सबैभन्दा पहिले पुग्नु छ
गाउँका चौतारी र भन्ज्याङहरूमा
जहाँ मेट्नु छ
केतुकेका पात र मन्दिरका भित्ताहरूमा
लेखेका अश्लील शब्द र सायरीहरू
हुलाक बाटै फिर्ता पठाउनु छ
गाउँको पूरानो ठेगानामा
पूर्वप्रेमिकाले पठाएका केही पोस्टकार्ड र
केही थान रगतले लेखेका प्रेमपत्रहरू
दुस्खमा चलाएको अर्मपर्मको साइनो बिर्सेर
खेतको कुलोको झगडाले पानी बाराबर भएका
छिमेकी संग खोल्नु छ सम्बन्धको नयाँ ढोका
पार्टीको झोला बोकेर
देश बन्ने ठूला सपना देख्ने दौंतरी नौजवानहरूलाई भन्नु छ
अर्काको गुलामी गरेर तलुवा चाट्दैमा बन्दैन देश
देश बनाउन आफ्नै विवेकले खियाउनु पर्छ दशनंग्रा !
चौतारोमा बसेर गाउँका छोरी बुहारीको शरिरको क्षेत्रफल नाप्दै
महिला अधिकार र समाज परिवर्तनका चर्का कुरा गर्ने
समाजसेवीहरूलाई सोध्नु छ, कहिलेकाहीँ ऐना हेर्ने गरेका छौ?
चुनाव आउँदा मात्रै गाउँ फर्कने नेतालाई सोध्नु छ
कहिले सम्म समतामूलक समाजको नाममा
मान्छे भिडाएर भोट माग्छौ र बेचिरहन्छौ युवा विदेश?
सोध्नु छ गुरूलाई
जसले मेरो जीवनको बाटो सिकाए
खराब बाटो हिड्नेहरूलाई, असलमार्ग देखाएकोमा पछुतो लाग्दैन?
सिकाउनु छ बोडस बसेकी छोरीलाई
दुधको साक्षी विरालो भएर
साखुल्ले हुंदै घाटी रेट्ने धेरै हुन्छन्
गाह्रो छ छोरी समाजमा छोरी भएर बाँच्न!
सम्झाउनु छ कलेज पढ्ने छोरालाई
गल्ती नै गरे पनि जीवनमा
आफ्नै विवेक र बर्कतले गर्नू
कठघरामा उभिनै परे पनि जवाफदेही हुन सकियोस !
परिवारको इज्जत र समाजको मर्यादाले
स्वतन्त्रता र खुसी वन्धकीमा राखेर
पीडाको आहालमा जिन्दगी जिएकी बहिनीलाई भन्नु छ
नानी, आफ्नो खुसी र स्वतन्त्रताका लागि
कुर्वानी दिनु परे पनि पछी नपर्नू ।
जिन्दगी भर पीरले थिचिएकी दिदीलाई
शिक्षा नपाएको भागमा दिनु छ बाको जिउनी
फुलाउनु छ दिदीको मुहारमा मखमली खुसी
महाभारतका पर्वहरू घोकेको मेरो भाइलाई
पढाउनु छ रामायणका केही श्लोकहरू
भेट्नु छ बा समानका दाइ र
आमा समानकी भाउजूलाई
संगै अदालत पुगेर फिर्ता लिनु छ
भाईअंशमा परेको मुद्धा
जिम्मा लगाउनु छ पैतृक सम्पतीको लालपुर्जा !
स्वास्नी ल्याएर टाढा भयो भन्ने सोचेकी आमालाई
भन्नु छ, परिस्थिती नै सबथोक रहेछ आमा !
आमाको काखलाई सिरानी बनाएर
फुकाउनु छ दुस्खका ननिका गाँठाहरू
बगाउनु छ केही आँसुका नदीहरू
धनदौलतको अहंकारले पर पुग्यो, भन्ने बुझेका बुढा बालाई सोध्नु छ
बा, पढेर कहिल्यै नसकिने बुझेर कहिल्यै नसकिने
यो जिम्मेवारीको किताबको भारी मलाई बोकाएर
कस्तो अग्निपरिक्षा लिनु भो?
किन हेर्नु भो रमिता ?
सम्बन्धविच्छेदको पत्रमा
हस्ताक्षर धस्काएर बसेकी श्रीमतीलाई
दुस्खसुखमा ओत लाग्ने पिपल बनौला भनेकी तिमी
जिन्दगीमा कि जितिन्छ कि सिकिन्छ
एकपटक अनुरोध गर्नु छ
संभव छ भने अन्तिमचोटीलाई मौका देऊ ।
पुग्नु छ बैंकको माथिल्लो तलामा
भेट्नु छ ऋणशाखाको अधिकृतलाई
केही बक्यौता थमौती गर्नु छ
फुकुवा गर्नु छ लिलामीमा परेको घर
जोगाउनु छ पुस्तौनी खानदानको जरो
धन्यवाद दिनु छ देशलाई
म जस्तो असक्षम नागरिकलाई पत्याएर
सहजै नागरिकता र राहदानी प्रदान गरेकोमा ।
जिन्दगीको लामो रेसलाई टक्क लगाम लगाएर
उभिनु छ यौटा ठूलो ऐना अघि
पुछ्नु छ अनुहारको चाया
र फेर्नु छ लामो सास
कहिल्यै फेर्न नपर्ने गरी ।