मूलबाट छुट्छ
समुन्द्र घर पनि हैन
पानी के खोज्न भाग्छ?
भागेर कोहि घर जान्छ?
भाग्नु परिचयबाट हो
टाँंसो लगाइएको
भागेरै रोज्न मिले किन नभाग्ने?
अनन्तमा मिल्नेहरु नामेट हुन्छन्?
कि नयाँ परिचय भेट्टाउँछन्?
नामेट हुने ठाउँ घर हुँदैन, गाउँ हुँदैन
त्यो बरु सहर हुन्छ।
भागेर सहर जानुपर्छ
नामेट हुनुपर्छ, सहर हुनुपर्छ।
भागेर कोहि गाउँ जान्छ?
अस्तित्वको एकमात्र नियम
अस्तित्वको बदलाव हो
परिचय भत्काउनेहरु हुन् अस्तित्वका संरक्षक
परिचयका संरक्षक त
झरेका पुच्छर लिसो लगाइलगाइ ढाडमा टाँस्छन्।
रौँंबराबर तौल नदिने प्रेमलाई
काँचो धागो खिँच्ने मित्रतामा
त्यो कतै आफ्नो हुन्छ?
हो भने मूल छोड्नुपर्छ
समुन्द्रमा कुन कण छुट्याएर यो कोशी यो कर्णाली भन्छौ?
अनन्त खोज्न , नामेट हुन भाग्नेहरु बहादुर हुन्।
उदेकलाग्दा दोहोर्याइहरु
उराठलाग्दा गोरेटोहरु
अर्तिका भरिया
ढाड बङ्गाउँछन् निहुरिएरै
बिचरा!
बिसाउनुको आनन्द के थाहा।
किचिएरै मर्छन्
नकिचिनेहरु दुश्मन भैगए।
सहर पनि होला
तर अस्तित्वको नयाँ प्रारूपमा
जराको आवश्यकता हुन्न
उडी जाने पंक्षीले आफ्ना पँखेटामा गौरव गर्नैपर्छ।
एक जोडी गौँथली गाउँ फर्कियो
देखिसहेन कसैले
प्रेमले बनाएको गुँड
न ढुङ्गा सहन सकियो
न प्यारीका दुख
फुल फुटाए
गाउँ जाउँ धेरैको हूलमा मिसिउँ
आफ्नो परिचय मेटाइदिउँ।
बाटैमा भेट होला एक जोडी मान्छे
सहरतिर गैरहेका
न भत्कियो कि उनिहरुको पनि गुँड?
एउटै कित्तामा छन्
सबै परिचय छाड्नेहरु
अस्तित्वको कपडछान भैरहेछ
दुखीहरु,
अनन्तका यात्रीहरु।
जीवन छाडेर जाने अनन्त
झन् भिमकाय
मृत्युका उपासक कोहि हैन
तर भयानकताको स्विकारोक्ती नै
प्रेमको पूर्ण उद्बोधन हो।
प्रकृतिको मूक इशारा छ
आफैँलाई बिर्सनुको
दुख झेल्नुको
यहि गञ्जागोलमा भाग्नुको
भाग्नु नै प्रकृतिको संरक्षण हो भने।
तर यो बेवास्ताको बानीमा छेलिएर
पंक्षीका बिलाप नसुनेर
म भने
कायरझैँ भागेर घर फर्किरहेको छु!
भागेर कोहि घर जान्छ?