घाँसको पहाड पिठ्यूँमा छ
घाम अस्ताउन लागेको छ
र उक्लिरहेकी छे उकालो
नाम सोध्दा थाहा छैन भन्छे ।
परिचय हराएकी
आफैँदेखि टाढा
बिनामूल्य जीवन बाँचेकी
को हाली ऊ ?
पखेटा फडफडाएर
खोरबाट झिसमिसे झर्दानझर्दै
कुचो भएर आँगनभरि बिछिने
सानी
भर्खर बाह्र नाघेकी
दुलाहा खोज्दै बाबु बेँसी झरेको छ
उकालो चढिरहेकी छे ऊ
जङ्गलका काँडाहरूसँग खेल्दै फुल्न बिर्सेकी
को होली ऊ?
चुला, जंगल, कुवा र गोठका स्कुलमा
कसौँडी, गाग्री, घाँस र दाउराका अक्षरहरू पढ्दै
जीवनको परीक्षामा हामफालेर
सधैँ अनुत्तीर्ण
आफैँलाई बिर्सेकी थकित
विश्रामहीन यात्रामा हिँडेकी
नाम सोध्दा थाहा छैन भन्छे
को होली ऊ ?
साभारः प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (२०७०)