बुद्ध

लेखक
परिविक्रम
नाम : परिविक्रम
  परिविक्रमका रचनाहरू

यसरी अशान्तिको आगोले

पतकर जसरी मानवता जलाइ रहँदा

सलेदो जसरी अमन, चयन सिध्याइ रहँदा

मलाई पनि मन लागेको हो,

शान्तिका अग्रदूत बुद्ध बन्न ।

 

यशोधरा जस्ती श्रीमती मेरी पनि छिन्

राहुल जस्तो छोरो मेरो पनि छ

विश्वका लागि बुद्ध बन्न आँटी सकेपछि

घर, गृहस्थी छोड्नै लागेको थिएँ ।

 

झर्लक्क सम्झिएँ,

यसरी त कसरी हिँडूँ बुद्ध बन्न

आफ्नै परिवारमा कोलाहल मच्चाएर

 

अस्ति दिनभरि मजदुरी गरेर ल्याएको चामल

आज बिहानको एक छाकलाई मात्र पुग्छ

भोलि जोतेर भ्याए पछि मात्र साहुको खेत

छोरोले एक हप्तादेखि भनेको कलम किन्न सकूँला

 

धत्तेरी !

बुद्ध बन्न पनि राजाकै छोरो हुनुपर्ने रहेछ ।

पाठकको प्रतिक्रिया
अन्य कविताहरू