नथिया नदेऊ मलाई
ठोसिया पनि नदेऊ
सक्छ्यौ भने देऊ आमा
जिन्दगी जित्ने गीत
हँसुली मलाई चाहिन्नँ
माठा र पहिरी माग्दिनँ
म लड्दै उठ्छु थाक्दिनँ
भेट्ने छु एकदिन जीत
पहाडा मलाई कण्ठै छ
औँलामै मेरो हिसाब छ
म कसै पछि हट्दिनँ
त्यो पनि तिमीलाई थाहा छ
धावाधौरी खेली खेली
दौडन मैले जानेकी
अङ्गुछीमा ढुङ्गा टिप्दै
सपना चुन्न सिकेकी
आँगन माथि खसेको
यो घाम मलाई थोरै भो
यो जून पनि थोरै भो
बतास झन् थोरै भो
आफू त काट्यौ उमेर
बनिहारी मजुर गरेर
पँखेटा हाल्देऊ मलाई
म हेर्छु संसार उडेर
सपना बर्सी रंगिने
रच्ने छु मैले इन्द्रणी
घाम र पानी बोकेर
भरिलो पार्छु जिन्दगी
ओरी दाओ !
पराइ कोही हैन नी
म तिम्री प्यारी बबुई
बस्दिनँ कसैको बन्धकी
देऊ मेरो भागको बिहानी !
देऊ मेरो भागको जिन्दगी !
शब्दार्थ :
ओरी दाओ : ए आमा
ठोसिया : फुली
हँसुली : घाँटीमा लगाउने चाँदीको मोटो गहना
माठा र पहिरी : पाखुरा र गोडामा लगाउने चाँदीका गहना
पहाडा : दुनोट, गुणा
धावाधौरी : लट्ठी लिएर खेतकोे आलीमा दौडने खेल
अङ्गुछी : रुमाल
बनिहारी : निमेक
(सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ भर्खर बजारमा आएको छ ।)