेरै भन्न सक्नु कविताको अहम् कलाकारिता हो । हजारौं वर्षदेखि वेद जीवित रहनुको रहस्य यसका बोसोरहित मन्त्र र ऋचाहरु नै हुन् । संश्लिष्ट भाषा र मानिसको संवेदनलाई झंकृत पार्ने ध्वनिमयताले वेदलाई सान्दर्भिक तुल्याइरहेको छ । उसो त कविता चियापसलमा रचिन सक्ला, कविता जस्ता लाग्ने तर अति सामान्य उक्ति मानिसले हिँड्दाहिंड्दै बनाउन सक्ला । भटमासेहरुको पनि आफ्नै खाले खुबी हुन्छ । तर कविता स्वयंमा गम्भीर आत्मानुशासन पनि हो । कविता चियापसलको गफ होइन, आफ्नै आत्मासंगको साक्षात्कार हो । कवितामा एउटाका नाडी अर्को संवेदनशील मनुष्यका हातभित्र चल्छन् । सुदूर पश्चिम नेपालको एउटा लोकगीतमा भनिएको छ—

साईका नाडी मेरा हात चल्या सुरु सुरु

अर्थात् मेरो प्रिय, तिम्रा नाडी मेरा हातमा चलिरहेका छन् । भोजराजजी, कुशलतापूर्वक प्रस्तुत गरिएका शब्दहरुको स्पन्दन र कम्पन पनि यस्तै हो । हो, एक उत्कृष्ट कविता पाठकको मनमस्तिष्कमा प्रवेश गरेपछि कविका नाडी पाठकका हातमा चल्न थाल्छन् । के हामी त्यस्ता अद्भूत अनुभव गराउने रचना दिन सकौंला ? विश्वास गरौ, नेपाली कविताको क्षितिज विस्तार हुँदै गरोस् र नयाँ प्रतिभाहरुको आगमनले पनि आभास देओस् । हाम्रो नेपाली चेतनाको कविता दुनियाँमा नेपाली भएर चिनियोस् ।

भोजराजजी, कविता लेखनका प्रक्रिया र उपकरणहरूबारे यहाँ चर्चा गर्नुको खासै अर्थ रहन्न । त्यस्ता काम जरुरी ठानिए शैलीशास्त्रका पण्डितहरूले गरुन् । तपाईंले अद्भूत कविता लेख्नुभएको होइन र अरुले बिल्कुलै कलम नचलाएका विषयवस्तुको छनोट गर्नुभएको होइन । प्रयोगका नाममा कविताको जगलाई कमजोर हुने गरी तपाईंले ठटाउनुभएको पनि होइन । तपाईंले परदेशी र बिल्कुल अपरिचित साँस्कृतिक बिम्बहरुलाई भित्र्याएर चमत्कार गर्नुभएको पनि होइन । परन्तु आफ्नो संवेदन ग्रन्थीलाई जुन घटना र परिवेशले प्रकम्पित गरे र तिनका अन्तर्यलाई जसरी तपाईंले आफ्नो दृष्टिमा घोलेर काव्यरुप प्रदान गर्नुभयो, त्यसैले तपाईंलाई कविता जगतको आधिकारिकता दिन्छ । तपाईंको सहज बुझाई आम जनताका भावनाका सन्निकट छ र तपाईंलाई कविता लेख्न तिनले स्रोतको काम गरेका छन् । एक विवेकशील नागरिकले गर्ने रचनात्मक चिन्ता तपाईंका चिन्तामा प्रकट भएका छन् । यही इमानदारीपूर्ण प्रयासले तपाईंलाई आफ्ना पाठकका माझ जीवित राख्न मदत गर्नेछ । तपाईले आफ्नै छेउमा उडिरहने चराको विवेक खुट्याउनुभएको छ र कतिपय अर्थमा चराको स्वतन्त्र उडान तथा सीमाबद्धरहित गुण मानव जातिभन्दा श्रेष्ठ रहेको निस्कर्ष निकाल्नु भएको छ । दुर्भाग्यवश, विकासको क्रममा मानिसले ती आदिम प्राकृतिक गुणहरुलाई उसको जीवनबाट हुत्याइसकेको छ र आफुलाई साँघुरो बनाउँदै लगेको छ । तपाईं भन्नुहुन्छ

चराहरु
बुद्धको मूर्तिमाथि
पशुपतिको मन्दिरमाथि
चर्चमाथि
मस्जिदमाथि
एकनासले उड्छन् ।

(चराहरूको विवेक)

सायद मानिसलाई एकपटक सम्झाउनुपर्ने सोचले तपाईंले मानिसले नै खडा गरेका भिन्नताका भीमकाय पर्खालहरुबारे कविता लेख्नुभयो । आफ्ना पुर्खाको अंशमा बाँच्ने तर तिनलाई नै घृणा गर्ने प्रवृतिमाथि पनि तपाईंले प्रहार गर्नुभयो (आशीर्वाद) । स्वायत्तता र आत्मनिर्णयको अधिकारका नाममा निहित स्वार्थी तत्वका अभीष्टबारे तपाईंले संकेत गर्नुभयो
(नयाँ नेपालको नक्सा) । आफ्नो मुलुुकका दक्षिणी भागका सोझा थारु किसानमाथिको चरम शोषण र खासगरी कमलरी खरीद गर्ने प्रथामाथि तपाईंले प्रहार गर्नुभयो (कमलरीको माघी)। जनतालाई सपनाको बिस्कुन देखाउने नेतागणको व्यक्तित्वको क्षयीकरणबारे तपाईंले प्रश्न गर्नुभयो ( केही साना सपनाहरू )। भ्रष्ट राज्यका जनविरोधी नीतिका कारण मुलुकमा बस्न नसकेर विदेशिनु परेका नेपालीका पीडाजन्य यथार्थ देखाउनुभयो, यसरी:

म आफ्ना आँखा खोलेरै निदाइरहेको छु
म सास फेरेरै मरिरहेको छु ।
कसरी सुरक्षित हुन सक्छु यहाँ ?
म भाग्न चाहन्छु !

(भाग्दाभाग्दै: एक चिन्तन)

र, तपाईंले सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही दुबै पक्षबाट भएका मानवताविरोधी अपराधमाथि प्रश्न गर्नुभयो । यस्ता दृष्टिकोणलाई दुबैले सही ठान्दैनन् भन्ने तपाईंलाई थाहै छ । तर कविको धर्म सत्यको पक्षमा आफुलाई उभ्याइराख्नु हो, कसैको कमारो बनेर सत्यलाई छोपिदिनु होइन भन्ने विषयमा कविताकर्मी स्पष्ट हुनै पर्छ । अझसम्म राज्यसत्ता माफिया र डनहरूको नियन्त्रणमा छ कतिसम्म भने प्रज्ञाप्रतिष्ठान जस्ता साँस्कृतिक संस्थाहरूमा दलविशेषका पनि व्यक्तिविशेषका ताबेदारहरू विराजमान गराइन्छ । त्यस्ता विवेकहीनता र अपराधीकरणबाट राज्यलाई मुक्त गर्न सत्यको अन्वेषण तथा त्यसमा अडिनेसाहसको आवश्यकता परिरहने छ । तपाईं यही पक्षमा हुनुहुन्छ भन्ने कुराका प्रमाण हुन् तपाईंका रचना । तर यो पर्याप्त भइसकेको छैन । नेपाली कविताले नयाँ भाषा र अभिव्यक्ति सामथ्र्यको खोज गर्नै पर्नेछ जसमा तपाईंले पनि काम गर्नुपर्छ भन्ने मेरो धारणा छ । यस सानो उपहारका निमित्त तपाईंलाई धन्यवाद । थप प्रगतिको कुरा तपाईं स्वयंमा निर्भर गर्दछ ।

- श्यामल



पुस्तकभित्रबाट एउटा कविता


चराहरूको विवेक

एकाबिहानै
चराहरू जुलुस निकाल्छन्
चिरबिर चिरबिर
र, कहिले मौन उड्छन् ।

चराहरू
खुल्ला आकाशमा खुसीले नाच्छन्
गीत गाउँछन्
बस्तीमाथि–जंगलमाथि
पहाडमाथि–हिमालमाथि
एकनासले उड्छन् ।

चराहरू
बुद्धको शिरमाथि
पशुपतिको गजुरमाथि
चर्चको क्रसमाथि
मस्जिदको क्रिसेन्टमाथि
एकनासले उड्छन् ।

चराहरू
मन्दिर र मस्जिदको विभेद जान्दैनन्
छूत र अछूत मान्दैनन्
सबैलाई सुनाउँछन्
सुमधुर गीत
तर हामी मान्छे
धर्ममा फरक देख्छौँ
जातमा फरक देख्छौँ
रगतमा फरक देख्छौँ

किन हँ !
हामी
चराजस्तै ज्ञानी हुन सकेनौँ !

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस