झरी पर्दा बाछिटाहरुले
हिर्काइरहन्छन्
ढोका अघिल्तिरको बार्दलीको रेलिङ्
बिस्तारै सङ्लिन्छन् बाछिटाहरु
रेलिङ्मुनि उदाउँछ पानीको खुर्पे जून
तुर्लुङ्ग झुण्डिएको त्यो खुर्पे जून दायाँ सर्दै सर्दै जान्छ
र बढ्दै बढ्दै जान्छ त्यसको आकार
पानीका कणहरु सङ्लिएर रेलिङ्मुनि फेरि नयाँ जून उदाउँछ
र पुरानो जूनलाई पच्छ्याउन थाल्छ
सर्दै सर्दै, बढ्दै बढ्दै ती पानीका थोपाहरु
एक एक गर्दै
पूर्णेजून बनेर खस्छन् रेलिङ्बाट तऽऽल
औँसीदेखि पूर्णिमासम्मका सबै सङ्ला रातहरुलाई
एउटै भित्तमा टाँगिदिएजस्तै
मेरो बार्दलिको रेलिङ्गभरि जूनहरुको लस्कर लाग्छ
मेरो बार्दलिको रेलिङ्गभरि जून
जीवनको सुन्दर यात्रा गर्छन्
हत्केलामा थापेर पिइदिनु त एक थोपा जून
कस्तरी उज्यालो बल्छ मनभरिको आँगन!
यसरी पानीका अनगीन्ती कणहरु सङ्लिएर
बनेको यौटै थोपाभित्र
कुन कुन ठाउँबाट उठेको वाफ होला?
कहाँ कहाँको स्वाद मिसिएको होला?
यौटै थोपाले पनि संसारका कत्ति कथा भन्ला
यौटै थोपामा पनि संसारको कत्ति भूगोल अट्ला
यौटै थोपाभित्र बस्ला कति थरी माटोको सुस्केरा
टोलाउनु झरी पर्दा
झ्यालमा बसेर झरीको सङ्गीत सुन्दै टोलाउनु
या रुझ्नु निस्केर बाहिर
खेल्नु, कुद्नु, उफ्रनु बेफिकर
फर्काउनु आकाशतिर अनुहार
पानीको स्वाद लिनु, माटोको बास्ना
या हेर्नु बरण्डाबाट नुहाइरहेका रुखहरुको नखरा
निथ्रुक्क भिजेका फूलहरुको लाज हेर्नु
तर नबस्नु
बन्द गरेर घरको झ्यालढोका
टम्म थुनेर हृदयको आँखा
आलमारीका किताबसरी
मृत अक्षर टाँसेर मानसभरी
भित्र नबस्नु ।