जनकवि केशरी धर्मराज थापा
धर्मराज थापाको नाम भन्नु नै नेपाली आधुनिक गीत र लोकगीतको साझा चौतारी हो । कुनै बेला नेपाली राष्ट्रियता र जनभावनाको गीत गाएर उनलेे नेपालको परिक्रमा गरेका थिए । नेपालमा मात्र होइन, भारत लगायत यस भूगोलमा जहाँ-जहाँ नेपाली बस्थे, सबैले धर्मराज थापाको स्वर सुनेका थिए । उनी कति जनपि्रय थिए भने धर्मराज थापालाई कसैले चिन्दिन भन्थ्यो भने ऊ नेपाली पनि ठहरिँदैन थियो । नेपाली संसारमा धर्मराज थापाको छोटो परिचय यति नै हो ।
थापा कहीं आधुनिक गीत गाएर पुग्थे, कहीं लोकगीत गुञ्जाएर पुग्थे र कहिले गीतिकविता पाठ गर्दै पुग्थे । यी कारणले नै उनी सर्वत्र परिचित थिए । त्यसैले राजा महेन्द्रबाट उनले २०१३ सालमा जनकवि केशरीको मान पाए ।
जनकवि केशरी थापाका बाबु हर्कबहादुर थापा किसान थिए । उनले मायादेवी बस्नेतसँग बिहे गरे । यी दम्पतीबाट १९८१ सालको साउने सङ्क्रान्तिमा पोखराको बाटुलेचौरमा धर्मराज थापा जन्मे । छोराको जन्मपछि हर्कबहादुर थापा कास्कीको लामदुवालीमा अवस्थित गोठमा बस्न थाले । किनभने त्यतिबेला उनले दाउरा बोक्ने एउटी किशोरीसँग पनि पि्रती गाँसेका थिए र ती थिइन्, छलीमाया ।
छलीमाया बस्नेतले लेकबाट दाउरा बोकेर हर्कबहादुरका गोठमा बिसाउँदा-बिसाउँदै हर्कबहादुर थापासँगको प्रेममा आफूलाई समाहित गरेकी थिइन् । त्यही परिणतिले हर्कबहादुर थापाले छलीमायालाई उपपत्नीका रूपमा भित्र्याए । अनि उनले छलीमायाबाट पनि एक छोरा र एक छोरी जन्माए । आफ्ना भाइबहिनी जन्मिँदा धर्मराज थापा पनि उमङ्गत थिए ।
थापाले पोखराको सुन्दर प्राकृतिक छटालाई शिरमा सिउरेर बाल्यकालदेखि नै गीत गाए । उनले आफ्नै गाउँको बाटुलेचौरको स्कुलमा कखरा पढे । त्यहाँ पनि उनी बालकवि र गायकमा दर्ता भए । उनी त्यतिबेला गाउँठाउँमा जहाँ-जहाँ जान्थे, त्यहीं-त्यहीं गीत गाएर श्रोताहरू बटुल्थे ।
थापा स्कुले जीवनकालमा नै पशुपतिमा सतबीज छर्न आउनेहरूका पारामा लागेर काठमाडौं आए । उनी काठमाडौं आएपछि यतै बसे, यतै पढे र यतैबाट उनले निजामती प्रथमा र मध्यमा पास गरे । त्यसपछि उनी जागिरका निम्ति राणाको चाकरीमा लागे । उनलाई श्री ३ को गुठी बन्दोबस्तमा नौसिन्दाको जागिरमा भर्ना गरियो । केही वर्षमा नै उनी बहिदार र मुखियामा बढुवा पनि भए । त्यही समयमा उनले उस्ताद भगतकृष्ण मानन्धरसँग शास्त्रीय गीत सिकेका थिए ।
२००२ सालमा थापा 'गोरखापत्र' पुगे । त्यहाँ पनि उनले २००८ सालसम्म जागिर खाए । रेडियो नेपालको स्थापनाकालमा नै उनी रेडियो नेपालमा पुगे । त्यतिखेर उनले रेडियो नेपालमा जति-जति गीत गाए, श्रोताहरूबाट त्यति-त्यति बधाई र धन्यवादका माला पनि लाए । वास्तवमा त्यसबेला उनकोे स्वर प्रस्तुत हुनु भनेको एउटा सांस्कृतिक क्रान्ति नै मानिन्थ्यो ।
२००७ सालको जनक्रान्तिपछि थापाले क्रमशः नेपालीका आँगन-आँगनमा पुगेर राष्ट्रियताको गीत गाए । त्यसबेलादेखि नै उनले नेपालका दुर्गमभन्दा दुर्गम ठाउँमा खारिएको नेपाली भाषा पुर्याए । उनी नेपालका भीरपाखामा नेपाली राष्ट्रियता र मातृभूमिको गीत पुर्याउने पहिलो पथप्रदर्शक थिए । सांस्कृतिक यात्रामा नै उनले ७५ जिल्लामा आफ्ना पाइला टेके । उनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँबाट लोकगीत सङ्कलन गरेर पनि ल्याए । उनैको सक्रियतामा नेपालमा हज्जारौं लोकगीतको सङ्कलन भयो ।
थापा नेपाली बस्ती भएका भारतका विभिन्न प्रान्तहरू गए । उनी भारतका दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन, सिलाङ, मेघालय जतासुकै गएर गीत गाए । उनको स्वर र राष्ट्रप्रेमको प्रेरणाका कारणले नै कैयौं नेपाली आफ्नो झटिीगुन्टा कसेर नेपाल फर्के । कति नेपालीले चाँडै नेपाल आउने प्रतिज्ञा गरे र कति नेपालीहरूले नेपाल र्फकने सपथ पनि गरे ।
थापाले २००९ देखि २०२६ सालसम्म रेडियो नेपालमा जागिर खाए, उनले त्यहाँ जागिर खाइन्जेल गीत पनि गाइरहे । त्यसपछि २०२६ सालदेखि २०३१ सालसम्म उनी राजा महेन्द्रको मनोनीत सदस्य भएर नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा बसे ।
थापाले हज्जारौं लोकगीत गाए । रेडियो नेपालमा पचासौं आधुनिक सङ्गीत गरे र बीसौं आधुनिक गीत गाए । बेरिकर्डको कुरा गर्ने हो भने यिनले सयौं आधुनिक गीत लेख्तै, सङ्गीत गर्दै र गीत गाउँदै गरे । यी एउटा बहुमुखी प्रतिभा थिए । त्यसैले यिनले नेपाली भाषासाहित्यका किताबमात्र तीन दर्जनभन्दा बढी लेखे ।
थापाको बिहे १९९६ सालमा सावित्रीदेवीसँग भयो । यिनीहरूका पाँच सन्तान जन्मे । यी दम्पतीले मदन, कुञ्ज र बुलन्द भनी छोराको नामकरण गरे । थापा दम्पतीका ज्ञानु र पानु दुई छोरीहरू हुन् । ज्ञानु राणाले साङ्गीतिक यात्रामा लागेर लोकपि्रयता पनि कमाइन् । धर्मराज थापाले आफ्नी पत्नीको माया, प्रेम र स्नेहलाई आफ्नो नामसँग टाँस्तै २०५१ सालमा 'धर्मराज सावित्रीदेवी थापा गुठी' नामक सांस्कृतिक संस्था पनि स्थापना गरे ।
२००८ सालको कुरा हो । त्यसबेला भारतीय प्रधानमन्त्री पं.जवाहरलाल नेहरू नेपाल आउँदा राजा त्रिभुवनकै अघि थापाले टुँडिखेल खरीको रूखको चौतारामा 'चरी बस्यो रूखैको हाँगैमा, रोयो हिमाल मिर्मिरे साँझैमा' भन्ने सहिद श्रद्धाञ्जली गीत गाए । त्यसै सालको अर्को कुरा हो, के.आई. सिंहपट्ट िलागेर 'क्रान्तिकारी हे वीर केआई सिंह, कहाँ गयौ जेलखाना तोडेर' भन्ने गीत लेखेर गाउँदा थापालाई गिरफ्तार गरिएको थियो । त्यतिखेर डेड महिना उनी जेल बसे । त्यसको ठीक चार वर्षपछि उनी गीत गाउँदै मुस्ताङ गए । त्यसबेला केही समयसम्म 'धर्मराज थापा मुस्ताङ भोटतिर मारिए' भन्ने हल्ला काठमाडौं उपत्यकामा फैलियो । त्यस हल्लालाई निराधार पार्दै उनी काठमाडौंको भूगोलपार्कमा उभिएर बोलेका थिए, 'म मरेको छैन । म करवीर मसानबाट उठेर आउँदैछु ।' त्यतिखेर त्यसै सभामा कविशिरोमणि लेखनाथ पौड्यालले पनि धर्मराज थापाको प्रशंसामा आफ्नो मन्तव्य दिएका थिए ।
२०११ सालको कुरा हो । त्यतिखेर आयोजित प्रथम राष्ट्रव्यापी बृहत कवि सम्मेलनमा थापाले प्रथम पुरस्कार पाए । त्यसपछि उनलाई पुरस्कारहरू थपिन थाले । उनले भानुभक्त पुरस्कार, देवकोटा शताब्दी सम्मान, रत्नश्री स्वर्णपदक, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, मदन पुरस्कार, जगदम्बाश्री, सिद्धिचरण पुरस्कार, नइ खरा सुकीर्तिजस्ता पुरस्कार पाए ।
थापा जसरी गीतमा सरिक भए, त्यसरी नै केटीहरूसँगको प्रेममा पनि आबद्ध भए । उनी एउटीलाई छुँदा एउटा गीत लेख्थे, डुलाउँदा दुइटा गीत लेख्थे र हृदय साटासाट गर्दा तीनटा गीत लेख्थे । वास्तवमा उनले केटीहरूका प्रेममा डुबेर पनि थुप्रै गीत लेखे, सङ्गीत गरे र गीत गाए । यसै प्रसङ्गमा उनी भन्थे, 'तिर्खा लागेको बेला कलकल बग्ने खोलामा पानी खान जाँदा अँजुलीमा जति पानी खाइयो । मेरो त्यति नै केटीसँग मिलन र विछोड पनि भयो । श्रीकृष्ण भगवान्ले सोह्र सय गोपिनीसँग पि्रती गाँसे भन्छन्, तर उनले आफ्ना गोपिनी गन्न सकेनन् भने म त मान्छे परेँ, मेरा प्रेयसीहरू मैले गन्न नै सकिन ।'
नेपाली संस्कृतिका एउटा धरोहर धर्मराज थापा केही वर्ष अघिदेखि थला परे । उनको शरीरको दाहिने भागमा प्यारालाइसेस भएको थियो भने उनी अल्जाइमर, उच्च रक्तचाप र मधुमेहले पीडित थिए । अन्ततः उनी २०७१ असोज २८ गते मङ्गलबार काठमाडौंमा स्वर्गीय भए । त्यसदिन पानी परेर काठमाडौं चिसो, धुम्म र विरहलाग्दो थियो ।
नेपाल आमा तिमीलाई मनमा सम्झिराखौंला
आत्माको ज्योति बालेर देशको दुःख नासौंला ।
(स्वर, सङ्गीत र शब्द : जनकवि केशरी धर्मराज थापा)
अल्जाइमर, उच्च रक्तचाप र मधुमेहले पीडित नेपाली संस्कृतिका धरोहर धर्मराज थापाको २०७१ असोज २८ गते मंगलबार काठमाडौंमा निधन भयो ।
- नरेन्द्रराज प्रसाईं
(साभार :कान्तिपुर २०७१/७/१)
रचनाकार : दीपक समीप
प्रकाशक : बी एन पुस्तक संसा ...
बितरक : मुक्तक
पूरा पदनुस
रचनाकार : असीम सागर
प्रकाशक : फाइन प्रिन्ट बुक ...
बितरक : कविता
पूरा पदनुस