आफ्नाहरुकै स्नेही आँखामा
कसले भरिदियो
व्यभिचारको रापिलो दृष्टि ?
(जसका लाल-आँखा देखेर म गिद्ध सम्झिन्छु)
ऋतुस्नानपछिको सुवासिलो यौवन
केशसँगै फिँजाएर सुकाउन सक्दिनँ
कतै घामका किरणसमेत
बेइमान बनिदिने हुन् कि !
आफ्नै आभा र सौन्दर्य पनि
चिसो डर बनेर पस्छ मनभित्र
साँझ त अर्को विम्ब बनेको छ त्रासको
यहाँ जाल थापेर बसेका छन्
वासनाका सिकारीहरु
कुरिरहेछन्– दोबाटो, एकान्त र गल्लीहरु
ढुकिरहेछन्– जसरी ढुक्छ ब्वाँसोले सिकार
हरेकको नजरमा घोलिएको देख्छु तेजाबको रङ
तिनको हेराइले मात्रै भतभती पोलिरहन्छ
यता समाचार भन्दैछ–
चोभारको पुलमुनि भेटियो रे
काकीको च्यातिएको फरिया
आफ्नै संगी जलिन्
पुंसत्वको सामूहिक लाभामा
पाँचवर्षे भाइले समेत जोगाउन सकेन
आफ्नै लागि अपरिभाषित कुमारत्व
मिडिया सिरिजमा प्रोडक्सन गरिरहेछ
बिकाउ हेडलाइन र प्रतीकात्मक तस्बिर
जसलाई हेर्न सरकार अझै ब्युँझेको छैन
जाहेरी नआएको भन्दै प्रहरी उँघिरहेको छ
बरु मूर्तिले आँखा खोलिसक्यो
अदालत न्यायको तराजु देखाएर
आँखामा पट्टी बाँधिरहेछ ।