तिम्रो र मेरो दूरी
मेरो ओठमा च्यापेको
चुरोटको आगो र मेरो ओठ बीचको
सल्किन बाँकि चुरोटको लम्बाई जत्तिकै छ,
मेरो बाँच्नु
त्यही चुरोट सल्किन लाग्ने समय हो,
धुवाँ, खरानी र हरेक सर्कोहरूबाट निस्कने सन्तुष्टिभित्र
छु कतै म रुमल्लिएको !
तानौं लामो सर्को
म सकिन्छु
अलि छिटो सायद
न तानौं, र पनि सकिन्छु
जलेर
या कुल्चिएर कसैको पैताला मुनी
फरक मात्र समय हो
त्यही समय खरानीमा फेरिन्छ
र खरानी स्मृतिहरूमा !
दूरी छोटो
लामा लाग्ने सपनाहरू पनि उस्तै छोटा
न छोप्न सकिन्छ हातमा
न सजाउन मन भित्र
यी आकारहिन
धुवाँ जस्तै सपनाहरू ।
रहरहरू छन् सल्किन
आशाहरू छन् डोर्याउन
डर, घृणा, माया
र केही उदेश्य छ
सबैभन्दा धेरै त भ्रम छ
अजम्मरी हुनुको,
निख्रिदै निख्रिदै आइरहेछु
म तिमी तिरै
नरहनू केही तिमी हुनु रहेछ - मृत्यु !