जानु छ भने जाऊ
लैजाऊ तिमीले र मैले दुई फेरो तानेर तन्काएको
इन्द्रेनी,
लैजाऊ तिमीले र मैले बतास भरेर आकासमा पठाएको
बादल,
लैजाऊ तिमीले र मैले माया पोतेर टाँगेको
आकास,
लैजाऊ चोरऔँला समाएर डोर्याउँदै डोर्याउँदै
नानीजस्तो पृथ्वी,
लैजाऊ तिम्रो केश mिाजारिएजस्तो सुगन्ध आउने
यो बतास,
लैजाऊ, तिम्रा चुरा छनछनाएजस्तो सुस्तसुस्त बज्ने
यो संगीत,
लैजाऊ तिम्रा आँखा र ओठको प्रशंसामा लेखएिका
यी गीतका पंक्तिहरू ।
म त यतै हुनेछु
झरी पर्नेछ, बलेसी हुनेछु
हुरी चल्नेछ, सुकेको पात हुनेछु
खडेरी पर्नेछ, चिराचिरा खेत हुनेछु
डढेलो लाग्नेछ, सालको ठुटो हुनेछु
हो म त यतै हुनेछु ।
मसँग यिनै घोडेटा हुनेछन्
गन्ध उही हुनेछ,
मसँग यिनै गल्लीहरू हुनेछन्
भीड उही हुनेछ,
मसँग यिनै मान्छेहरू हुनेछन्
आवाज उही हुनेछ,
उही आँसु हुनेछन्
उही सुस्केराहरू हुनेछन्
कहिलेकाहीँ भने
खुसीहरू पनि हुनेछन् ।
तिमीलाई दिएँ मैले
फर्फराइरहने इन्द्रेणी
आकार बदलिरहने बादल
ओत दिइरहने आकास,
तिम्रो मनजस्तै फनफनी घुमिरहने पृथ्वी ।
जानु छ भने जाऊ
हिँड्न गार्हो हुन्छ भने मेरा गोडाहरू लैजाऊ
हेर्न गार्हो हुन्छ भने मेरा आँखाहरू लैजाऊ
अझ चाहिन्छ भने मेरा ढुकढुकीहरू लैजाऊ
मेरा हातहरू लैजाऊ
गएपछि तिमीले रच्नुपर्नेछ
अर्को इन्द्रेणी,
अर्को बादल,
अर्को आकास
र अर्को पृथ्वी ।
साभार: बुद्धिसागरका कविता