झरीमा भिजेर
असारको गर्भ बोक्न लालायित
फाँट र टारीहरूले
भर्याङ हुँदै कोही उक्लिन्छन् कि भन्दै
बषौँदेखि कुरिरहेका
कौसीका रित्ता भकारीहरूले
कहिलेकाहीँ
अक्कल झुक्कल देखिने
दाँत फुक्लीएको बृद्ध जस्तै
बिँड फुक्लिएको बुढो कोदाली माथि
प्वालै प्वाल परेको पछ्यौरा जस्तै
धुरीमा झुण्डिएको
पुरानो स्याखु माथि
दोष थुपारिरहेका छन्
मानौँ
तिनैले ओत्न सकेन्न
असारका सपनाहरूलाई
तिनैले खोस्रिन सकेनन्
असारका आवश्यकताहरूलाई
बाँझा गर्हाहरूले
बाँझा खेतहरूले
कान्लामा विसाउँदै
आलीमा सुस्ताउँदै
सोधीरहेका छन्
घाँस उम्रिएर
बाटै होइनन् कि झैँ लाग्ने बाटाहरूलाई
तेरै बाटो हुँदै ओर्लिएको थियो असार
किन फर्किएन ?
सुनसान गाउँले
रुझ्दै, भिज्दै र चुहिँदै
सोधिरहेका छन्
तेही टारीमाथिको
अजंगको पहाडलाई
हेर्नु उचाइबाट
कतै शहरमा रुमलिएको छ कि असार ?
आफ्नै मनलाई चट्टान बनाएर
पहाड चुपचाप छ
मन दुख्छ कि भनेर गाउँको
मन दुख्छ कि भनेर खेतको
अभागी पहाडले
नदेखेको कहाँ हो र ?
असारले
झोलामा
पुरानो नागरिकता
र नयाँ राहदानी कोचेर
बाँझो सपना रोप्न
शहर पनि छोडिसक्यो
पहाड न हो
झुकेर रोक्न सक्दैन
पहिरो जस्तै बगेर जाने असारहरूलाई
तन्किएर छेक्न सक्दैन
बादल जस्तै उडेर जाने असारहरूलाई