चप्पलका फिता चुडिंदा सम्म पनि भेट्न सकिएन गनत्ब्य
फाट्यो बा को थाप्लोमा नाम्लो - तर सकिएन पालो दिन
फुटेर कुर्कुच्चाहरू टेक्न सकिनन् आमाले खुट्टाले
र पनि बोक्न सकिएन आमाको जिम्मेबारी
घाम सुल्टो मात्रै पनि हिड्दैन रहेछ,
जब घर साहुको चिया अड्डा बन्छ
जब आँगन वैरीको हाँसोको फलैंचा बन्छ
जिन्दगी पनि तब जिन्दगी जस्तो नलाग्दो रहेछ
थाहा छैन बाले के सोचेर छोरो जन्माए
थाहा छैन देशले के सोचेर नागरिकता दियो
धेरै कुरा थाहा नहुदा नहुदै पनि आफ्नो हुदा रहेछन्
मन नपर्दा नपर्दै पनि आफ्नो भन्नु पर्ने रहेछ
जस्तो कि - साहुले थमाएको खेत बन्धकीको कागत
र बैंकले काटेको घर लिलामीको पुर्जी
निभेको खरानीमा आगो खोज्दै थिएँ
सुकेको खोलामा पानी कुर्दै थिएं
डडेलो लागेको वनमा बुटी चहार्दै थिएँ
र मरेका सपनाहरूको मलामी भएर
मनमा आसाको त्यान्द्रो खोज्दै हिडें
मान्छे बहुलाउन आकास खस्नु पर्ने रहेनछ
मान्छे मर्न धरती भासिनु पर्ने रहेनछ
जब गरिबीको दैलोमा सपनाहरू लस्कर लागेर आउंछन्
ती सपनाहरू उत्सव हैन हैजा बनेर आउँछन्
र टपक्क टिपेर लैजान्छन् कालको आहारा बनाएर
घडीको सुई सुल्टो चले पनि
समय सुल्टो चल्दो रहेनछ
जब हात भएर पनि कहिं समाउने ठाउँ हुदैन
जब पाइताला भएर पनि कतै टेक्ने ठाउँ हुदैन
यस्तो बखतमा - तिमी हालखबर सोध्छौ ,
कुन देश प्रेमको कुरा गर्छौ
देश भूगोलमा हैन मनमा हुँदो रैछ
तिमीलाई कस्तो राष्ट्रियताको परिभाषा दिऊँ ?
म त देश नै मुगलान भएर
मुगलान छिरेको मान्छे !
बुटवल
हाल - जापान