सबैलाई यस्तै हुँदो हो
आफ्नै दु:ख पहाड लाग्ने रहेछ
कुन पहाडबाट बगेको नदीले सोधेको हुन्छ र
समुद्र कहाँ र कति टाढा छ भनेर ?!
आफ्नो पीडा
— एउटा पर्वतभन्दा गह्रुङ्गो
आफ्नो अप्ठेरो
— बिकट पहाडभन्दा भिरालो
लक्षमा बाधा
— अग्लो हिमालभन्दा अग्लो
प्रेमीको मुटु
— कठोर चट्टानभन्दा कठोर लाग्ने रहेछ
वास्तवमा सबैले
सत्यको मुहारमा बाघ देख्दो रहेछ
थाहा छ तिमीलाई ?
सूर्यको रापिलो किरणले
वषौँ लगाएपनि कागज जलाउन सकिन्न
सोही किरणको सहायताले कागजलाई
सानो आइग्लासले दुई मिनेटमा जलाइदिन्छ
अरूले जस्तै
तिमीले कहिल्यै अरूको लोकगीत सुनेनौ
कहिल्यै अरूको इतिहास पढेनौ
या वा
जे सुन्यौ कानले सुन्यौ — ध्यान अन्तै थियो !
जे पढ्यौ आँखाले पढ्यौ — दृष्टि अन्तै थियो !
मैले भन्दै थिएँ
त्यत्ति नै बेला तिमीले आकाशमा हेरेर थुक्दै थियौ
मैले सम्झाउँदा तिमी
यति सुन्दर फूलमाथि सन्देह गर्दै थियौ
फूलको शक्ति र सौन्दर्यमाथि
पहिचान र अस्तित्वमाथि
तिम्रो रूपमा ईर्ष्या गरेको आरोप रोप्दै थियौ
मैले त यति भनेको न हुँँ
पीडाको पर्वत भ्रम हो
अप्ठेरोको पहाड मिथ्या हो
बाधाको हिमाल डरको उपज हो
प्रेमीको घात विश्वासको सङ्कट हो
किनकी
पर्वत, पहाड, चट्टान अनि
हिमालको छातीलाई फोड्छ — फलामले !
धत् !
गलत बुझ्छ्यौ तिमी अनि दोष मलाई ?!
अचम्म !
के मैले फलाम सबैभन्दा कठोर
संसारकै सर्वशक्तिमान चीज भनेको छु ?
फलामलाई पगाल्न
त्यसको घमण्डको आकारलाई बदल्न नै त
बनेको हो आगो
त्यसो त आगो याम र त्यसका आयाम
तिमीले नपढेको म भन्दिनँ
तिम्रो कमजोरी भन्नु नै यही हो
छिट्टै धारणा बनाइहाल्ने
सुन, कान खोलेर सुन
अर्थलाई अनर्थ नबनाऊ
आगो नै सर्वाधिक कठोर रहेछ नसोच
आगोलाई पानीले शान्त पार्छ
अनि नि
पानीभन्दा शक्तिशाली हुन्छ — हावा
जब हावा चल्छ नि
बडो जतनले बल्दै गरेको झोपडीको दीयो निभाइदिन्छ
त्यही हावाले नै बनमा डढेलो फैलाइदिन्छ
पख, मेरो कुरा सुन
हावाभन्दा पनि सर्वशक्तिमान संसारमा केही छ
त्यो हो — मानवको दृढ इच्छाशक्ति !
र, तिमी पहिचान हिँड्ने बाटोमा
समताको अडान र इच्छाशक्तिअघि
पर्वत, पहाड, हिमाल, चट्टान
फलाम, आगो, पानी र हावा तेर्स्याउँदैछौ !
नडराउने सबै बहादुर हुँदैन
बहादुर त्यो हो
जो डरका बावजुद लक्षमा लम्किरहन्छ
परिवर्तनका लागि
परम्परागत रात निभ्नु आवश्यक हुन्छ
समता, सिर्जना र शान्तिका लागि
सिद्धान्त होइन पुरातन सपना बदल
किनकी सत्ताले शासक बदल्छ — शासन होइन
जसरी रूखले पुराना पात बदल्छ — जरा होइन ......!