सधैं मनमा आइरहन्छ
एउटा अनुत्तरित प्रश्न,
घुमाइरहन्छ मथिंगल
के साँच्चै नै पुरुषहरु सुन्दर हुदैनन् ?
किन लाग्दैन कसैलाई
पुरुषको ओठ पनि गुलाबी हुन्छ ?
किन सक्दैन कुनै कलमले पनि
पुरुषसौन्दर्यको तारिफ गर्न ?
र, किन डराउँछन् कविहरु
कवितामा पुरुषसौन्दर्यको बिम्ब उतार्न ?
कस्ले भनिदियो होला
पुरुषहरु घाम जस्ता न्याना हुँदैनन् !
किन लाग्छ पुरुष पनि जूनजस्तै शीतल
वा, फूलजस्तै कोमल हुँदैनन् !
के पुरुषको मन चाहिँ
आकाश जस्तो फराकिलो
र, सागर जस्तो गहिरो हुँदैन !
किन गरिँदैन
पुरुषका अङ्ग अङ्गको तारिफ ?
के पुरुषको केश रेशमजस्तो नरम र
बादलजस्तो कालो हुँदैन ?
के तरंग दिँदैन पुरुषको स्पर्शले ?
किन लाग्दैनन् कसैलाई
पुरुषका आँखाहरू पनि गहिरा तालजस्ता हुन्छन् ?
किन सँधै पुरुषको चौडा छातीकै मात्र चर्चा गरिन्छ?
घामले मेरो शिरमाथि उभिएर
एकोहोरो मलाई हेरिरह्यो
मेरो वरिपरि घुम्दै बतासले मलाई छोएर गयो
शून्यताले शून्यता नै फालेर गयो
तर आएनन् कतैबाट
मेरा प्रश्नका उत्तरहरु
बरु अनेक रुप बदलेर आइरहे नयाँनयाँ प्रश्नहरु....
के साँच्चै,
पुरुषसौन्दर्यको कुनै मापन हुँदैन ?