मुख्य पृष्ठ » कविता » बाबुलाई विदा गर्नुअघि

बाबुलाई विदा गर्नुअघि

bool(false)

गुलाबको पत्रका पैतालाले
उक्लिएर चक्रपथको थोत्रो बस
समाउँदै साना साना औंलाहरूले
तरुनी आमाको माझी औंलो
यो देशको भविष्य
गइरहेको छ, अज्ञात यात्रामा।

उसलाई थाहा छैन
खोइ कुन्नि किन होस्
आमाका स्नेहमयी आँखाको गाजलमा
आँसु मिसिएर बगेको
प्रेमिल ओठहरूमा मुस्कान नफुलेको
युवती चञ्चलता अपहरणमा परेको
किन हो,
औंलामा समेत आमाको न्यानोपन हराएर
अव्यक्त चिसोपन जमेको ?

उसको अनुहार घाम थियो परिवारको
र त उज्यालिन्थ्यो बाबुको अनुहार
त्यही घामबाट उडी जान्थ्यो खुशीको किरण
टिपी लान्थ्यो बाबुको मुहारबाट थकान
झल्काउँथ्यो त्यहाँ वात्सल्य प्रेम
तर आज उसको बाबुको मुहार
बर्षौं पहिले पहिरो गएर पनि
हरियाली नफर्केको उजाड पहाड जस्तो,
नदीले बाटो बदलेर पनि
झार नउम्रिएको सुख्खा बगरजस्तो
उदास–उदास फुङ्ग उडिरहेको छ।

उसलाई थाहा पत्तो छैन,
किन दरबार त्याग्दाको राजा झैं गम्भीर छ बाबु ?
किन खेलाएनन् आज बिहानै बाबुका खुट्टाले गुगुत्ती ?
किन खाएनन् आमाका ओठले उसका गालामा चुम्मा ?
किन धुम्मियो बिहानै आमाको आकाश ?

उसलाई यो पनि थाहा छैन
घरमा अब सुनिन छोड्ने छ
एउटा ठूलो आवाजको कम्पन
अब आउन छोड्ने छ
हरसाँझ नमीठो रक्सीको प्रिय गन्ध।

यो देशको भविष्य
चञ्चल हुन्छ, हिजोजस्तै
बाल—शुलभ हाँस्छ, हिजोजस्तै
पिर गर्छ, हिजोजस्तै
गन्गन गर्छ, हिजोजस्तै
तर आज हिजोजस्तो छँदै छैन
झण्डै साढे चार बर्ष लामो जीवनका
१६ सय १६ हिजोमध्ये
कुनै हिजो थिएनन् आजजस्तो

यो यात्रा पनि छैन अरु यात्राजस्तो।

यतिबेला
यो देशको भविष्य
गइरहेको छ अज्ञात यात्रामा।
बस्१
एकैछिनमा जवाफ पाउने छ उसले
जब उक्लिने छ बाबु मलेशीयाको जहाजमा
हल्लाउने छ विदाइको हात
बगाउने छ आँखाबाट पीडाको झरना।

उसलाई थाहा छैन
त्यही जहाजमा उडी जाने छन्
उसलाई गुगत्ती खेलाउने खुट्टा
हरेक साँझबिहान उसलाई खोजिरहने आँखा
उसलाई दाह्री सारिदिने झाडीजस्तै गाला
बिहान उठ्नु अघि गालामा जूठो लगाइदिने ओठ
बेलुका घर फर्किँदा चकलेट ल्याइदिने खस्रा हात
सबैसबै उडिजाने छन्
उसलाई साँच्चै थाहा छैन
उसको खुशीको स्रोत
केहीबेरमा उडिजाँदै छ
मलेसियाको जहाजमा।

भिसा अबधी सकिँदा
ऊ साढे सात बर्षको भइसक्ने छ
उसलाई थाहा छैन
उसकी आमाले कसरी बिताउँदी हो
बाबुको यादमा
एघार सय एक्ला रात
कसरी भ्याउँदी हो
घरका हरेक काम एक्लै
कसरी जोगाउँदी हो
फक्रेको यौवन
कसरी बन्दो हो ऊ
आमाको साथी
कसरी बित्ने हुन
उदासीका तीनबर्ष ?

उसलाई थाहा छैन
संविधान जारी हुने मितिजस्तै
टाढिँदै जानसक्छ बाबु आउने मिति
वा कुनै निष्ठूरी पानीजहाजको मायाले
लैजानसक्छ बाबुलाई इन्डोनेसीयन आमाकहाँ
वा हवाइजहाजले ल्याउनसक्छ काठको बाकसमा।

उसले सोचेको छैन,
के गर्दो हो ऊ
यदि उसकी आमा
आइएमइबाट घर फर्किने बाटो बिर्सिएर
अर्कै बाटो अर्कै घर पुगी भने !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस