फिरफिरे

लेखक : बुद्धिसागर
प्रकाशक : फाइन प्रिन्ट
बितरक : उपन्यास

पृष्ठ: ५३१
मूल्य:
५४२

 

फोटो    (पुस्तक अंश)

वसन्तका बाको एउटा मात्र फोटो थियो, घरमा ।

उसका जवान बा दौरासुरवाल र टोपीमा सजिएर तनक्क परेर उभेका थिए । दुवै हात लठीझैं तलतिर तन्काएका थिए । निधार ठूलो थियो । कपाल दायाँतिर छड्के पारेर कोरेका थिए । झुस्स दाह्री पलाएको थियो । गालाका हड्डीहरु उक्सेका थिए । आँखा सकेसम्म ठूलो पारेर हेरिरहेका थिए । नाक लाम्चो थियो । हाँस्न खोजेर पनि रामरी हाँस्न नसकेजस्तो मुस्कान । सायद, फोटो खिच्दा डराएका होलान् । पछाडि भित्तामा मुजा परेको कालो पर्दा टाँगिएको थियो ।

बुसर्ट लगाएका थिए । त्यसको माथिल्लो टाँक रूद्रघन्टीनेर थियो । तल धारिलो इस्त्री गरिएको पाइन्ट लगाएका थिए । उनले बटुकोमा आगोका गोल राखेर इस्त्री गरेका थिए ।

र, गोडामा चप्पल ।

‘तेरा बाको यै यौटा फोटो हो ।’ जसोदाले फोटोलाई प्रेमले छोएकी थिइन् । ‘यै फोटा छ र त अनुहार सम्झेकी छु । यो नभको भए त उहिल्यै अनुहार बिर्सिसक्थें ।’

फोटोबाट कपुरको बासना आइरहेको थियो । उसले बोलिहाल्छन् कि जस्ता बालाई अबेरसम्म हेरेको थियो । सकेसम्म उनको अनुहार सम्झनामा राख्ने कोसिस पनि गरिरहेको थियो ।

उसलाई थाहा थियो— जसोदाले एकछिनपछि फोटोलाई गाता उक्किसकेको श्रीस्वस्थानी व्रतकथाको किताबभित्र चेपेर, किताबलाई रातो तुलले बेरेर बाकसमा राख्नेछिन् । त्यसमाथि कपुरका दुईतिनटा गेडा राख्नेछिन् । र, ताला लगाएर बाकसलाई आफ्नो ओछ्यानमाथिको खोपीमा राख्नेछिन् ।

‘मेरा बा त तेरा बाभन्दा पनि राम्रा !’ उसले पवनलाई सुनाएको थियो— ‘तेरा बाभन्दा पनि अग्ला । मैले फोटोमा देखेको ।’

पवन हाँसेको थियो । उसलाई त आफ्नै बा राम्रा लाग्थे । ऊसँगै थिए । वसन्तका बा थिएनन्, त्यसैले पत्याइदिए जस्तो ग¥यो ।

‘मलाई पनि देखा है फोटो !’ पवनले भन्यो ।

‘हुन्च ।’

तर, वसन्तले कहिल्यै मौका पाएन ।  

एकदिन उसले कुनामा बसेर रोइरहेकी जसोदालाई देख्यो । उनी श्रीमानको फोटा हेर्दै सुँक्कसुँक्क गरिरहेकी थिइन् । आमा रोएको देखेर उसको मन चरक्क भयो । उसले ढोकाको चेपबाट हेर्दै मुठी कस्यो— म मेरी आमालाई कहिल्यै रूवाउन्नँ ।

जसोदाले थाहा पाइहालिन्— उसले दैलोको चेपबाट लुकीलुकी हेरिरहेको छ भनेर । उनले हतारहतार फोटो बाकसमा राखिन् । आँसु पुछेर बाहिर आइन् ।

उसले जसोदाले बाकसमा ताला मार्न बिर्सेको देखिहाल्यो ।

जसोदा दाउरा लिन करेसातिर के गएकी थिइन्, ऊ बिरालो चालमा बाकसतिर बढ्यो । काँपिरहेका हातले बाकस उघा¥यो । चिटचिट पसिना निकाल्दै तुलको गाँठो फुकायो । श्रीस्वस्थानीको पाना पल्टायो । महादेव र सतिदेवीको प्रेमकथाका बीचमा उसका बा ठिङ्ग उभिरहेका थिए । उसले फोटो तान्यो । किताब बन्द ग¥यो र तुलको जस्तो गाँठो खोलेको थियो, त्यस्तै गाँठो पारिदियो ।

फोटो समाएर गोठतिर दगु¥यो ।

 

गोठ शान्त थियो । भुइँ सुख्खा थियो । खैरे थिएन तर पनि कहीँकतैबाट गोबरको मसिनो गन्ध आइरहेको थियो । माखा भन्किरहेका थिए । डुँड सुख्खा थियो । जसोदाले पानी नराखेको वर्षौं भइसकेको थियो ।

ऊ डुँडमाथि बस्यो । तिघ्रामाथि फोटो राख्यो । हे¥यो र टोलायो । बाका गाला, नाक र ओठ कान्छीऔंलाले सुम्सुम्यायो ।

हेर्दाहेर्दा आँखा टट्टाउन थालेपछि, बाको अनुहार पनि हल्लिन थालेपछि, उसले गोठको चारैतिर हे¥यो । फोटो कहाँ राख्ने होला भनेर खुब सोच्यो । उसलाई छानाभन्दा सुरक्षित ठाउँ कुनै लागेन । छानाका खर झरी र घाम झेल्दाझेल्दै खरानी रङका भइसकेका थिए । ऊ डँुडमा टेकेर उभियो । छानाको खरलाई बीचबाट पन्छायो । बाको फोटो राख्यो र खरले छोपिदियो । फोटो राखेको ठाउँ नबिर्सियोस् भनेर एउटा काठको छेस्को त्यही छेउमै घुसारिदियो ।

र, ऊ त्यसरी टोलाएर बसिरह्यो, जसरी कुनै बेला खैरे गोरु बस्थ्यो ।  

अबेरपछि, ऊ डुँडबाट उठ्यो । आकाशमा काला बादल मडारिइरहेका थिए । घर आयो । भान्साबाट धुवाँ निस्किरहेको थियो । जसोदाले मकैको रोटी र साग पकाउने तयारी गरिरहेकी थिइन् ।

‘काँ ग थिस् ?’ उनले पिठो मुछ्दै सोधिन् ।

‘काई नाइँ ।’ ऊ कुनातिर टुसुक्क बस्यो । बाकसतिर कर्के नजर लायो । जसोदाले ताला लाइसकेकी रैछन् । सोच्यो— म भोलि पवनलाई बाको फोटो देखाउँछु ।

 

राति बेस्मारी पानी प¥यो । छाना छेडूँलाझैं गरेर असिना बर्से ।

तीन दिन लगातार पानी परिरह्यो । दिनभरि अँध्यारो भइरह्यो । मैनापुरमा बाढी पस्यो । चट्याङले सालका रुखका काप च्याते । खोला बढेर कतै जान नसकिने भो ।

तेस्रो दिन साँझपख पानी थामियो ।

चौथो दिन बिहानै आँखा तिर्मिराउने गरी घाम लाग्यो ।

जसोदा भिजेका लुगा र सामान सुकाउन थालिन् । काठको बाकसको चेपचेपबाट पानी पसेछ । श्रीस्वस्थानी व्रतकथालाई बाँधेको तुल रूझेछ । किताब पनि रूझेछ । पन्नाहरु झरीमा रूझेको पातझैं लुत्रुक्क परेछन् । पन्नाबाट नमिठो गन्ध आइरहेको थियो ।

जसोदाले हतारहतार पन्ना पल्टाइन् । लौ जा, फोटो त छैन । उनले फेरि एकएक गर्दै पन्ना पल्टाइन् । उनको सास बढ्यो । चिटचिट पसिना निस्क्यो । दिमाग धुम्म भएजस्तो भो ।

‘एई बन्ते !’ उनी जोडले कराइन् ।

ऊ आँगनको डिलमा बसेर कर्कटपाताझैं टलक्क टल्किरहेको गाउँ हेरिरहेको थियो । ऊ घरभित्र दगु¥यो ।

बाकस लथालिङ्ग देख्नेबित्तिकै उसको सातो गयो ।

‘फोटो देखिथिस् ?’ जसोदाको आवाज काँप्यो— ‘बाकसमा छैन त !’

‘मैले देख्या छैन के !’

‘यंै त थ्यो, काँ गो ?’ टुक्रुक्क बसेकी जसोदाले आफ्नो कन्चट समाइन््— ‘यो घरमा तँ छस् कि म । कल्ले लग्यो त ? फोटो आफैं हिँडेर त कतै गएन होला ।’

उसको मुटु मुख्खैमा आउलाजस्तो भो । तर, उसले आफैंलाई सम्हाल्यो ।

‘मैले ल छैन के !’

जसोदालाई के गरुँ के गरुँ भो । उनले सोचिन्— उसले पनि के लग्यो होला र ! बाकसमा सधैं ताला लगाएको हुन्थ्यो र चाबी मेरै कम्मरमा झुन्डेकै हुन्थ्यो । कतै आफैंले झिकेर राख्न त बिर्सिनन् ! उनले ओछ्यान उल्टाइन् । त्यहाँ पनि थिएन ।

‘के ट्वाल्ल परेर बस्या छस् !’ उनी झर्किन्— ‘आइज खोज त, कता गो !’

उसले घरको कुना, खोपातिर हेरेजस्तो ग¥यो । उसलाई थाहै थियो— जति खोजे पनि फोटो घरमा भेटिनेवाला छैन । उसले फोटो खोजेजस्तो गर्दै, कर्के नजरले जसोदातिर हे¥यो । उनी बहुला मान्छेले सालघारीमा लठी नचाउँदै हिँडेजस्तो घरका सामान यताउता फालिरहेकी थिइन् । ऊ जसोदाको बहुलापन देखेर डराइरह्यो ।

उनले आँसु पुछिन्— ‘त्यै एउटा फोटो थ्यो । हे भगवान !’

वसन्तको हृदयमा ग्लानिको आगो सल्कियो । चर्रचर्र गर्दै हृदय पोल्न थाल्यो । उसले सोच्यो— पवनलाई फोटो देखाउँछु र फोटो कुनामा कतै भेटेजसरी आमैलाई फिर्ता दिन्छु ।

फोटो देखेर आमै कति खुसी होलिन् !

ऊ बाहिर निस्कियो । पवनको घरतिर दगु¥यो । उसले पवनलाई बाटोमै भेट्यो । पवन जाँगेको दुवै गोजीमा हात राखेर ढल्किँदै आइरहेको थियो ।

पवन खिस्स हाँस्दै दगुरेर ऊतिर आयो । नजिक आएपछि भन्यो— ‘हिजो चिलगाडीले सर्प मा¥यो रे । घरमा झुन्ड्याएर राखेको छ रे । हेर्न जाम् ।’

वसन्तलाई सर्प हेर्न जाऊँजाऊँ लाग्यो तर आफूलाई थाम्यो । भन्यो— ‘आइज, पैला मेरा बाको फोटो हेरम् अनि जाम्ला ।’

पवनलाई वसन्तका बाको फोटोभन्दा चिलगाडीले मारेको कालो सर्प हेर्न मन थियो । ऊ अन्कनायो । उसलाई अन्कनाएको देखेर वसन्तको मन खिस्रिक्क भो । कत्ति दुःख गरेर, उसैलाई देखाउन भनेर लुकाएको, उसैलाई पो मतलब छैन ए !

‘मेरा बा तेरा बाभन्दा धेरै राम्रा छन् ।’ वसन्तले मन अमिलो बनायो— ‘नहेर्ने भए नहेर ।’

‘मेरा बाभन्दा राम्रा छन् ?’

‘हो के, ढाँटेको भए विद्यानाश ।’

‘ल त, पैला तेरा बाको फोटो हेरम्,’ पवनले भन्यो— ‘अनि सर्प हेर्न जाम्ला ।’

दुवै दगुरे । दगुर्दै गर्दा पवनले सुनायो— ‘थाह छ, हिजो राति चिलगाडी त सर्पसित लडेको हो रे । सर्प पनि बलियो थ्यो रे । सर्पले चिलगाडीलाई दुईपल्ट पछा¥यो रे ।’

ऊ पवनले बाको फोटोबारे सोधोस् भन्ने सोचिरहेको थियो । तर, पवन त चिलगाडी र सर्पमै थियो । ऊ झन् दुःखी भयो । यो संसारमा उसको बाको फोटोबारे सोच्ने र सोध्ने ऊ र जसोदा मात्र रहेछन्— उसले थाहा पायो ।

उनीहरु घरको करेसातिरबाट गोठमा पुगे ।

वसन्त डुँडमाथि चढ्यो । उसले चिह्न बनाएर राखेको काठको छेस्को जस्ताको तस्तै थियो । उसले खर पन्छाएर फोटो समायो । लौजा, फोटो त रूझिसकेछ । फुलि पनि सकेछ ।

उसको सासै अड्केलाजस्तो भयो । उसले ओल्टाईपल्टाई हे¥यो । फोटोको दुवैतिर उसका बा थिएनन् । फोटोको एकापट्टि भने अँगारको दाग बसेजस्ता धब्बा थिए ।  

उसका बालाई त असारले बगाएर लगेछ ।

‘खै, मलाई पनि देखा न !’ पवनले उसको हातको कागज खोस्यो । ओल्टाईपल्टाई हे¥यो । केही देखेन । ‘खै यसमा त क्यै छैन ।’

वसन्तलार्ई रिङटा चलिरहेको थियो । डुँडबाट खस्ने डरले थरर्र काँप्दै भुइँमा झ¥यो । डुँडको डिलमा चाक अड्याएर बस्यो र घुँडातिर झुक्यो ।

घुँक्क ग¥यो ।  

कागज समाएर पवन वाल्ल प¥यो । उसले कागज बिस्तारै उसको घुँडामाथि राखिदियो । पवनलाई नरमाइलो लागिरहेको थियो ।

‘बन्ते, फोटो नभर के भो ? तेरा बा मेरा बाभन्दा राम्रा छन् के !’ उसले मलिन स्वरमा भन्यो— ‘नरो के ।’

ऊ रोइरह्यो । पवन उसको छेउमा ठिङ्ग उभिरह्यो ।

‘म सर्प हेर्न जान्नँ ।’ उसले हिक्क ग¥यो— ‘तँ जा है !’

‘हुन्च ।’ पवनको आवाज चिसो भयो— ‘म हेर्न जान्छु । पछि सर्प कस्तो थ्यो भनेर तँलाई भन्छु है ?’

वसन्तका आँसुले भिजेका घुँडामा फेरि तात्ताता आँसुका ढिक्का खसे । पवन कतिबेला गयो, उसले थाहै पाएन । अबेरसम्म गोठमा झोक्राएर बसिरह्यो ।

वास्तवमा त्यस दिन उसका लागि बल्ल बा मरेका थिए । उनी यो धर्तीमा हुनुको केही चिनो बाँकी थिएन ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस