जङ्गल सोहोरेर चुल्याउँछे घाँसको पर्वत
सन्तानलाईझैँ माया गर्छे गाईबस्तुलाई
आफ्नै शरीरलाईझैँ हिफाजत गर्छे घरलाई
मातृत्वले नुहाइदिन्छे मालिकका छोराछोरीलाई ।
कहिल्यै भ्याइन उसले कपाल कोर्नसमेत
ऐना हेरेर आफूलाई पढ्ने फुर्सद पनि भएन
कहाँकहाँ दुख्छ जीउ भन्ने पनि थाहा पाइन ।
आफ्नो शिरलाई छाता बनाइरही बर्सातभरि
ढुकढुकीको ताताले सेकिरही चिसो हिउँदलाई
सहिरही जीउमा आएर नाच्ने खडेरीको ताण्डव ।
ब्यूँझन्छ उसैका आँखाबाट व्यस्त बिहान
उसैका छातीमा टाउको अड्याएर निदाउँछ
थाकेको साँझ
उसको एउटा हत्केलाबाट उठेर
अर्को हत्केलामा ढल्कन्छ दिन ।
मजेत्रोको भ्वाङबाट घाम हिँडाएर छिराउँछे सङ्घारभित्र
चन्द्रमासित ढुंगा रगडेर टुकीमा जगाउँछे ज्योति
हातका रेखाहरू भुइँमा दलेर सिँगार्छे मझेरी ।
भत्किएको पृथ्वीलाई शीतले भिजाएर
लिपपोत गर्छे गोबर—माटोले
र वासन्ती धर्ती छिराउँछे घरभित्र ।
बतासलाई मिलेर हिँड्न आउँदैन जसरी
सोइपरि ऊ पनि जान्दिन हिँड्न
मौनतालाई बोल्न आउँदैन जसरी
हो ऊ पनि सक्तिन बोल्न ।
किताबका पानामा घाम चेपेर
ऊ कहिल्यै गएकी छैन पाठशाला ।
उसले आफ्ना औँला नसल्काए चुलोमा
भोकले ओइलिन्छ उसको घर
जता जान्छे, उसैको पछि लाग्दै हिँड्छ घर
अरुझैँ टाठोबाठो भइदिने हो भने
उसैका हत्केलाबाट उप्किएर ढल्छन् जहान
ऊ यति कमजोर र निरीहजस्तो नभइदिने हो भने
अस्तित्व मेटिन्थ्यो बलिया भनिएकाहरूको ।
सदाझैँ सिंगो सागर गाग्रामा बोकेर आँगनमा आइपुग्दा
सोधे सरकारी भलाद्मीहरूले
तपाइँको नाम ?
पहिलोचोटि आफ्नो नाम भन्नुपर्दा
पहाड उभियो उसको जिब्रोमा
मालिकले भनिदियो
उसको नाम मखली भनेर !
उसको पोल्टामा थिएन उमेरको हिसाब
मालिकलेनै भनिदियो— पैँतालिस
लिङ्ग ?
ऊ लज्जावती झार भई
र कुदी भित्रतिर
उनीहरू आफैँले लेखे— महिला
मजेत्रोको फेर टोक्तै चियाइरहेकी थिई
डढेको सगर झर्यामझुरुम्म खस्यो ऊमाथि
ध्सियो उसले टेकेको धर्ती
जब सोधे उसको पेसा
र, मालिकले भनिदियो— गल्याङ्ग्री छे
केही पनि गर्दिन !