कान्छा महारानी

लेखक : शीवा शाह
प्रकाशक : साङ्ग्रिला
बितरक : उपन्यास

[अनुवाद: सगुना शाह] 

पुस्तक अंश :

सुरुवात

कहिलेकाहीँ सोच्छु, वंशलाई नै समाप्तीको खाल्डोतर्फ लिएर जाने दिशामा म कहिलेबाट अग्रसर भएँ ? सायद उनको देहावसानपछि ।

हैन, हैन । त्यसभन्दा निकै अघि । सायद त्यसबेला उनको उपस्थितिले मलाई ईष्र्यालु बनाउन थालेको थियो । उनको निस्फिक्री कम्मर मर्काइले मेरो मनमा घृणा उत्पन्न हुन थालेको थियो ।

 

हो, त्यहीँबाट हुन सक्छ, मभित्र छटपटीका काला बादल मडारिन थालेका । उनीहरू एक–अर्कालाई अगाध प्रेम गर्थे । उनीहरूले आफ्नो एउटा प्रेमिल दुनियाँ बनाएका थिए, जसमा म समाविष्ट थिइनँ । त्यहाँ मेरो कुनै पनि स्थान नरहेको पाएपछि ममा पनि आफ्नो एउटा दुनियाँ बनाउने लालसा जाग्न थालेको थियो ।

 

म उसलाई हेर्छु, ऊ मलाई हेर्छ । एक–अर्कासँग केही नबोली हामी हेराहेर मात्र गर्छौं । हामीले हाँस्न बिर्सिएको पनि वर्षौं भइसक्यो । उसले मलाई प्रेम गर्न छाडेको, मायाले मेरो हात समाउन छाडेको पनि वर्षौं भइसक्यो । अहिले निर्वासित जीवन बिताइरहेका हाम्रा लागि सुदूर विगतको ठाँटबाँट कुनै सुनौलो सपनाझैँ लाग्न थालेको छ । ती दिनहरू त अतीतको गर्तमा डुबिसके । म ऊसँग यी सबैको बारेमा कुरा गर्न चाहन्छु । बोझिल आफ्नो टाउको उसको काँधमा बिसाएर सुस्ताउन चाहन्छु, तर त्यस्तो गर्न त के ऊसँग बोल्नसम्म मेरो हिम्मत पुग्दैन । त्यसैले म हराउन चाहन्छु, बिलाउन चाहन्छु । गङ्गामा फाल हालेर त्यसको गहिराइमा बेपत्ता हुन चाहन्छु ।

 

भन्छन्– गङ्गाले सबैका सबै पाप मोचन गरिदिन्छिन् । म अचेल अनवरत गङ्गाको प्रवाह हेरिरहन्छु । कल्की पुराणमा पनि त लेखिएको छ, कसैप्रति कुनै भेदभाव नगरी गङ्गाले आफूमा समाहित हुन आउनेहरूका सबै पापहरण गरिदिन्छिन् भनेर । फेरि सोच्छु, मेरा पापहरू त मन्दाकिनीको जललाई समेत अपवित्र गरिदिने खालका छन् । गङ्गाले के सक्लिन् मेरो पाप मोचन गर्न । आफ्नो आत्माले बारम्बार धिक्कार्छ मलाई ।

 

आकाशलाई प्रकाशको एउटा रातो धर्कोले छेड्दै उदाएको घाम एकैछिनमा कुनै शिकारी चराको तीक्ष्ण चक्षुझैँ तल धर्तीलाई हेर्न थालिसक्छ । मानौँ, आफ्नो सम्पूर्ण तापका साथ धर्तीलाई झम्टन तैयार छ, ऊ । काशीका घाटहरूमा स्नानविधिका मन्त्र गुञ्जिन थालिसके । किनारमा उभिएकी म एक नजर उसलाई हेर्छु । ऊ नदीको पवित्र जलमा डुबुल्की मार्छ र एकैछिनलाई त्यहीँभित्र बिलाउँछ । ऊ अघि उभिएको ठाउँमा अब म दरबारका चौतरियाहरूलाई देख्छु । उनीहरूसँगै उभिएका भारदारहरूलाई देख्छु । र, देख्छु उनलाई पनि । मेरा लागि उनका आँखामा घृणा छचल्किरहेको थियो । नदीमा उर्लेको छाल मानौँ, उनकै अट्टहास हो । यसरी उभिइरहेकाहरू सबै घाइते र रक्ताम्य छन् । यो कसरी सम्भव हुन सक्छ ? यिनीहरू मरेको त वर्षौं भइसक्यो । के यी मलाई तर्साउन आएका हुन् ? भूत बनेर मसँग बदला लिन आएका हुन् ? हत्केलाले आफ्नो आँखा छोप्छु म डराउँदै । काम्दै गरेका औँला आँखाबाट हटाउँदासम्म सबै बिलाइसकेका हुन्छन् । गङ्गाकै अँगालोमा सायद । त्यो ठाउँमा अब म उसैलाई देख्छु फेरि । गङ्गामा डुबुल्की मारेर निस्किँदै गरेको उसको नग्न शरीरमा घामका किरण आभामण्डलझैँ भएर टल्किएका छन् । म घुँडा टेकी प्रार्थना गर्न थाल्छु, त्यहीँ । उनीहरू मलाई यहाँ पनि तर्साउन छाड्दैनन् । हाँसो, रोदन, घाइते र मुर्कट्टा शरीर, रक्ताम्य घाउ भएका शरीर । कोही पीडाले कराउँदै छन् । कोही दयाको भीख माग्दै छन् । जे नरसंहार भएको थियो, मैले त्यो हुन नदिनुपथ्र्यो । त्यसका बाबजुद म तरबार हातमा लिएर चुपचाप उभिइरहेँ । आदेश दिएको निरीह भई हेरिरहेँ । अहिले यो एकान्तवासमा विगतको त्यो कटुसत्यले झनै पिरोल्छ मलाई । यति मात्र कहाँ हो र, मेरो पीडा ! त्यसमाथि झन् उसको सम्झना, उसको मुस्कान, उसको अँगालो । यहाँ त केवल चर्को घामको रापले आफ्नो अँगालोमा बाँध्न तैयार छ मलाई । र, छ एउटा गहन शून्यता जो सायद यो जीवन रहुन्जेल रही नै रहनेछ ।

  

प्रिय

अहिले उसको अनुहारमा कुनै मुकुन्डो छैन । नत्र त दिनभरि ऊ आफ्नो अनुहारमा अहंकार र महत्ताको मुकुन्डो चढाएर बसेको हुन्छ । ‘मेरो प्रिय, मेरो प्रेम’ भन्दै म उसलाई चुम्छु । ऊ केही प्रतिक्रिया नजनाई सुतिरहन्छ । ऊ निदाएको छ, मलाई थाहा छ । तर, फेरि उसले मेरो अस्तित्वलाई कहिले नै पो स्वीकार गरेको छ र । हामी सुतेको यो सुवर्णमण्डित बिछ्यौना, चाँदीको पाउदानी, खोपीमा राखिएका बेलायती कुर्सी र म, उसका लागि सबै एकै हुन् । मेरा औँलाहरू सुस्तरी उसको मुहार हुँदै चौडा छातीमा चल्मलाउन थाल्छन् । के यसो गरिरहँदा म हर्षविभोर भएकी छु ? छैन, बरु झनै निराश भएकी छु ।

हाँगाबाट धर्तीमा झरेका फूलझैँ उसको गालामा केशका केही धर्सा झरेका छन् । म सुस्तरी फुकेर तिनलाई सिरानीमा झार्छु र झ्यालबाट बाहिर फाल्न लैजान्छु । झ्यालका पर्दा बताससँग खेल्दै रहेछन् ।

एक नजर म उसलाई हेर्छु । ‘स्स्स मेरो राजा, मेरो प्रिय सुतेको छ ।’ मेरो मुखबाट अनायासै फुत्कन्छ । बाहिर उदाउँदो घामको सिन्दुरी रङले पूरा आकाश पोतिएको छ । औँलाले च्यापिरहेका उसका केश मेरा हातबाट फुत्कन्छन् र त्यही रङमा एकाकार हुन उड्छन् बाहिर । पारि गजधुम्म परेर बसेका डाँडाहरूको आलस्यलाई चिर्दै अब एकैछिनमा घाम पनि उदाउनेछ ।

मन्दिरमा घन्टहरू बज्नेछन् स्वर्गका देवता र काठमाडौंबासी सबैलाई एकसाथ बिउँझाउनेछन् । ऊ पनि बिउँझिनेछ । अनि, मेरो अधिपति, मेरो नाथ, मेरो प्यारो महाराजधिराज । म आँखाका कुनाबाट चुपचाप उसलाई हेर्नेछु ।

निदाउँदा कोमल भएको उसको अनुहारमा उठ्नासाथ फेरि उही अहंकार र घमण्डका भावहरू छाउनेछन् । उसका आँखामा एक प्रकारको चमक छाउनेछ । यिनै मुकुण्डोले गर्दा त ऊ जीवनका ससाना आनन्दबाट वञ्चित छ, सधैँ । मुहारमा यी मुकुन्डोहरू चढाउनासाथ ऊ बन्छ, सर्वशक्तिमान श्री पाँच महाराजाधिराज राजेन्द्र वीरविक्रम शाहदेव । गोरखाका महाराजाधिराज, अखण्ड नेपालका निर्माता पृथ्वीनारायण शाहको वंशका पाँचौं पुस्ता । उठ्नासाथ उसको सवारी चलाइनेछ । हनुमानढोका दरबारको शान्ति अब बिगुल र दमाहाको वादनले गुञ्जायमान हुनेछ । उसको दिनचर्याको सुरुवात हरेक दिन यसरी नै हुन्छ । हरेक बिहान ऊ खोपीबाट बाहिर निस्कनुअघि म उसको चरण बाग्मतीबाट ल्याइएको पवित्र जलले धुने गर्छु । मैले हरेक बिहान यसो गर्दैगर्दा ऊ हृदयमा कुनै न्यानोपन नराखी, परचक्रीलाई हेरेझैँ गरेर मलाई हेरिरहन्छ । उसको चरण धोएको जलमध्येबाट थोरै लिएर म आफ्नो ओठ भिजाउँछु, शिरमा लगाउँछु । भुइँमा लम्पसार परेर म उसको चरणमा ढोग गर्छु । मेरो शिरको स्पर्श पाएर उसका चरण काठझैँ कडा हुन्छन् । मलाई थाहा छ, ऊ छिटोभन्दा छिटो यहाँबाट उम्किएर उनको अँगालोमा बाँधिन व्यग्र छ । आहा ! मेरो दिनको यो कस्तो उदास सुरुवात । ऊ बाहिर निस्किएको धेरै बेरसम्म पनि खोपीभित्र उसको सुगन्ध रहिरहेको हुन्छ । यो सुगन्धमा भने मबाहेक अरु कसैको हक दाबी छैन । म ऐना हेर्दै मुस्कुराउँछु । मेरो सुन्दर मुहार पनि

...

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस