म अस्ट्रेलियाको जङ्गलमा
जिउँदै जलाइएको कङ्गारू हुँ
अमेजनको आगोमा
अकालमै नासिएको अजिङ्गर हुँ
यति ठूलो संसारमा नअटाएर
म बुहानमा मारिएको सानो किरा हुँ
म प्रशान्त महासगारमा प्लास्टिकले लपेटिएर मरेको
एक ह्वेल हुँ
तिम्रा अनैतिक कारखानाबाट स्खलित रसायनले
छटपटिँदै छटपटिँदै किनारा लागेको डल्फिन हुँ
अरल सी मा बालुवामा विलीन भएको
पानीकिरा हुँ म
तिम्रा आणविक भट्टीबाट निस्किएको विषाक्त हावाले
आफ्नै हावा खुस्किएको भुईँकिरा हुँ म
आफ्नो बाँच्ने सपनालाई दाम्लोले बाँधेर
तिम्रो धर्म रक्षानिमित्त
गढीमाईमा बलि चढेको राँगो हुँ
तिम्रो सिमेन्टको जङ्गलले
तहसनहस पारेको मेरो आकाशबाट उड्दा उड्दै
पत्रक्क खसेको पन्छी हुँ म
बाग्मती र विष्णुमतीमा निसास्सिँदै निसास्सिँदै
उल्टो तैरिएको माछा र भ्यागुता हुँ म
तिम्रो शासकको विलासिताका लागि
मेरो संसार चुम्ने सपनाको पङ्ख काटेर
तिम्रो पिँजडामा कैद भएर मरेको मैना हुँ
आफ्ना प्यारा लालाबाला त्यागेर
तिम्रो मनोरनञ्जन पार्कभित्र
हाँसोको पात्र बनाइएको एक बाँदर हुँ।
हुँ के भन्नु, थिएँ।
जीवात्मा हुँ
बाँच्न मैले पनि पाउनुपर्थ्यो तिमीले जस्तै
जीवन मेरो पनि प्रिय थियो तिम्रो जस्तै
पृथ्वी मेरो पनि घर थियो तिम्रो जस्तै
जीवन मेरो पनि रहर थियो तिम्रो जस्तै
तर बुझेनौ यो तिमीले
र खनिरह्यौ आफैँ आफू खस्ने खाडल
जुन दिनदेखि तिमीले
आफ्नो भाग छोडेर हाम्रो भाग ठुलो देख्यौ
आफू मालिक र हामीलाई दासी ठान्यौ
त्यही दिनदेखि हामीमा अझै बढेको हो
आफूदेखि प्रेम र तिमीप्रति वितृष्णा
अन्तत: तिम्रो कुकृत्यले
हाम्रो प्रिय पृथ्वी तहसनहस हुने देखेपछि
गरेका हौँ चेतावनीस्वरूप यो ‘भाइरस विद्रोह’
मान्छे हो ! सुध्र अब त
र सिँगारिदेऊ कलाले यो पृथ्वी
समस्त जीवनका लागि।
अन्यथा....!