लेखक : निष्प्रभ सजी
प्रकाशक : बुकहिल
बितरक : उपन्यास
मायालुसँग चिनीको ब्यापार (पुस्तक अंश)
पढ्न नपरेपछि कति हलुको हुन्छ मन ? कपासजस्तै हलुको । भुवाजस्तै हलुको । परीक्षा दिएर बसेका सबैलाई यस्तै आनन्द लाग्दो हो । पढ्न परेपछि त्यही मनको हलुको कपास पानीमा भिजेझैँ हुन्छ । मलाई त झन् रिजल्टको चिन्ता पनि छैन । पास भए पनि, नभए पनि खास फरक हुनेजस्तो केही रहर थिएन मसँग । मभन्दा हलुको अब के हुन सक्थ्यो ?
आज हस्पिटालिटीको तालिम थिएन । बाले हिजैदेखि धम्पुस जाने योजना बनाउनुभएको थियो । मलाई दोकानमा छोडेर बा निकै कम डुल्न पाउनुहुन्थ्यो । म दोकानमा बस्न पटक्कै रुचाउँदिनथेँ । सानामा त म पनि बासँगै धम्पुस जान्थेँ । आजकल जान मन लाग्दैन । मलाई किन–किन धम्पुसबाट देखिने माछापुच्छ«ेभन्दा हाम्रै गाउँबाट देखिने माछापुच्छे« राम्रो लाग्थ्यो । माछाको पुच्छरजस्तो देखिनुभन्दा एउटै चुचुरोमा सुहाएजस्तो । मलाई थाहा थिएन, माछापुच्छे«का दुइटा चुच्चा छन्
र एउटा चुच्चो पछाडि लुकेर बसेको छ । कसैले सानोमा मलाई सुनाइदियो, धम्पुसका मान्छेले माछापुच्छ«े बिगारिदिए । मलाई गिज्याएका रहेछन् तर म लामो समयसम्म धम्पुससँग बिनाकारण रिसाएँ । “किन बिगा¥या होलान् यति राम्रो हिमाललाई ?” पछि बाले सम्झाएपछि थाहा पाएँ तर बाले सम्झाउन खोज्दा एउटा कुरा चित्त बुझेन ।
“पुच्छर पनि टाउकामा हुन्च त ?”, मैले प्रश्न गर्नेबित्तिकै बाले माछापुच्छ«ेतिर हेरेर लामो सास तान्नुभयो । चिसो हावा भित्र पसेपछि बाले मलाई चित्त बुझाएरै छोड्नुभयो ।
“माछाले डुबुल्की मार्न खोज्दा पुच्छर माथि आउँदै न त ?”, बाले यसो भनेपछि मैले केही सोधिनँ । हो कि झैँ
लाग्यो । बाको जवाफ आफैमा पूर्ण त थिएन । बाको जवाफलाई आधार बनाएर आफ्नै मनलाई चित्त बुझाउन खोजेँ । धम्पुसबाट फेदीतिर ओर्लिँदै गर्दा अलि तल झरेपछि फेरि चित्त बुझेन ।
“बा त्यो साँच्चैको माछो हो र ?”, बालाई मैले चित्त नबुझिञ्जेलसम्म प्रश्न गरिरहेँ । बाले पनि झिजो नमानी मलाई चित्त बुझाउन खोज्नुभयो ।
“त्यो पैले माछै थियो । ठूलो माछो । तल पानीको भयङ्कर ठूलो पोखरी थियो । माछो निकै चकचके थियो । उफ्रेको उफ्रै गर्नुपर्ने । एक दिन माछाले पौडी खेल्दाखेल्दै जोडले उफ्रिएर मुन्टो डुबायो ।”
मलाई बाको जवाफ कथाजस्तो लाग्यो । एउटा मीठो कथा । बाले यसपछि कथालाई अर्कै मोड दिनुभयो ।
“अहिलेको माछापुच्छ«ेको ठीक पछाडि महादेवको कैलाश पर्वत थियो । महादेव पोखरीको छेउमै ध्यान गरेर बस्न खोजेचन् । माछो उफ्रेको उफ्रै अरेच । महादेवले रिसार पोखरीको पानीमा हेरेचन् । पानी जमेर बरफ भच । माछो चल्नै सकेन । माछाको पुच्छर माथि परेको परै भो । पछि त्यही माछामाथि हिउँ थुप्रिन थाल्यो र हिमाल बन्यो ।”
बाको कुरा सुनेर माछाको खूब माया लाग्यो । महादेवले माछालाई बिनासित्ति मूर्ति बनाइदिएछन् । सोच्दा पनि मनै खल्लो भयो । पछि त्यही प्रसङ्ग आमालाई आएर सुनाएँ । आमा जोडले हाँस्नुभयो ।
“हो नि त, चक्चक् गर्न हुँदैन देखिस्, महादेव रिसाउँचन् ।”, आमाले यसो भनेपछि मलाई महादेवसँग डर लाग्न थाल्यो ।
लाग्न थाल्यो, महादेव त खतरा रैचन् । पछि गएर थाहा भयो । बाले सुनाएको मात्र कथा रहेछ ।
टेबुलमा राखेको मोबाइल थर्थरायो । ध्यान महादेवबाट मोबाइलमा स¥यो ।
“कता हुनुन्च हजुर ?”, अनिताको एसएमएस प्रश्न थियो । मैले जवाफ पठाइन । उत्ति नै खेर फोन गरेँ ।
“दोकानमा छु ।”, अनिताले हेलो भन्नेबित्तिकै उसको एसएमएसको जवाफ दिएँ ।
“ए, तेसो भए राख्दिन्चु ।”, अनिताले फोन राख्न खोजेपछि मैले उसलाई म दोकानमा एक्लै भएको जानकारी दिएँ ।
“ए, तेसो भए त चिनी सक्केको छ, किन्न आऊँ कि क्या हो ?”
“आऊ न बोरै बोकाएर पठाउँचु !”
“बोकेर ल्याइदिने भए ल्याउँचु !”
“हुन्च, लैदिहाल्चु नि !”
“अहिलेसम्म भारी बोक्नु भैच ?” हुन त अनिताले मैले गरेको काम देखेकी छैन । म बासँग बाउसे गएको देखेकी छैन । वन फुकाउँदा मुढा ओसारेको देखेकी छैन । आमासँगै घाँसको भारी बोकेको देखेकी छैन । दिदीले एक रुपियाँ दिन्चु भनेकै
लोभले बच्चैदेखि डोकोमा घरदेखि खेतसम्म मोल बोकेको देखेकी छैन । यसले त मलाई भ्यानको ड्राइभर भएको मात्र देखेकी “हेमजालीको छोरा हुँ । आऊ न पहिले चिनीको बोरामाथि तिम्लाई पनि राखेर बोक्दिउँला !”, मैले अलि बढी भनेछु कि क्या हो ! ठीकै छ, फुत्की हाल्यो । अनिता भने जोडले हाँसी ।
“भयो–भयो म फोन राख्छु, दोकानमा व्यापार गर्नुस् ।”
“मैले फोन गरेको बेलामा तिम्ले फोन राख्न कसरी मिल्च ?”, मैले कुरा लम्ब्याउन निहुँ खोजेँ ।
“अरे, त्यस्तो पनि हुन्च !”
“हुन्च नि !”
“त्यसो भए मै फोन गर्छु अनि राख्छु ।”, अनिता पनि कमकी थिइन । यत्तिकैमै दोकान छेउका रामकृष्ण दाइ हाम्रो दोकानभित्र छिरे । अनिताले फोनबाटै दोकानमा कोही आएजस्तो मानिछ, फोन राख्दिहाली । एउटा जाबो पान पराग किन्न अहिल्यै किन आउन परेको होला ? मनमनै रिस उठ्यो तर दुर्ई रुपियाँको किन्न आए पनि
उनी मेरा ग्राहक थिए । दिऊँ कि नदिऊँझँै गरी अलिकति मुस्कान दिएँ । उनी फर्केपछि अनितालाई फेरि फोन गरेँ । उसले उठाइन । के गरौँ, के गरौँ भयो । बाले दोकानमा चार इन्चको सानो टिभी पनि राख्नुभएको थियो । हिन्दी च्यानल
हेर्नलाई केबुल पनि जोड्नुभएको थियो । टिभी खोलेँ । जिटीभीमा पुरानो फिल्म राजा हिन्दुस्तानी दोहो¥याएर प्रशारण गरेको रहेछ । मलाई निकै मनपरेको फिल्म थियो । धेरै पहिले हेरेकाले कहानी पनि अलिअलि बिर्सिसकेछु । फेरि हेर्न मन लाग्यो । फिल्मले एक घण्टासम्मै तानिरह्यो । पान परागवाला ग्राहक फेरि आए । यसपालि एक बट्टा सलाई मागे । मनमनै सोचेँ । यिनले पानपरागलाई पनि सलाई पारेर खान्चन् कि क्या हो ? उनी गएपछि ध्यान फेरि टिभीतिर गयो ।
“एक किलो चिनी दिनुस् त ?”
म टक लगाएर आमिर खानले बच्चालाई छातीमा टाँसेर फाइट गरेको दृश्य हेरिरहेको थिएँ । एक्कासि अगाडि आएर एक किलो चिनी माग्ने अनिता थिई । मलाई तीनछक पारी । मैले टिभी बन्द गरेँ । सेतो कुर्तामा रातो सुरुवाल र रातै सल । कपाल भर्खर नुहाएर छोडिएजस्तो । निधारमा सानो रातै टीका । कुन स्याम्फुले न्वाइछ खै ? वासनाले नाक खोज्दै आयो । “लौ आज दुकानमै घाम लाग्यो ।”, मैले हाँस्दै खुलेर खुशी प्रकट गरेँ । “घाम त बिहानै लाग्या होला नि, अहिले त कास्की कोटमाथि गइसक्यो ।”, अनिताले मेरो भनाइको अर्थ नबुझेकी होइन तर उसलाई पनि मसँग संवादको दोहोरी खेल्न मन पर्छ ।
“कति चाँडो आएकी ?”
“बाहिर निक्लिनेबित्तिकै बस आयो । साँच्चै चिनी सक्किइच ।”
“चिनी किन्न पनि कति सास्ती रैच है ।”, के भन्दी रै‘छ भनेर मैले अनिताको मन विचारेँ ।
“चिनी त अन्त नि पाइन्च, यहाँको चिनी हालेर बनाको चिया झन् मीठो हुन्च कि भनेर ।”, अनिताले चिनीजस्तै गुलियो कुरा गरी अनितालाई मुढामा बस पनि भन्न बिर्सेछु । मुढा अगाडि बढाएर बस्ने इशारा गरेँ । ऊ बस्न मानिन । लाग्यो, यसले त मलाई व्यापारीमात्रै बनाउने भई । कहिले भ्यानको, कहिले दोकानको । आफू पनि ग्राहकमात्रै हुने भई ।
“ओइ ! मधु बाबु, घाम त कास्कीकोट नागिसके च है ।”, पानपराग र सलाईवाला मेरा ग्राहक फेरि बिनानिम्तो जिस्किन आए ।
हुन त ग्राहक हुन् तर हाम्रो कुरा सुनेर बसेका रहेछन् । मसँग त्यति खुलेका मान्छे पनि होइनन् । अनितालाई देखेर त होइन ? झनक्क रिस उठ्यो । अनितालाई अप्ठ्यारो लाग्यो ।
“छिटो चिनी दिनू न, कति बेर लगाउनु भा’को ?”, यसपटकको चिनीको कुरा चुकजस्तो अमिलो लाग्यो ।
“तपार्र्इँलाई के चाहियो रामकृष्ण दाइ ?”, मैले पान परागवालालाई पहिले धपाउन खोजेँ ।
“यी नानीलाई चिनी जोख्देऊ न पैले ।”, रामकृष्ण दाइलाई मुखमै बजाइदिऊँजस्तो लाग्यो ।
“मलाई पनि हतार छ, छिटो गर्नू ।”, अनिता फेरि ग्राहक बनी । मैले चिनी जोखेँ ।
“कति हो नि पैसा ?”
“तीस रुपियाँ ।”, म पनि दोकानदार बनेँ ।
“कति महङ्गो ? सिम्पानीयाँ त पच्चीस रुपियाँमा पाइन्च !”, अब भने अनितालाई पनि झ्याम्म दिऊँजस्तो लाग्यो ।
मलाई थाहा थियो, उसले जानी–जानी यसो भनेकी हो । मेरो पुर्पुरो तताउन ।
“अनि सिम्पानीमै गएर किन्नुस् न त !”, उसले मलाई उठेको रिसको भेउ पाओस् भनेर मैले पनि उसलाई जानी–जानी तपाइँ भनेर सम्बोधन गरेँ ।
“यसपालि तपाइँकै चिनी खाऊँ अर्कोचोटि सिम्पानीतिरै ओलौँला ।”, अनिताले यसपटक भने मुसुक्क हाँसी र चिनी उठाएर दोकानको सिँढीबाट तल ओर्लिने तरखर गरी ।
“यो मेरो चिनी होइन है, उखुको हो, मलाई पेलेर चिनी आउँदैन ?”, सुनेर अनिता फेरि फर्केर हाँसी । ऊ बाटातिर लागिसकेकी थिई ।
अब पालो आयो, चिनीभित्रको कमिलाको ।
“के चाहियो भन्नुस् ?”, मैले रामकृष्णलाई ठाडै सोधेँ ।
“एक बट्टा खैनी देऊ न ।”
पानपराग र सलाईबाट रामकृष्णको सरुवा खैनीतिर भयो । बाले कसरी झेल्छन् होला यस्ता छिमेकीलाई । हुन त सित्तैमा खाएका हैनन् । दुर्ई घण्टाभित्र तीनचोटि आइसके । बालाई त के भो र ? ग्राहक आए भैहाल्यो । जतिपटक सुकै आओस् । मनमा कुतूहलता भने भइरह्यो । अब चौँथोचोटि के किन्न आउला रामकृष्णे ? सोचेँ, चुनावाला सुर्ति किन्ला । हुन त चुरोट किन्न पनि सक्छ ! मलाई भित्रभित्र अनितासँग खूब रिस उठ्यो । अरुसँग उठ्ने खालको रिस होइन । अनितासँग उठ्ने खालको रिस तर त्यही रिस पनि छिनमै म¥यो । यत्रो सास्ती गरेर चिनी किन्न त आएकी थिइन ऊ । मलाई भनेर आई । मनमनै रमाइलो लाग्यो । फिल्मतिर ध्यान गएन । टिभी बन्द गरिदिएँ । दोकान सुनसान थियो । साँझतिर फेरि चहलपहल बढ्ला । अनितालाई फोन गर्छु भनेर मोबाइल निकालेको मात्रै थिएँ । आमा अगाडि देखिनुभयो । दोकानमा जे खाए पनि छ । अलि अगाडि चिया पसल पनि छ । रोटी र तरकारीसमेत बेच्छन् र पनि आमाले झोलामा खाजा बोकेर आउनुभएछ ।
“ल बाबु, खाजा खा ।”, आमाले सुजी र तरकारी ल्याउनुभएको रहेछ । खाजा खाएर एकैछिन चोकतिर जान मन लाग्यो । आमालाई पनि आज अलि सुविस्ता रहेछ । भैँसी एकहाते भएको छ । नत्र आमा पनि धम्पुस जानुहुन्थ्यो ।
कामै छैन भन्ने दिन त आउँदैन होला आमाहरूलाई । यो ब्रह्माण्डमा सबैभन्दा बढी खट्ने आमाहरू नै होलान् । आमा हुनुको ज्याला सन्तानले दिने माया र सन्तानबाट पाउने सन्तुष्टी होला । सबै आमाहरूको भाग्यमा त यही पनि तोकिएको छैन । भगवान् यदि छन् पनि निकै बाठा छन् । आफ्ना सबै गुण आमामा सारिदिएका छन् । आफ्नो सबै जिम्मा आमामा लादिदिएका छन् । सन्तानका लागि मलाई लाग्छ, आमा मुटु हुन् र बा त्यही मुटु ढाक्ने शरीर । स्नेह सञ्चारित हुनका लागि यी दुवै चाहिन्छन् । आमामात्रै भएर पुग्दैन । बामात्रै भएर पुग्दैन । पुग्दैन भनेर मात्रै पनि कहाँ हुन्छ र ? नहुनेले पनि जसोतसो चित्त बुझाइरहेकै छन् ।
आमाले दिदीलाई निकै सम्झिनु हुन्छ । दिदीको बिहे नहुँदा म अलि झगडालु थिएँ । अलि बढी किचकिचे थिएँ । दिदीको बिहे भएपछि आमाको न्यास्रोपन स्पष्ट देख्न थालेँ । म दिदी बन्न त सक्दिनथेँ तर सकेसम्म सोच्थेँ, मेरा कारणले आमालाई कहिल्यै चित्त नदुखोस् ।
“म चोकसम्म गएर आउँचु है ? विक्रम क्युमा छ कि ? खुट्टा तन्काएर आइहाल्चु !”, आमालाई चित्त नदुख्ने गरी झूट भने म बोलिरहन्थेँ । मलाई अनितासँग फोनमा कुरा गर्नु थियो ।
“जा–जा, विक्रमसँगै जाने भए नि जा, मै दोकान बन्द गरेर जाम्ला ?”, आमाले झन् दोकानको बन्धन फुकाइदिनुभयो । दोकान मलाई दाम्लोजस्तै लाग्छ । भैँसी पनि दाम्लो फुकाएपछि खुशीले उफ्रिन्छ । म उफ्रिइनँ तर मेरो मन उफ्रियो ।
दोकानबाट अलिकति माथि लाग्नेबित्तिकै अनितालाई फोन गरेँ । उसले एक घण्टीमै फोन उठाई ।
“चिया एक्लै–एक्लै खाने हो ?”
“बनाएकै छैन ।”
“मलाई कालो चिया मन पर्दैन । थालले छोपेर राखेको कुँढेको दूध बिरालो पसेर खाइदिएछ ।”
“दूध कहाँबाट ल्याउँछेऊ त ?”
“छिमेकीको गाई छ, एक लिटर किन्छौँ, दुहेर बिहानै ल्यादिन्चन् ।”
“चिनी साँच्चै सकिएर आकी हौ तिमी ?”, मेरो कुतूहलता मनभित्रै अडिन मानेन ।
“नसक्किकिन किन आउँथे त, त्यत्रो धाएर ?”, अनिताले ङिच्च पारिदिई ।
“अनि किन धाएकी त ?”
“मैले भनेकै थिएँ त, तपार्इँकाँको चिनी अझै गुलियो छ कि भनेर !”, अनिताले हाँस्दै भनी ।
“दोकानदार अलि महङ्गा रैचन्, एक किलो चिनीमै त्यति फरक, बोरै किन्नु परे त बारी नै बेच्नु पर्च होला ।”, अनिताले मैले केही भन्नै नपाउँदै मलाई फेरि चिढाउन खोजी तर यसपालि मलाई पनि हाँसो लाग्यो ।
“तिमी साँच्चै चिनी सक्केर आकी हौ ?”, म एकोहोरो एउटै प्रश्न दोहो¥याउँदै गएँ ।
“तपार्इँलाई के लाग्छ ?”, उसले प्रश्नको घुम्ती मैतिर घुमाइदिई ।
“था छैन !”, मनले भने ऊ चिनीमात्र किन्न आएकी होइन भनेको थियो ।
“हिजै दुई किलो चिनी बजारबाट आउँदा ल्याएकी थिएँ ।”, यति भनेपछि अनिता केही बोलिन ।
“चिनी मुसाले खाइदियो कि ?”, अब मैले जिस्काउन पाएँ । अनिताले पहिलोचोटि मप्रतिको आकर्षणलाई व्यक्त गरेकी थिई । मनै फुरुङ्ग भयो । फुल्यो । ताप्केमा फुर्रर फुलेको सुक्का रोटीजस्तो ।
“आमा आएजस्तो छ, म फोन राख्छु ।”, उसले फोन काटी ।
मलाई थाहा थियो, आमा आउनुभएको थिएन । लाज आएको थियो । मायाको पहिलो अभिव्यक्तिपछिको रमाइलो अप्ठ्यारोपन आएको थियो ।