दशैँमा गाउँ जाँदा
गाउँले भन्ने छ-
'तिमी त सहरवासी भइसक्यौ
धापे खोलामा आउने आकस्मिक बाढीजस्तो
तिमी दशैँ मनाउँन मात्र गाउँ फर्किन्छौ ।'
आमाले भन्नुहुनेछ
'यो घरको ढोका
तिम्रो यात्राको बिसौनी हुन सकेन
उतै सहरमा
रत्यौली नाँच्न पनि नदिएर बिहाबारी गर्यौ
घरजम जमायौ
तिमी त सहरवासी भयौ ।'
काली गण्डकीले भन्नेछ
'मेरो सौन्दर्यको गहिराइमा डुबेर
माया गर्ने कवि हरायौ ।'
आमा समूहले बनाएको पुलले सोध्नेछ
बाबालाई जलाएको घाटले सोध्नेछ
एक्लो चौतारी र हात पर्खिएका खोरियाले सोध्नेछन्
बालककालमा पौडिएका
लेउ लागेका दहहरूले सोध्नेछन्
'तिम्रै सहरतिर सिरानी फर्काएर सुत्दा पनि
किन हामीलाई लाग्न छाड्यो बाडुल्की ?'
खेतहरूले भन्नेछन्
गौचरनले भन्नेछ
भीरमा अड्किएको पुरानो सम्झनाले भन्नेछ
'स्मृतिको बगर छोडेर गाउँमा
तिमी त सहरमा हरायौ ।'
गाउँलाई सन्चो विसन्चो सोधिहिँड्दा
सधैँझैँ म सोचिरहनेछु आफूलाई
दुविधाको टापुमा बाँचिरहेको एउटा रूख ।
हो, म हिँडिरहने एउटा अग्लो रूख
न गाउँमा फर्किन सक्छु
जहाँ मलाई अड्याउने जराहरू छन्
न सहरमा सुखले बस्न सक्छु
जहाँ केवल भाँचिएका हाँगा र चुडिँएका पातहरू छन् ।
दशैँमा गाउँ जाँदा
गाउँले भन्ने छ-
'तिमी दशैँ मनाउँन मात्र गाउँ फर्किन्छौ ।'