घरको पूरानो बाकसमा रहेको
एल्बममा म कतै हुनेछु
हाँसिरहेको
भर्खर नुहाएर खिचेको फोटोमा
म अल्झिनेछु सधैँलाई
विद्यालयको हाजिरी कापीमा
पुछारमा मेरो नाम अल्झिनेछ
कक्षा बढ्ने छ
हाजिरी कापी फेरिनेछ
अनि मेरो नाम हट्नेछ सधैँलाई
साथीहरूले फुटबल टिम नपुग्दा
मलाई सम्झिनेछन्
प्रेमिकाले धोकेबाज भन्दै
म मरेपछि
विद्यालयले बिदा दिएको बेला
कतै घुम्ने योजना बनाउँदी हो
आमाले बिर्सिएर
खाना खाने समयमा
कहिलेकाहिँ , एउटा थाल
बढी झिक्नु हुँदो हो
बजारबाट बुबाले
बिर्सिएर एउटा समोसा
बढी ल्याउनु हुँदो हो
रूखको घाँस झारिमाग्न
मेरा छिमेकीले
मेरो घरतर्फ हेर्दै
झुक्किएर मेरो नाम बोलाउँदा हुन्
पसलेले बाँकी खातामा
मेरो नाम रातो मसीले
सधैँको लागि काट्दो हो
घर पछाडिको गोठमा
मेरो साइकल थन्किदो हो
मैले मायाले पुछेका
रिङमा , हेन्डलमा , पाइडलमा
खिया लाग्दो हो
कापीमा मैले लेखेका
अपूर्ण शब्दहरू
पूर्ण हुनका लागि
शब्दहरूले मेरै बाटो हेर्दा हुँन
यदि म मरे भनेँ
जनगणनाको दिन
सरकारी कर्मचारीले परिवार सङ्ख्या सोध्छ
बा-आमाले सङ्ख्या भन्दै गर्दा
झुक्किएर मेरो नाम लिनु हुनेछ
गाउँपालिकामा मेरो मृत्युदर्ता गराएको याद आउनेछ
र, सरकारी कर्मचारीले भन्नेछ
पहिले बाँचेकाहरूको चाहिँ सङ्ख्या भन्नुहोस् ।