मेरा ओठहरुले प्रार्थनाका गीत गाइरहेछन् ।
तिमीलाई बोकेर कुदेको एम्बुलेन्सले
जब बजायो विरहको साइरन
चोकमा उभिएका मेरा आँखाहरु भिजे
सँगै दौडेका हाम्रा यादहरु रुझे
भूतहरुको शहरबाट आगो बोकेर आएको मान्छेजस्तो
म तातिएँ, जलनहरुले
छातीको आगोलाई सुरक्षित राख्दै
तिम्रो मुहारमा लालुपाते फुलोस् भनेर
मैले आँसुको लय सिञ्चन गरेँ
कतै सुन्यौ ?
मेरा ओठहरुले प्रार्थनाका गीत गाइरहेछन् ।
म समय र घडीलाई भन्दा
तिम्रा परेलाहरुलाई विश्वास गर्छु
अहँ, तिमीले आँखा चिम्लने बेला भएको छैन
धैर्य गर,
चन्द्रमा काँधमा बोकेर रातभर
हामी चाँदीको जंगलैजंगल हिँड्न बाँकी नै छ
हिँड्न भुलेका गोरेटाहरु सम्झेर
सुस्ताउन बाँकी नै छ
मैले आफूलाई बेस्सरी गाली गर्न
र तिमीलाई औधी माया गर्न बाँकी नै छ
कतै सुन्यौ ?
मेरा ओठहरुले प्रार्थनाका गीत गाइरहेछन् ।
धूलोले ढाकिएको शोकमग्न पुस्तकालयजस्तो
अस्पतालको शैयामा बसेर
गाह्रो भएकै होला तिमीलाई,
जिन्दगीको किताब पढ्न
तिमी आफैँलाई थाहा छ,
चोटहरुलाई कसरी सम्हाल्ने हो ।
निराश नहुनू,
मृत्युको उपत्यकामा पनि त
हरिया पातहरु हल्लिरहेका छन्
मेरो प्रिय मान्छे,
तिमी फर्किएपछि जाने हो हामी
चरा उडेभन्दा परको पहाडसम्म
घाम अस्ताएभन्दा परको क्षितिजसम्म
र, नुन पोखिएको समुद्रको आँगनसम्म ।
यो बुझ्नू,
तिमी फर्र्किएपछि लाजहरु लजाएर भाग्नेछन्
रिसहरु तलको नदीमा बग्दै जानेछन्
प्रिय मान्छे,
आऊ, हाम्रा सबै भ्रमहरु
घामको अगेनामा जलाऔँ
आऊ, हाम्रा सबै रहरहरु
प्रेमको बोटमा फलाऔँ ...
चिच्याउँदा चिच्याउँदै
निमजस्तै तितो भइसकेको छ
मेरो आवाजको हाइनोट
कतै सुन्यौ ?
मेरा ओठहरुले प्रार्थनाका गीत गाइरहेछन् ।