ए सूर्य किन देख्दैनस तँ ?
एउटै पाठेघरको बराबर वेदना ।
साथी,
तिमीले सगरमाथा चुम्दा
भर्खर
म छोरी हुँ भन्ने
थाहा पाउँदै थिएँ
त्यसैले त होला
जन्म जातै
तिमीलाई उज्यालो दिन थमाइयो
मलाई अँध्यारो रात थमाइयो ।
धर्ती भन्दा कैयौँ गुणा ठुलो सुर्यले
आफ्नो लोग्नेसँग ज्युँदै
जल्दै गरेको
सिउँदो किन देखेन ?
रित्तो गिलासमा यौवन निचोर्न बाध्य
साँहिलीको भाग्य
किन देखेन ?
सायदै
उसले सम्झिएन होला
रज खुलेको भोलीपल्टै
मलाई घुम्टो ओडाइएको ।
ती अँध्यारा छाउगोठका ढोकाभित्र
किन सूर्य कहिल्यै चिहाउँदैन ?
जिन्दगीभर चुल्हो मात्र
लोटाइरहेका जीवनहरुमा
किन उज्यालो कहिल्यै पुग्दैन ?
सायदै उसले
सुनेन होला कालकठोरीमा
चिच्याइरहेका झुमा अनि देउकीको पिडा ।
तिम्रो मात्र हैन साथी,
लाली गुराँसको रङ्ग
मेरो आँखामा पनि छ
सगरमाथा र रारा
मेरो पनि मुटुमै छन्
म पनि सक्छु
सिमानामा वीरताका झिल्काहरू
छर्नलाई
च्यात्तिएको झण्डा सिलाउनलाई ।
साथी,
मैले पनि लडेकै हुँ
समयको जनयुद्व
मैलै पनि थामेकै छु
समाजको एउटा पाङ्ग्रो
आजसम्म पनि त्यागेकै छु
रातोचोली
फुटाकै छु रातो चुरा – पति शोकमा
तिमीचाँहि
खुट्टा र जुत्ताको उदाहरण दिँदै हिड्छौ–
पत्नी शोकमा ।