लेखक : लोकमणि पौडेल
प्रकाशक : गोरखा पब्लिकेसन
बितरक : उपन्यास
मूल्य: ३५० | पृष्ठ: १७६
दक्षिणतिर फर्केर हलूका भिरालोमा बसेको बर्तुन नाउँ गरेको गाउँ । गाउँको पुछारमा परियारहरुको बस्ती । आमाबाबुकी कान्छी छोरी सुनाखरी परियार आफ्नै दिदीको माइलो देवरसँग बिहे गरेर माइली बन्न पुगेकी थिई । माइलाको छाप्रो पाखाको अल्लि कोल्टे पट्टि थियो । पुर्खौली जग्गाजमीन तीन भाग लगाउँदा उनीहरुका भागमा अलिकति खेत र तेही छाप्रो भएको पाखोबारी परेको थियो । घरव्यवहारको गाडी विस्तारै गुडिरहेको थियो । गाडीको गेयर बदल्ने लोभले माइलाले विदेश जाने सूर कस्यो ।
“हेर् माइली, अब यो चिप्ले कीराको गतिमा जिन्दगीलाई कति
घिसार्नू ? छोराको भविष्य पनि सोच्नु प¥यो । म त विदेश जाने भएँ ।”
एक्कासि भनेका माइलाका कुराले माइलीको मन एकतमासको भयो । एकछिन त यो विपनै होइन कि जस्तो पनि ठानी । बिहा भएको भर्खर दुई वर्ष पुग्दैछ । काखमा वर्षदिनको छोरो । माइलीले प्रतिवाद गरी –
“यो काखे छोरालाई बोकेर मैले कसरी खेतीपाती सम्हाल्नू ? बिएको झन्को अझै मनबाट मेटिएकै छैन । यो एकलकाँटे छाप्रोमा म एक्लै कसरी रात बिताऊँ ? अरु नै उपाय सोच बूढा तर यो विदेश जाने कुरा नगर ।”
“नबुझ्नेका जस्ता कुरा नगर् माइली । गाउँकै अरु पनि विदेश गाको देखेकै छस् क्यारे । तँ सिलाई बुनाईमा पनि सिपालु छस् । बरु म जानुभन्दा अगाडी एउटा हाते सिलाई मेशीन किन्दिम्ला । खेत दाईभाईले अधियाँमा कमाइहाल्चन् । तैंले दुःख नगर् । तँ सिलाउने काम गरेर घरैमा बस् ।”
माइलाको दृढनिश्चयका अगाडी माइलीको केही शीप लागेन । गाउँका अरु पनि विदेश गएको देखिरहेकी थिई । आखिरमा माइलो पनि जिन्दगीको गति बढाउने सपना बोकेर इराक हुर्रियो ।
दश–पन्ध्र दिनमा माइलीको मोबाइलमा माइलाको घण्टी बज्थ्यो । माइलाको सुमधुर बोली माइलीका कर्णकुहरमा सङ्गीत झैं वर्षन्थे । केहीबेर घरव्यवहारका कुरा हुन्थे । माइलीलाई पीर नपरोस् भन्ने उद्देश्यले माइलाले कहिल्यै पनि आँफूले गरिरहेको काम र दुःखका बारेमा खुलाएन ।
+ + +
“माइली ! के गर्दै छस् ?”
जेठाजू बोल्दै माइलीका छाप्राभित्र पस्यो । माइली बिहानको खाना बनाउँदै थिई । छोरो झोलुङ्गामा निदाइरहेको थियो । माइलीले आफ्नो काँधबाट चिप्लिएको धोतीको सप्कोलाई मिलाई । एकातिर दिदीको लोग्ने भएकाले भिनाजू र अर्कातिर लोग्नेको दाजू भएकाले जेठाजू । जेठासँग दुइटा नाता थिए माइलीका । तर बोल्दा चाहिँ भेना नै भन्थी ।
“माइलाको खबर के छ त नि ? फोन ग¥या छ कि नाईं ?”
“ठीकै छ भेना । कहिलेकाहीं फोन अर्नुन्च । चिया बनाम् भेना ?”
“बना न त । तेरा हातको चिया नखाको पनि निकै भयो ।”
“के को निकै हुनु नि ? दुई दिन त भयो होला ।”
“क्यारम् त नि ? त्यै दुई दिन नि आँफूलाई वर्षदिन जस्तो लाउँच ।”
माइली चिया पकाउन थाली । झोलुङ्गामा छोरो चल्मलायो । जेठाले छोरालाई झिकेर खेलाउन थाल्यो । माइलीले चियाको कप जेठाको नजीकै राखिदिई र छोरालाई काखमा लिई । छोराले आमाको काखमा पुग्नासाथ गन्ध चिनेर होला छातीमा हात डुलायो । माइलीले भित्तातिर फर्केर चोलाको तुना खोली र छोराको मुखमा दूधको मुन्टो राखिदिई ।
“के कति कामले पाल्नुभ’को थियो कुन्नि ?”
“यो काखेबालोलाई ले’र तैंले खेतीपाती गर्न सौदिनस् । त्यो पखरखेत चाइँ कान्छालाई कमाउन दे, अनि बगरको खेत चाइँ मै कमाउँचु । एति भन्न अनि तँलाई देख्न पनि हो आ’को । एकदिन नदेख्दा के बिरियो के बिरियो हुन्च।” जेठाले बोल्दै गर्दा लाग्थ्यो उसका आँखाले चाहिँ माइलीलाई निल्दै छन् ।
“भैहाल्च नि भेना । अधियाँमा जति मेरा भागमा पर्च मलाई त्यै भए पुग्च । विदेश जाने बेलामा उहाँले नि मलाई यै भन्नुभा’को थियो ।”
+ + +
दशैंको टीको लाएपछि तिहारको टीको नथापीकन विदेश छिरेको माइलाले पहिलो वर्ष भएकाले यो पालि दशैं बिदा पाएन । विदेश जाँदा ससुरालीले हालिदिएको पचास हजार र केही घरखर्च चाहिं पठाइदियो । माइलाले यो पालिको दशैं टीका नलगाई बित्ने भयो भनेको सुन्दा माइलीको मन चस्कियो, आँखा रसाए, बोली लर्बरियो ।
“मलाई नसम्झे नि छोरालाई त सम्झन्चौ होला नि ?”
“के भनेकी तेस्तो ? तँ त मेरो सास बनेर बसेकी छस् । छोरो चाइँ बूढेसकाल को आश हो । दुवै नाचिर’न्चौ मनमा । मलाई पनि आउन मन छैन होला र ? सपनामा आएर सताउनेलाई विपनामा सताउने मन छ नि मेरो पनि । तर के अर्ने अफिसले पैलो वर्ष भनेर यो वर्ष बिदा दिएन ।”
“तिमी पनि त मेरो मुटु हौ नि । जतिखेर पनि भित्रभित्रै चलेर हैरान पार्छौ । तिम्लाई मअसूस अर्न छातीमा हात लान्चु । तिम्रो अत्याट ला’यो र बोली तेस्तो भो । माफ अर है कालू ।”
“भनिराख्नै पर्दैन नि सानू । मैले बुझ्दिन होला र ? बरु छोराको खबर के छ ? सुन्न मन छ । छोरो त बोल्न थाल्यो होला नि ? छोराले बाबाऽ . . . ! भन्छ कि भन्दैन ?” छोरो वर्षदिन को हुँदानहुँदै विदेश हुर्रिएको माइलाको अगाडी छोराको उही छोड्ने बेलाको अनुहार हाँसिरहन्थ्यो ।
“किन भन्दैन’थ्यो ? भेनाले बाबा भन्न सिकाएचन् । उनी आउँदा ‘बाब्बाब्बा !’ भन्दै उनकै पछि लागिरन्च । बाबुको बोली सुन्चौ ? बाबु यैं सँगै छ । मोबाइलमा मेमोरी कम भएर होला भिडियो खिच्न चाइँ मिल्दैन । अर्को मोबाइल किने’सि बाबुको भिडियो पनि पठाम्ला ।”
“हुन्च । सुना न त । छोराले बाबा भनेको सुन्ने धोको छ ।”
माइलीले मोबाइलको स्पीकर अन गरी र छोरालाई मोबाइलमा भएको भेनाको फोटो देखाई । माइलीलाई थाहा थियो, छोराले आफ्नै बाबुलाई चाइँ चिन्दैन। मोबाइलमा फोटो देख्नासाथ फुच्चे कराउन थालिहाल्यो– ‘बाब्बाब्बा !’ उता माइलो छोराले बाबा भनेको सुनेर भक्कानियो र बोल्न नसकेर फोन काट्यो ।
+ + +
साँझ पर्नै आँटेको थियो । जेठो आँगनमा देखियो । हातमा प्लाष्टिकको झोला थियो । माइली पिँढीमा बसेर कपडा सिउँदै थिई ।
“कताबाट भेना एतिबेला ?”
“बजार ग’को थिएँ । यो दशैंमा तँलाई के दिऊँ के दिऊँ भयो अनि यो सारी ल्याइदे’को । छोरालाई टिसर्ट पनि छ ।” हातको झोला अगाडी बढाउँदै जेठो बोल्यो ।
“किन दुःख गर्नुभा भेना ?”
“आफ्नी सालीलाई उपहार दिनु पनि दुःख हो र माइली ? बरु बाटुलीले सोधी भने मैले किन्देको चाइँ नभनेस् नि । यो अल्लि महँगो खालको हो ।” जेठाजूले झोला दिँदै गर्दा माइलीको हात जानी जानी छोयो । माइलीलाई भेनाको कुरा र स्पर्शको अर्थ बुझ्न समय लागेन । पुरुषले कुन मनशायले छुँदैछ भन्ने कुरा महिलाले सजिलै बुझ्छन् ।
माइलीसँगको त्यो व्यवहार पहिलो थिएन । बाटुली माइलीकी सहोदर दिदी । माइलीको बिहे नहुँदैदेखि भेनाका आँखा साली माथी थिए । भेनाको कुराले माइली हच्की । उसलाई लाग्यो, ‘माइलालाई विदेश जान उक्साउने कतै इनै भेना त होइनन् ?’
“तेसो भए त माफ गर्नू भेना, म यो लिन्नँ । आनै दिदीलाई ढाँट्नु पर्ने उपहार पनि के लिनु?”
“तेसो नभन् माइली । भन्न त गुन्द्रुकलाई पकाउनु पर्दैन सालीलाई फकाउनु पर्दैन भन्चन् तर तँ त कुन्नि कुन माटाले बनेकी होस्, अल्लि टेढी छस् । मेरा कुरा मानिस् भने रानी हुन्चेस् । मानिनस् भने दुःख पाउँचेस् ।”
“ठीक भन्नुभो भेना म अल्लि टेढी नै छु । यो दिदीलाई लुकाएर दे’को उपहार चाइँदा नि चाइन्न र मलाई रानी हुनु नि छैन । मसँग अब आइन्दा एस्ता कुरा नगर्नु भेना । भन्द्याछु ।” माइलीले प्लाष्टिकको झोला जेठाजूलाई नै फर्काइदिई । छोरो चाहिँ भित्र सुतिरहेको थियो ।
“लाए ला, फाले फाल् ।” हातको झोला पिँढीमै छाडेर जेठो हिँड्यो ।