हेर्नुछ भने परै बसेर हेर्नू
नजिक हुनुसँग मलाई सार्है डर लाग्छ !
मलाई सानै चिज भएर बस्नु मनपर्छ !
मलाई चुपचाप चुपचाप हुनु मनपर्छ !
मलाई सिमसारले सुटुक्क जीवन लेखेको मनपर्छ !
टाढा-टाढाबाट ठूला-ठूला चिजहरू
साना-साना देखिन्छन् ।
पर-परबाट सागरहरू शान्त—शान्त लाग्छन् !
तर कसै
ठूला-ठूला भएर घाम जून आँखै अघि आए भने
समुन्द्रले परेलिको डिल पार गर्यो भने
म के गरौं ?
भन !
कसैले मलाई पर्वतहरु देखायो भने
हिमाल-हिमाल अग्ल्यायो भने
मलाई सानै चिज भएर बस्नु मनपर्छ !
मलाई चुपचाप चुपचाप हुनु मनपर्छ !
मलाई उज्यालोले सुटुक्क आकाश लेखेको मनपर्छ !
मलाई विस्फोटक हुनुसँग कुनै चासो हुँदै हैन !
आँधिलाई रोकेर बिस्तारै हिँड भन्नु मनपर्छ !
थाकेका नानीहरू लुटुक्क निदाएको हेर्नू मनपर्छ !
तर छ नि ! कसै
रात परे पछि
आफ्नै नक्सा भित्र हराएका मानिसहरुले तर्साए भने
बरु म उनीहरुको ठाउँ-ठेगान सोधौंला !
तिनका टुहुरा र विधवाले मध्य रात विलौना गरे भने
म के भनौला ?
सम्झेर कति-कति विरहहरू
सहेर कति-कति दुखका पहाडहरू
बोकेर आगो मनभरी
म ती आँखाहरु पछाडी
भन !
कहिले सम्म लुकेर बसौला ?