अक्षर अक्षरमा देश

लेखक : दीपक समीप
प्रकाशक : बी एन पुस्तक संसार
बितरक : मुक्तक

मुक्तक - १


टुप्पोबाट पलाउनेको बलियो जरो होस् भन्छु
मलाई सताउनेको पनि सधै भलो होस् भन्छु
अरुको प्रगति देखेर उ तनाबले बिरामी भएछ
हे दैव ! उसको बिमार चाँडै सन्चो होस् भन्छु ।


मुक्तक -२


पासो नै सहि उन्को प्रेममा अल्झिने रहर छ
छ न त जूनिभर उनिसँगै जोडिने रहर छ
अरे! कोहि त आऊ मलाई सहिद बनाईदेऊ
उनकै घर अघि शालिक भई उभिने रहर छ।


मुक्तक -३


सुखमा सबै ठिक लाग्छन् यो परिवेश मन्दिर लाग्छ
दशा चल्दा आफ्नै बार्दली पनि छङ्गाछुर भिर लाग्छ
आमा हुँ , समय खराब छ तिमी आफ्नो ख्याल गर
घरबाट निस्केकी छोरी , घर नआइन्जेल पिर लाग्छ ।


मुक्तक- ४

झरीमा आफ्नो छाता अरुले नै ओढेर गइदिए
जानेले झन जान्छु पनि नभनी छोडेर गइदिए
अचेल मन्दिर बाहिरको शिला झैं भएको छु म
कसैले कुल्चेर गइदिए , कसैले ढोगेर गइदिए ।

 

मुक्तक- ५

विचमा छोडी जानेलाई थोरै पश्चाताप भैदिए हुन्थ्यो
बस्नेको पनि अन्तिम बेलासम्म साथ भैदिए हुन्थ्यो
धस्नेले यो छातिमा छुरा निकै गहिरोसंग धसेकै हो
उनको सम्झना आउनलाई पनि दाग भैदिए हुन्थ्यो ।


मुक्तक- ६

उनले आरिसको बेलुन बेसरी फुलाएछन्
भुइँको टिप्न खोज्दा पोल्टाको गुमाएछन्
मेरो अगेनोबाट उनले आगो चोरेर लगेथे
थाहा भयो लगेर आफ्नै धुरीमा लुकाएछन्।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस