यसपालि–
नफर्की भनेको थिएँ दशैँलाई
मेरो बोली मधुरो भयो
वा दसैं बहिरो
सुनेन दशैँले ।
पोहोर साल नै
कमाउँदै औंलाहरू
कागजमा पोको पारेर
हालेको थिएँ दशैँको हातमा
छोराको ठेगाना
पोहोर साल नै
बिन्ती बिसाउँदै
ढोगेको थिएँ दशैँको गोडामा–
अर्कोपल्ट आउँदा
हात समातेर ल्याउनू
मानेन भने
कठालो समातेर ल्याउनू
अझै मानेन भने घिसारेर ल्याउनू !
पोहोर साल नै
सिकाएको थिएँ दसैंलाई
भन्नू– म दशैँ हुँ
मेरै उपस्थितिमा
खुसी छरिन्थ्यो तेरो आँगनभरि
आजकल
खुसी छर्न नसक्ने भएको छु
सन्तानले दिएको घाउ निको पार्न त
गाह्रो हुँदोरहेछ !
म महान् दशैँ
मिति सकिएको औषधिजस्तै भएको छु ।
पोहोर साल नै
खाली निधार फर्काएको थिएँ दशैँलाई
दशैँको कानमा
नजिकै गएर भनेझैं लाग्छ–
अर्कोपटक आउनुअघि
निमोठ्नू मेरो छोराको कान
निर्धक्क भन्नू–
म दशैँ हुँ
मलाई टेक्नु छैन कुनै आँगनहरू
जहाँ सन्तानले तगारो खोल्दैनन्
भन्नू– सन्तान नभएको घर त
विधवाले मुछेको सेतो अक्षताजस्तै हुँदोरहेछ !
अर्कोपटक
खाली हात नफर्की भनेको थिएँ दशैँलाई
मेरो बोली मधुरो भयो
वा दशैँ बहिरो
सुनेन दशैँले !