फैलाएर आआफ्ना हाँगाका हात
एकअर्कालाई अंगालो मार्छन् रुखहरु
क्षितितमा बादलको पर्दा उघारेर
हरेक बिहान उदाउँछ कलिलो घाम
कोरस गाउँदै हावाको कोमल स्पर्शले
घामलाई हत्केलामा राखेर नाच्छन् पातहरु
दुवै किनारका चोर औंला समातेर
ताते-ताते गर्छ नदीमा तिर्खा
हजारौं जोडीहातको कुटो र कोर्रा सहेर
उमार्छ माटोले भोक
कैयौं जुनि फेरियो अझै जवान छ पृथ्वी
कसैले सोंचेको छ ?
आकाश खस्यो भने के हुन्छ ?
घामले नलाग्नु हो भने के हुन्छ ?
हावा रोकियो भने के हुन्छ ?
मुहान सुक्यो भने के हुन्छ ?
जमिन रहेन भने के हुन्छ ?
मान्छे
जसको आयु
पृथ्वीको एक कण बराबर छैन
उसँग के घमण्ड गर्नु हामीले आफ्नो आयुको
नङले कोट्याउँदा पनि माटोले चुपचाप सह्यो
र खन्न खोर्सन थाल्यौं हामीले जमिन
बोरिङको सुई लगाएर
तान्न थाल्यौं पृथ्वीको नशा नशाबाट पानीको रगत
निकाल्न थाल्यौं कोइला फलाम र युरेनियम
गर्यौं अंशबण्डा आआफ्नो नाममा जमिन
कोर्यौ सिमाना
झिक्यौं लिङ्ग, जाती र धर्मको नाममा अनेक बखेडा
र लड्यौं एक आपसमा हामीहरू
दुश्मन ठानेर निकाल्यौं भाईको आँखा
पराई सम्झेर थुत्यौं दाईको जिब्रो
खसाल्यौं बम सुन्दर युवतीजस्ती पृथ्वीको चुल्ठोमा
बनायौं मुस्कान फुल्ने ओंठलाई मरुभूमि
यस पृथ्वीको हामी फगत पाहुना
पृथ्वी छउन्जेल त बाँचौंला
त्यसपछि..........?
शीतको थोपा
केवल पातमा रहिन्जेल मात्र सुन्दर देखिन्छ ।