लेखक : निरज भट्टराई
प्रकाशक : ऋतुरंग फाउण्डेसन
बितरक : ऋतुरंग फाउण्डेसन
विधा : कविता
प्रथम संस्करण : २०७०, मङ्सिर
मूल्य रु : ३५०
पृष्ठ : १२०
निरज भट्टराईका प्राय सबैजसो कवितामा सूक्ष्म नाटकीय घटनाक्रमका परिकल्पना हुन्छन् जसको रचना कविले आफ्नो कुरा राख्नको निम्ति गरेको हो । त्यस अर्थमा उनका प्रत्येक कविता लघु नाटक हुन्, कथानक हुन् र उर्जाशील डायरी हुन् । ती घटना नै रुपक हुन् जसका प्रतीकात्मक अर्थ पनि हुन्छन् । प्रष्ट देखिएको चित्रभित्र पसेर पाठक कविका सूक्ष्म तर्कहरूसंगै कविताको सूक्ष्म संसार—माइक्रोकोज्म भित्र पस्छ । अनि कसैले पहिले नभनेका र नदेखेका ससाना तर गम्भीर दार्शनिक निश्कर्षहरू ऊ त्यहाँ निकाल्दै जान्छ ।
— अभि सुवेदी
पुस्तकभित्रबाट :
यौटा घरमा
लोग्ने कहिल्यै आफ्नो स्वास्नीसँग सुत्दैन
अरू कसैसँग पनि सुत्दैन
स्वास्नी कहिल्यै आफ्नो लोग्नेसँग सुत्दिन
अरु कसैसँग पनि सुत्दिन
तर,
जब जब लोग्ने फर्किंदैन कुनै दिन
स्वास्नी लोग्नेको खाटमा सुत्छे ।
नोस्टाल्जिया
शायद तिमीले भुलिसक्यौ
त्यो दिन म्युजियमको छतमा
हामीले के गरेका थियौँ
मलाई याद छ
त्यहाँ यौटा खिया लागेको ढोका थियो
मान्छेहरूले भुलिसकेका थिए
पछिल्लो पटक त्यो कहिले खुलेको थियो
भन्थे कुनै गुप्त बाटो हो
कुनै महाराजाले बनाउन लगाएका थिए
त्यै ढोकाभित्र हामीले
आ—आफ्ना छायाँहरू छोडीदिएको थियौँ
याद छ तिमीलाई ?
भैगो छोड मलाई जवाफ चाहिँदैन
सुनेको छु
आज वषौँपछि जब त्यो ढोको खुल्यो
भित्र यौटा कविता भेटियो
जसको अनुहार हुबहु तिमी जस्तै छ ।