मुख्य पृष्ठ » कविता » पीडाको रंग

पीडाको रंग

bool(false)

 यतिखेर

बृद्धाश्रमको गेटबाहिर उभिएको छु म

भर्खरै ल्याइपुर्याएको छ

मेरो देवता जस्तो छोराले

उसैको मोटरमा राखेर !

र, उसले आकाश जस्तो ठानेको  मेरो निधार

अहिले पाताल भएको छ ।

यतिखेर मेरो सपनाको चोकमा

दनदनी बलिरहेको छ आगो

अब यो तिघ्रा काम्ने शरीरले

कहाँ थाम्न सक्छु र पिडाको पहाड !

 

सानोमा तोते बोल्दै

काखमा  घुस्रीरहन्थ्यो

मेरो पसिना, आँशु र सुस्केराहरु बुझेझैं गर्थ्यो-

"ठूलो भएपछि

बालाई पनि राख्छु नि काखमा, बा ?

म सोच्थेँ -

"आउने वचन मीठो भए

जाने वचन पनि मीठै होला!"

 

स्कुल जाने भएपछि

उसले पढेको थियो  

बाबुआमा ईश्वर समान हुन’!

अलिक बुझ्ने भएपछि जितेको थियो

मेरो प्यारो बा!शिर्षकमा कविता पुरस्कार

 

मेरो सपना बनेर

चन्द्र छुन उडिरहेको थियो

फगत उडिरहेको थियो अनन्त सपनाको बाटोमा

जसरी उसले मन पराएको थियो

मेरो रोजाइको जुन जस्ती बुहारी !

 

यसरी फैलिदै थिए

उसको उज्यालो जीवनको घना वृक्ष

पोहोर साल मात्रै त हो उसले

बाको मुख हेर्ने दिन

मेरो चाउरिदै गरेको गालाको

सेल्फी हालेको थियो फेसबुकमा !

तर थाहै थिएन

मेरो सपनाको त्यो नीलो आकाश

यसरी डढेंलोले खाएको वन झैं हुन्छ भन्ने

जसरी जीवनभरको कमाइले बनाएको  मेरो घर

भएको छ आज मेरै चिहान !

 

यतिखेर,

बृद्धाश्रमको गेटबाहिर उभिएको छु म

क्षितिज पारी हेर्दै टोलाईरहेको छु !

मेरो दु:खी आत्मासँगै कसरी उडिरहेछ

छोराको निष्ठुरी मन !

ओहो !

आज ठयाक्कै उल्टो भएको छ

मेरो भाग्यमा परेको एक टुक्रा बगैंचा

जहाँ उसकै घृणाको दुर्गन्धबीच

सुँघिरहेछु म मृत सपनाको गुलाब !

 

देखिरहेछु-

आगोमा हालेको मेरो मुटु

पीडाको कालो र नीलो रंगमा

कसरी भतभती पोल्दै उडिरहेको

यो ग्लानियुक्त आगतको बतास

मेरो रोदन छिचोल्दै

कसरी निथ्रुक्क भिजेको छ

मेरो विश्वासको पहाडमा

यो शोक र निराशाको कुहिरोले

कसरी फैलिदै छोपेको छ

 

मैले उसलाई जीवनको बीज छरेर

धर्तीमा आश्रय दिएको थिएँ

मैले उसलाई शरद्को विरुवाजस्तो

खुल्न र नियाल्न सिकाएको थिएँ

तर मेरै रगतबाट बनेको उसको आँखाको नानीले

किन छाम्नै सकेन मेरो मुटुको धड्कन?

आज उसको 'स्वार्थको न्यानो'ले

किन टेक्यो मेरै छाती ?

म त उसको भात थिइनँ म उसको बा थिएँ

 

बरु, बुढेसकालको सहारा हुन

साङ्लो चुडालेर पछ्याएको छ

घर कुरी बस्ने त्यै पाङ्रे कुकुरले

,शायद बुझेको छ उसले

ढलेको गजुर जस्तो मेरो पिडाको रंग

,पुछिदिएको आँशु!

 

हो, थाहा छ-

मेरो निर्धो र निरीह सपनाको शहर

दनदनी  बलिरहेको बेला

आज उसको पाखुरा बलियो भएको छ

, चलेको छ उसकै दमन र हुकुम् !

 

तर, यत्ति कामना गर्छु म -

भोलि फेरि उसको सन्तानले नछाडोस् उसलाई

जसरी मलाई छाडेको छ उसले

वृद्दाश्रमको गेट अगाडि, यो दुर्दशामा !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस