फ्रिडम टु डाई

लेखक : डा. निर्मल ज्ञवाली
प्रकाशक : बुक—हिल पब्लिकेशन
बितरक : बाइनेपालीबुक.कम

मूल्य : ३५०
पृष्ठ : २१०

 

'मामा'


टिभीमा एउटा समाचार आएछ, अमेरिकामा दादुराको खोप लगाउँदा एउटालाई क्यान्सर ठीक भयो रे !
ठीक भो, राम्रै भो । तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो ।
मामाले फोन गर्नु भो, "तुरुन्तै खोप लगाउनु पर्यो भान्जा । टिभीले भनेको, च्वाट्टै हुन्छ रे !"
काकाले भन्नु भो, “तिमीले सुन्यौ बाबु ! अमेरिकामा त औषधी पत्ता लाग्यो रे नि त ! तुरुन्तै बुझ्नु पर्यो ।”
माईला बाले भने, “यो रोग त निको हुन्छ रे नि ! हिजो टिभीमा देखाको रे !”
कान्छी आमाले पनि फोन गरिन्, “खुशीको कुरा सुन्यौ बाबु ? लौ है, चांडै गर्नुपर्यो ।”
***
एक महिनाअघि, एउटा दुखद समाचारले हाम्रो खान्दान मै खलबली मचाएको थियो ।
अमेरिकामा सँगै बसेको मेरो भाइलाई हल्का ज्वरो आएको थियो । मैले हस्पिटल जँचाउन लगें । डाक्टरको सल्लाह अनुसार सबै ल्याब टेस्ट गरें ।
सबै जाँचपछि, डाक्टरले मलाई एक्लै बोलाएर भनें, “तपाईंको भाइको बोनम्यारो नै ड्यामेज भएर ब्लड क्यान्सर भइसकेको छ । जसको संसारमा अहिले सम्म उपचार नै सम्भव छैन ।”
हाम्रो परिवारमा एक्कासी उथल पुथल आयो । हामी सबै विक्षिप्त भयौं । सुरुमा विश्वास गर्नै गाह्रो भो ! हामी कसैले पत्याएनौं । हिजो सम्म राम्रोसँग हिंड्ने, काम गर्ने, हाँस्ने, खेल्ने गरेको भाइलाई कसरी एक्कासी यस्तो हुनसक्छ  ? अनि यो कल्कलाउँदो उमेरमा । गएको महिना मात्र उ चौबिस वसन्त पार गरेर पच्चीस लागेको थियो । हामीले केक काटेका थियौं । भोज गरेका थियौं । कति खुशी थियौं सबै जना !
बिहे गर्नु बाँकी थियो । जागिर खानु बाँकी थियो । बाउ बन्नु बाँकी थियो । अरू कति सपनाहरू अधुरै थिए ।
डाक्टरले दुई महिनाको टाइम दिए ।
उनीहरूको काम सबै कुरामा गणितीय हिसाबकिताब गर्ने हो । गर्छन् । तर, त्यो उनीहरू दिने जिन्दगीको ब्यालेन्स सिटले मान्छेको जीवनमा कति उथलपुथल ल्याउँछ उनीहरू बुझ्दैनन् ।
हामी सबै स्तब्ध भयौं । भावविव्हल भयौं ।
नेपालमा भएको भए, लौ अब दिल्ली लानु पर्यो । बैंकक लानु पर्यो । हुने, खाने, सक्नेले भए अमेरिका लानु पर्यो, भन्थे होला । तर हामी दुई वर्षदेखि दाजुभाइ नै अमेरिका थियौं ।
म, डिभी परेर । भाइ, पहिलो वर्ष स्टुडेन्ट भिसामा । दोश्रो वर्ष लुकेर, गैरकानुनीरूपमा ।
उ फर्कन मानेन । भन्यो, नेपाल फर्केर के गर्नु ?
गैरकानुनी रुपमा बस्नेको स्वास्थ्य वीमा हुने कुरा थिएन । यस्तो देशमा स्वास्थ्य वीमा नभएपछि एकै दिनको ज्वरोले पनि कंगाल बनाउँछ । त्यसमाथि यस्तो गम्भीर रोग । हस्पिटलले तीनमहिनाको उपचार खर्च निकाल्यो - एक लाख, तीस हजार डलर । उपचार खर्च के भन्नु ? निको नहुने रोगको – तीन महिनाको रोकथाम खर्च ।
अब हाम्रो कुनै उपाय भएन । दुईटा उपाय अगाडि थिए हाम्रो लागि – अमेरिका मै बसाल्ने वा नेपाल फर्काउने ।
केही उपाय लाग्छ कि भनेर हामी सबै परिवार लागेका थियौं ।
मैले चिनेको एक जना मान्छे स्यान फ्र्यान्सिसको हस्पिटलमा डाक्टर थिए, डा. राजेन्द्र । भर्खर यु.एस्.एम.एल.ई पास गरेर जागिर खाएका । केही उपाय लाग्छ कि, मैले उनलाई सोधें ।
धेरै बुझेपछि उनले अमेरिकाले रेफ्युजीका लागि भनेर छुट्टयाएको कोषबाट चालिस हजार डलर सम्म मिलाउनको लागि पहल गर्ने भए । त्यसको लागि पनि धेरै पापड बेल्नु पर्यो । यो ‘दिने’ कुरा भनेपछि नेपाल मात्र होइन, सबै देश उस्तै । झुलाईरहने ! यो डकुमेन्ट पुगेन । त्यो पुगेन । सिफारिस भएन ।
अन्त्यमा मिल्ने त भो । तर, त्यति सहयोगले पनि अरू बाँकी पैसा मिलाउन सम्भव थिएन ।
***
बिहानै फोन गरें डाक्टर राजेन्द्रलाई, “डाक्टर साब नमस्ते । टिभीमा दादुराको खोपले क्यान्सर निको भो भनेर समाचार आएको रैछ । घरबाट सोध्दै हुनुहुन्थ्यो । के साँचो हो  ?” यी डाक्टरलाई अमेरिका होस् कि नेपाल जहाँ भएपनि ‘साब’ लगाईदिनै पर्ने । चिल्लो घस्नै पर्ने । अब झन् यस्तो आपतको बेला त गर्नैपर्यो । भन्दिएं ।
उनले भने, "हाइ डोजमा लगाउँदा एउटालाई ठीक भयो रे । मैले पनि हिजो समाचारमा पढेको । तर, त्यो लिभर क्यान्सरको लागि देखिएको हो । ब्लड क्यान्सरलाई होइन । अहिले त्यो रिसर्च हुँदैछ । अहिले नै तुरुन्तै बजारमा आउँदैन । वर्षौं लाग्छ ।”
मैले नम्र भएर भनें, “हाम्रो भाइमा पनि ट्राइ गर्न मिल्छ कि डाक्टर साब ?”
उनले रिसाउँदै भने, “चाहिने कुरा गर्नुस् न । प्रमाणित नै नभएको कुरा हामी कसरी गर्नसक्छौ ? हामी त्यो रिस्की एक्सपेरिमेंट गर्न सक्दैनौ । यो अमेरिका हो । नेपाल होइन । यहाँ जथाभावी गर्न मिल्दैन ।”
***
घरतिरबाट दिनको ७-८ पटक फोन आइरहन्थ्यो  ।
"भान्जा, म अहिले नारायणघाटमा छु । यहाँ मैले क्यान्सर कै डाक्टरलाई सोधेको, ठीक हुन्छ भने । तुरुन्तै लाउनु पर्यो ।” मामाले बीच बाटोबाट फोन गर्नु भयो । पछाडिको गाडीहरूको हर्नको तिखो आवाज र वहाँको चर्को स्वरले सबैको निद्रा खलबलायो ।
यो महँगो ठाउँमा कोठामा एक्लै बस्नु सम्भव थिएन । हामी पाचँ जना मिलेर बसेका थियौं । त्यो हल्लाले सुतेका सबै जना जागे । उमेश त जुरुक्कै उठ्यो । भर्खर कामबाट आएर थाकेर सुतेको थियो । लाग्यो होला, कतै केही भो कि ?
अनि फेरि पल्ट्यो ।
अनि, नेपाल र यहाँको समय नमिल्ने । त्यसमाथि वहाँहरू जति बेला मन लाग्यो, त्यति बेला फोन गरिदिने । कहिलेकाहिँ त हैरान नै हुन्थ्यो । लाग्थ्यो, यो दुरसंचारले अमेरिका कल किन सस्तो बनायो होला ? पहिले जस्तो मिनटको पचास रुपैंया भएको भए यहाँ हामीलाई शान्ति त मिल्थ्यो कि ?
“मैले डाक्टरलाई सोधें, मामा । त्यो अर्कै रोगको लागि हो रे ! हुँदैन रे !” मैले विस्तारै उत्तर फर्काएँ, साथीहरूलाई धेरै डिस्टर्ब नहोस् भन्ने हेतुले ।
"हँ । सुनिएन भान्जा ।" मामा झन् जोडले चिच्याउन थाले, “के भन्नु भो  ?“
लाउडस्पिकर नगर्दा पनि मोबाइलबाट मामाको ठूलो स्वर बाहिरै प्रष्ट सुनियो । अब त राती हल्ला गर्यो, सुत्न दिएन भनेर साथीहरूले चुट्लान कि भन्ने डर लाग्यो । म बाहिर निस्कें । निस्कें पनि के भन्नु, मामाले जबर्जस्ती निकालेरै छाडे ।
सबैजनालाई बिहानै काममा जानु पर्ने । दिनभर खडा भएरै भारी काम गर्नुपर्छ । एक दिन निद्रा बिग्रियो कि ठीक पार्न विकेन्ड नै कुर्नु पर्छ । के गर्नु अमेरिका भनेर भएन, काम नगरी खान पाइँदैन ।
“मैले डाक्टरलाई सोधें मामा । त्यो अर्कै रोगको लागि हो रे ! हुँदै न रे !” मैले फेरि त्यहीं कुरा दोहोर्याएँ ।
“कहाँ हुन्छ ? त्यो डाक्टरलाई थाहै रैन्छ । अर्कोलाई तुरुन्तै देखाउनु पर्यो । मैले यहाँ सबैलाई सोधिसकें । च्वाट्टै हुन्छ रे !” मामा कड्किनु भो ।
मामा अलि कडा स्वभावका हुनुहुन्छ । रिटायर्ड गोर्खा आर्मी । अरूको कुरा खासै सुन्नुहुन्न । वस् ! वहाँले भनेको हुनुपर्छ । अरू वहाँलाई चासो छैन ।
"हस् मामा । म अहिले नै अर्को डाक्टरसँग बुझेर तपाईंलाई खबर गर्छु ।" मैले मामालाई शान्त पार्ने कोसिस गर्दै भनें । मलाई कुरा टुंग्याउनु थियो ।
"बुझ्छु होइन ! खोप नै लगाई हाल्नु पर्यो भान्जा ।"
मैले हस् भनेर फोन राखें ।
***
तीन घण्टामा फेरि फोन आयो, "लगाइयो भान्जा  ?"
"छैन मामा । अर्को डाक्टरसँग भेट भाको छैन । अहिले राती छ । म बिहान बुझेर खबर गर्छु ।" नछोड्ने भए मामाले । अब त भाइको रोगको भन्दा मामाको पिछाको चिन्ता बढ्न थाल्यो ।
अब रोग लागिसकेपछि रोईकराई गरेर पनि के गर्नु ! विस्तारै मनलाई बुझाउँदै थिएँ म । जुन रोगको अब यो दुनियाँमा उपचार नै छैन, त्यो लागिसकेपछि अब आफैले आफैलाई सान्त्वना दिनु भन्दा के नै बाँकी रहयो र ? बरु भाइका इच्छाहरू पूरा गरिदिने, खुशी पार्ने, प्रयास गर्दै थिएँ म ।
फेरि एक घण्टामा फोन आयो । दुई तिन पटक आयो । मैल उठाइनँ ।
मैले सबैतिर बुझें । त्यसको कुनै सम्भावना नै थिएन । अमेरिका जस्तो ठाउँमा हल्लाका भरमा उपचार गर्ने को होलान् र ?
तर मामालाई यो भुत हटेन । बरु क्यान्सर रोग नै निको होला । यिनको रोग निको भएन ।
एक हप्तासम्म यसरी नै फोन गरिरहे । मैले कुरा मिलाउँदै गएँ । कुरा हुँदैछ, भनेर टारीरहें ।
***
अर्को दिन । कसैले भनेछ, गाईको पिसाब खाएर एउटी क्यान्सर लागेकी बुढी च्वाट्टै भइ रे !
उ च्वाट्टै भई, मेरो लागि कुनै आपत्ति थिएन । च्वाट्टै भई, राम्रै भो । तर, आपति यहाँ भो, त्यो कुरा कसैले मामालाई भन्दिएछ ।
"भान्जा ! गाईको पिसाब ल्याएर खुवाई हाल्नु पर्यो । त्यसले तल्लाघरे ठुटे बुढीलाई च्वाट्टै भो रे । तुरुन्तै गर्नुपर्यो भान्जा ।" एका बिहानै फोन आयो । मैले चिनिनँ, को हुन् ती ठुटे बुढी । जो सुकै हुन् ! चिनेर पनि के काम !
आफू रात भर सुतेको थिईनँ । आज नाइट काम थियो । इण्डियनको होटेलमा क्लिनिंग । एकै छिन बस्न दिएको होइन, सालेले । हामी नेपालीले अमेरिका आएर काम पाउने नै यहीँ इण्डियनकोमा । सालेहरूले पेल्नु पेल्छन् । जानी दुश्मन जस्तो ।
"हुन्छ मामा ।" कुरा काट्न सक्ने हिम्मत थिएन । स्वीकारी दिएँ ।
फोन राखें, फेरि सुते । निद्राले कहाँ छोडेको थियो र ?
"भान्जा, कालो लोकल गाईको है । अरू गाई हुँदैन नि !” फेरि एक घण्टामा फोन आयो, “तुरुन्तै खुवाउनु पर्यो । खालि पेटमा ।
“खालि पेटमा खुवायो भने मात्रै राम्रोसँग काम गर्छ है, भान्जा ।", उहाँले थप्नु भो ।
अब यो अमेरिकामा कहाँ खोज्न जाउँ कालो गाई  ? त्यो पनि लोकल ?
“मामा, यो अमेरिकामा अब कहाँ पाउनु मैले कालो गाई ?” नम्र भएर भने । मामासँग बोल्दा सारै विचार पुर्याउनु पर्छ । बरु राणाहरू सँग बोल्न यति डराउनु पर्दैन थियो होला ! सारै कडा थिए, मामा । कहिलेकाहिँ त लाग्थ्यो, कस्ले लगाई दियो यिनलाई आर्मीमा जागिर ?
तर के गर्नु  ? उनी हाम्रै भलाइका लागि बोल्दै थिए । मेरै भाइको उपचारका लागि खटिएका थिए ।
हाम्रो खानदानमा उनी नै हर्ताकर्ता थिए । जे परेपनि ठुला घरे मामा । गाउँ, टोल । सबैका मामा ।
बिष्णु प्रसाद शर्मा । उनको नाम भनेपछि बाग्लुंग जिल्ला भरि बच्चा देखि बुढासम्म थरर ।
कडा पनि उस्तै । सहयोगी पनि उस्तै ।
उनलाई नकार्ने हिम्मत कस्को ?  
“के त्यहाँका मान्छेले दुध खाँदैनन्  ? चाहिने कुरा गर्नुपर्छ नि, भान्जा ।” मामा कड्किए ।
"हस! मामा । म ट्राइ गर्छु ।" मैले फोन राखें ।
फेरि एक घण्टामा फोन आयो । मैले उठाइनँ । तिन पटकसम्म आयो । अहँ उठाइनँ ।
***
अब कहाँ जानु यो अमेरिकामा कालो गाई खोज्न ? अनि भेटिहाल्यो भनेपनि कति बेला मुत्छ, भनेर ढुकेर बस्नु ?
दुई दिनपछि फेरि फोन आयो ।
दुई दिन कहाँ हराएछन्  ? थाहा भएन । सोधिनँ पनि । बरु सोचें, सधैंका लागि यिनी हराइदिए त हुन्थ्यो नि !
“यहाँ त सबै सेतो जर्सी गाई मात्रै हुदों रैछ मामा ।” मैले टार्दै भनें ।
“मैले तल्लाघरे कान्छालाई सोधेको । त्यसको जेठान पनि त्यतै छन् रे । उनले भनेको त्यहाँ ठुला-ठुला फार्म हुन्छ रे ! त्यहाँ खोजे जस्ता पाइन्छन् रे ! छानी । छानी ।” मामा भन्दै गए, “बरु, गएको बेला अलि ठूलो भाँडोमा ल्याउनु ।”
“हस्! मामा, म फेरि बुझ्छु नि ।” मैले कुरा टुंग्याउन खोज्दै भने ।
“अँ, उनैका राइंला हजुरबुवालाई पनि दश वर्षअघि डाक्टरले क्यान्सर भनेको थियो रे ! त्यहीं कालो गाईको पिसाब खुवाएर ठीक भो रे ! अहिले सम्म हुइंकाउँदै साइकल कुदाउँछन् गाउँमा । ल तुरुन्तै खोज्नु पर्यो है भान्जा ।”
होइन! कस्ले सुनाउँछ यिनलाई यस्ता नानाथरी कुरा  ? हावै हावामा चलेको देश ! एकै छिन त रिस उठेर आयो ।
यता भाइलाई झन् गाह्रो हुँदै गएको छ । “कस्तो छ ?” भनेर सोध्नु त कता-कता । खाली नानाथरि कुरा सुनेर लाद्न मात्र खोज्छन् । भगवानले पनि सोझा-साझालाई नै किन माथि लान खोज्छ ? बरु यिनलाई लानु नि !
जिन्दगी भर सम्मान गरिरहेको मामा प्रति नै रिस उठेर आयो ।
बेला-बेला घरबाट फोन आउंथ्यो । सबैले भन्थे, “घर लिएर आइज । कमसेकम हामीले त अनुहार देख्न पाउँछौ । दुई-चार दिन स्याहार गर्न पाउँछौ ।”
यता केही उपाय निस्कन्छ कि भनेर कुर्दै थिएँ म ।
अनि फेरि नेपालमा सबैको ताल त्यहीं मामाको जस्तै न हो । कसैले झारफुक भन्लान् । कसैले धामी झाँक्री । कसैले कालो गाई । कसैले सेतो गाई । कसैले गाईको पिसाब । कसैले गोबर । नाना थरि ।
काम नपाएका मान्छेहरु !
भाइलाई थाहा थिएन, उसलाई के भएको छ भनेर । हस्पिटलमा मैले सान्त्वना दिंदै भनेको थिएँ, “डाक्टरले भनेको, सामान्य भाइरल रुघा खोकी हो रे ! केही दिनमा आफै ठीक हुन्छ ।”
उसले सजिलै विश्वास गर्यो ।
अहिले सम्म उस्मा त्यस्तो अनिष्ट लक्षणहरू त केही देखिएका थिएनन् ।
उ हाँस्थ्यो । खेल्थ्यो । यता-उता डुल्थ्यो । साथीहरू भेट्थ्यो । काममा भने मैले बिदा लिन भनेको थिएँ । अब काम गरेर पनि के गर्नु ?
जति नै पैसा भएपनि उसको उपचार हुने होइन !
म भने उसको अघि पर्न सक्दिन थें । सारै नरमाइलो लाग्थ्यो । गीता पढ्थें । ओशो पढ्थें । जीवन मृत्युका प्रवचन सुन्थें । मनलाई बुझाउन खोज्थें ।
***
बिहानै दिमागमा आयो । कतै मामाले भनेको साँचो पो हो कि ?
सुनेको थिएँ, हरेक रोगको उपचार प्रकृतिले दिएको हुन्छ रे ! कतै मेरो भाइलाई निको पो हुने हो कि ? चमत्कार पो हुने हो कि ?
गाडी निकालें । बिहानै हिडें । फार्मतिर । स्यान फ्रान्सिस्कोबाट ‘ओकल्याण्ड बे ब्रिज’ हुँदै उत्तर-पुर्व तिर जाँदा, ९० माइल जति पर पुगेपछि देखियो एउटा फार्म – “ब्राउन काउ वेस्ट फार्म” ।
साइडमा गाडी रोकें । हेरें । कतै कालो लोकल गाई देखिन्छ कि  ?
पर एक हुल भेंडा, हरियो घाँसमा चर्दै थिए । अलि पर घोडाको हुल पनि देखियो ।
फेरि गाडी स्टार्ट गरें । केही अघि बढें । फार्म ठुलो रैछ, आँखैले ठम्मयाउन नसकिने ।
केही अघि बढेपछि, पर एक हुल गाई चर्दै गरेका देखिए । खुशी लाग्यो ।
लाग्यो, मैले मरूभूमिमा पानी भेटें । भगवान् नै भेटें ।
गाडी रोकें । वरिपरि हेरें ।
गाई-चरन क्षेत्र वारिपरि इलेक्ट्रीकल फेन्सले घेरिएको थियो । र, लेखिएको थियो, “सावधान! हाई भोल्टेज करेन्ट ।” भित्रपट्टि अर्को काठको घेरा थियो । सायद त्यो जनावरको प्रोटेक्सनका लागि थियो, इलेक्ट्रीकल फेन्सको ।
परसम्म वरिपरि कोही देखिएन ।
यहाँ जनावरहरू ठूलो चौरमा बार लगाएर छोडिन्छ । के गर्नु ? नेपालमा जस्तो गोठालो पछि-पछि सँगै हिंडदैन । हिँड्ने भएको भए कति सजिलो हुने थियो होला मलाई ?
यता उता गरें । कुनै उपाय देखिन । कुरिरहें । साझँसम्म कोही झुल्केन ।
भित्र पस्नु पनि सम्भव थिएन । अनि, मैले राम्रोसँग ठम्म्याउन पनि सकिन कि ती गाई लोकल थिए या विकासी ! काला थिए या राता !
झमक्क रात पर्यो । कुनै उपाय नभएपछि रित्तै हात फर्कें ।
***
अर्को दिन, फेरि बिहानै उठें । स्यान फ्रान्सिस्कोबाट क्याब्रिलो हाइवे हुँदै दक्षिण दिशा तिर लागें ।
बाटोमा मामको फोन आयो । उठाइन ।
मलाई कुनै काम अधुरो रहयो भने निद्रा लाग्दैन । त्यो काम पुरा नहुँदा सम्म छट्पटी भइरहन्छ । आज जसरी पनि कालो लोकल गाईको पिसाव भेटाउनु थियो ।
लगभग १२० माइल जति पर पुगेपछि एउटा फार्म देखियो, स्प्रिंग हिल चिज फार्म । एक जना गोरे भर्खर गाईहरुलाई दाना पानीको व्यवस्था गर्दै रैछ । खुशी लाग्यो, आज काम हुने भो । सोचें, धन्न बिहानै आएछु ।
गेट खुलै थियो । गएँ भित्र ।
उ दाना हाल्दा-हाल्दै, भाड़ो भुइँमा छोडिदियो । जुरुक्क उठ्यो र मलाइ हेर्यो । सायद, नसोधी नजानु पर्ने थियो कि ? मलाई लाग्यो ।
अमेरिका आएको दोश्रो दिन । कोलोराडोमा बस्ने काकाले मलाई फोन गरेर भन्नु भएको थियो, “अमेरिका अलि खतरा ठाउँ हो है, बाबु । कालाहरु देखि सधै जोगिएर हिड्नु । सकेसम्म रातीमा बाहिर नहिड्नु । हिड्नै पर्यो भने गाडीमा साथीलाई लिएर मात्र हिड्नु । एक्लै ननिस्कनु । अनि झुक्किएर पनि कसैको फेन्स बार भन्दा भित्र नसोधी नप्स्नु । अमेरिकाको कानुन अनुसार यदि कोहि अपरिचित व्यक्ति आफ्नो व्यक्तिगत जग्गा भित्र नसोधी पस्यो भने आफ्नो सुरक्षाको लागि गोली सम्म हान्न पाउने नियम छ । त्यसमा आफ्नै गल्ती हुन्छ । हरेक काम धेरै बिचार पुर्याएर मात्र गर्नु । थाहै नपाई ठुलो विपत आइलाग्न सक्छ ।“
म तर्सिएको थिएँ, काकाको कुरा सुनेर । स्वतन्त्रताको देश, “ल्याण्ड अफ अपरच्युनिटी” भन्दै आएको । झन् डराई डराई पो हिड्नु पर्ने रैछ !
काकाको कुरा एक्कासी फिल्ममा रिल घुमे जसरी फनन आए । सम्झेर म पनि फनन भएँ ।
“सरी सरी । आइ एम इन ट्रबल । जस्ट वान्ट टु आस्क यु अ क्वीक क्वेसन ।“ मैले हतारिंदै भनें ।
उ सतर्क अवस्थामा मलाई ट्वाल्ल परेर हेर्दै थियो । सायद, मैले लिनसक्ने कुनै खतरनाक स्टेपको लागि उ आफुलाई तयार परेको थियो ।
“व्हाट ?” उ अलिकति रिस र अलिकति दोधार मिश्रित भावमा भन्यो ।
“व्हेन डज काउ पि ?” मैले हतारमा आफ्नो कुरा राखें ।
“व्हाट ?” उ हाँसु कि रोंउ जस्तो अनुहार बनाएर भन्यो, “आर यु म्याड ?”
“नो! आइ एम सिरियस ।“ मैले गम्भीर भएर भनें, “आर दिज काउज लोकल अर हाईब्रिड ? आइ निड ब्ल्याक लोकल काउज युरिन ।”
“व्हाट द हेल आर यु टकिंग टु मि ?” गोरेले रिसाउँदै भन्यो, “डु यु वान्ट मि टु कल पोलिस, अर यु गो योरसेल्फ ?”
अनि मोबाइल निकाल्न थाल्यो ।
म त्यहाँ कुनै ठुलो घटना निम्त्याउन चाहन्नथें । सोचें, धन्न बन्दुक निकालेन ।
“सरी सरी, आइ एम लिभिंग ।“
यसो वरिपरी हेरें । सायद सयौंको संख्यामा गाईहरु थिए । वरिपरी आँखा डुलाएँ, तर कालो गाई कतै देखिन । सबै गाई टाटे-पाटे ठुला-ठुला थिए । सबै बिकासी जस्तै थिए । थुन हेर्दा लाग्थ्यो, पाँच-छ वटा मिले भने त एक ट्यांकर नै भर्छन् ।
म ढिलो नगरी हतार-हतार निस्किएँ ।
दुख: लाग्यो, पिसाब पाइएन । खुशी लाग्यो, बाँचेर फर्कें ।
अब अरु कुनै फार्म जाने हिम्मत आएन । मैले कुनै सम्भावना नै देखिन ।
सिधैं घर फर्कें ।
घर आइपुग्दा भाइलाई फेरि ज्वरो आएको रैछ ।
हामी भोलिपल्ट नेपाल फर्कने निधो गर्यौं । सोचें, बुवा-आमाहरूले त देख्न त पाउनुहुन्छ । अब यहाँपनि कुनै उपाय निस्केला जस्तो छैन ।
भाइलाई केही दिनको लागि आराम गर्न घर जाने भनेर फकाएँ । उ थकित थियो । बच्चाले जस्तो सजिलै “हुन्छ” भन्यो । सायद, उसले पनि घरको याद गरिरहेको थियो होला ! बिरामी भएको बेला कस्ले गर्दैन होला र आमाको याद ?
***
अर्को दिन घर मै आइपुग्यौं ।
भाइलाई झन् गाह्रो हुँदै थियो । ज्वरो बढेको थियो । खुट्टाहरू सुन्निन थाले । उ अलि निराश देखिन्थ्यो ।
हामी आउने थाहा पाएर मामा पहिले नै आएर बसेका रैछन् ।
देख्ने बित्तिकै भने, “ल भान्जा तल्ला घरे ठुलेकोमा कालो गाई छ रे ! लिन गइहाल्नु पर्यो । मैले भान्जालाई नै कुरेर बसेको ।”
हामी गयौं । दिउँसो भरी कुर्यों । कुरिरह्यौं ।
गाईले मुतेन । अहँ, मुत्दै मुतेन ।
माथ्ला घरे काका आए । भने, “पुच्छर उठाअर, पिसाब गर्ने ठाममा प्याट्प्याट् पारओ त मुत्छ ।”
मामा अघि सरे । उठाए पुच्छर । पारे प्याट्प्याट् । गाईले पनि एकै झड्कामा खुट्टाले पारिदियो, प्याट्ट । ढले मलखतोमा । मलाई हाँसु कि रोंउ भो ! भित्रभित्र कता-कता लाग्यो, यिनलाई अलि जोडले हानेको भए नि हुने !
काका अघि सरे । एकै छिन मसारे गाईको ढाडमा । अनि स्SSS स्SSS गर्दै, विस्तारै प्याट्प्याट् पारे । मुत्यो गाईले ।
दगुर्दै गएँ म । भाँडो थाप्न ।
बल्ल बल्ल पाइयो अमृत । खुशी भए मामा । फर्कियौं घर ।
"खुवाई हाल्नु पर्यो भान्जा । मलाई त्यसैको मात्रै आश छ ।" भुँईमा राख्न नपाउँदै घुँडा मुसार्दै मामाले भने । सायद ठुलै चोट पो लागेछ कि !
“एक गिलास गाईको तात्तातो मुत खाउ, ठिक हुन्छ मामा ।“ भन्न मन लागेको थियो भनिन ।
"आज ट्राभल गर्दा अलि एसिडिटी बढेको छ । भोलि खाउँला ।” भाइले बिस्ताराबाटै झोंक्रिएर भन्यो, “गाईको पिसाब एसिडिक हुन्छ ।”
भाइ अलि थलिंदै गएको थियो । उलाई थाहा थिएन, के हुँदै छ  ?
कता-कता लाग्यो पनि होला, यो गाईको पिसाब खाएँ भने म ठीक हुन्छु कि !
"हेर्नुस भान्जा । त्यसमा त्यहीं एसिड हुन्छ र त काट्छ नि । त्यो एसिडले ग्यास्ट्रिक स्यास्ट्रिक सब ठीक हुन्छ । सब काट्छ यसले । किरा सिरा सब मार्छ । खाई हाल्नु पर्यो ।" मामाले भाइलाई सम्झाउँदै भने, “भान्जालाई त्यहीं गाह्रो भएको भएर त ठीक पार्न खान पर्यो नि !”
म टिभी कोठातिर गएँ । भाइको अगाडि मामासँग जिद्दी गरेर बस्न मन लागेन । आखिर मामाको पनि त भान्जा हो ऊ ।
फेरि यत्रो दिनमा घर आएको थिएँ । कस्तो भएछ घर ? हेर्न मन लाग्यो ।
सुखले के बस्न दिन्थे ! भाइलाई फकाएछन् । र, आए टिभी कोठामा । मलाई खोज्दै ।
"ल भान्जा, मैले भाइलाई भनिसकें । त्यो मिलाएर खुवाउनु पर्यो । एउटा गिलास ल्याउनुस् त ।"
अब मामा-भान्जा कुरा मिलेपछि मैले के भन्नु  ? फेरि, मलाई पनि कता-कता केही गर्छ कि भन्ने झीनो आशा पनि त थियो ।
अनि सोचें, त्यो गाईको पिसाबले त्यत्रो हानि पनि के नै गर्ला र ?
मलाई भाइको बिग्रंदै गएको अवस्था देखि डर लागिरहेको थियो । उ आँखा ठुला-ठुला पार्दै थियो । अलि अर्कै लक्षणहरू देखिंदै थिए । सबै जना चिन्तित थियौं । मात्र हाम्रा हठी मामा बाहेक ! उनमा कुनै भावुकता थिएन । उनको भाव हेर्दा लाग्थ्यो, उनी अझै युद्द मैदान मै लड्दैछन् । दुश्मनलाई परास्त गर्न कुटनीति रच्दैछन् ।
मामाले आफ्नै हातले भाइलाई एक घुट्को खुवाए । भाइले मुख बिगार्यो । र, टाउको हल्लाएर नाइँको संकेत गर्यो ।
उ विस्तार बाट उठ्न खोज्यो । तर सकेन । सायद, अलि गाह्रो भयो कि !
“कहाँ त्यसरी हुन्छ भान्जा । पुरै एक घुड्को मै खानु पर्यो । त्यसपछि च्वाट्टै हुन्छ ।” मामाले भने ।
मलाई भो नखा भन्न मन लागेको थियो । भाइको अनुहार हेर्दा लाग्थ्यो, उस्का दिन धेरै छैनन् । यस्तो अवस्थामा उसलाई खुशी पार्नु र उसले भनेको पुर्याईदिनु हाम्रो दायित्व हो, मलाई लागेको थियो । अब रोगको उपचार हुने कुनै उपाय नभएपछि अरू के नै गर्न सकिन्छ र  ? जति दिन बस्छ हाँसेर बसोस्, खुशीले बाँचोस, मेरो इच्छा थियो ।
तर, विचरा ! मामाको कुरा कसरी नकार्नु ! उसले जवर्जस्ती खायो । सारै मुख बिगार्यो ।
मामा दङ्ग परे । हेरिरहें । लाग्यो होला, उनले युद्द भुमिमा विजय हाँसिल गरे । अब, उनी यो संसारको राजा भए ।
तर, उनको त्यो खुशी धेरै बेर रहन पाएन । भाइको अनुहार एक्कासी निलो हुँदै गयो । छट्पटाउन थाल्यो । दुवै हात बटार्यो । खुट्टा तन्कायो । मुखबाट फिँज निकाल्यो । टाउको छाडीदियो । र, अन्तिम श्वास फेर्यो ।


पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस