मुख्य पृष्ठ » कविता » सङ्कटकालमा सहवास

सङ्कटकालमा सहवास

bool(false)

सङ्कटकालमा
म तिम्रा औँलाहरू चलाउन सक्दिन
सङ्कटकालमा
तिम्रा आँखाहरूतिर हेर्न सक्दिन
सबै कुरा तय गरिएको हुन्छ माथिबाट
सबैसबै प्रेमीहरू ज्यान जोगाउन आतुर हुन्छन्
खाडीयुद्धको आकासमा भौँतारिएका पन्छीहरूजस्तै
तिम्रो मेरो अलिङ्गन अबैध हुन्छ सङ्कटकालमा ।

हेर, चुपचाप छ टेलिफोन, तरङ्गविहीन
सडकहरू छन् तर निस्पन्द, शुन्य संवादरहित
रेडियो बौलाहझैँ एकसुरले ओकलिरहेको छ बुद्धबाणी
टीभीको सचाचारमा देख्न पाइन्छ अद्भूत दृश्य
टोलका केही बदमास ठिटाहरू
मन्दिर धाइरहेका छन्
वषौँदेखि मौन ब्रतमा बसेका हुल्याहाहरू
भजन गाइरहेका छन्
तिनीहरू चर्कोसँग बजाउँदैछन् भक्तिसङ्गीत
हाम्रो सहवास भङ्ग हुने गरी
सबै कुरा तय गरिएको हुन्छ माथिबाट
र हाम्रो प्रेम निगरानीमा हुन्छ सङ्कटकालमा ।
सङ्कटकालमा
म तिम्रा सुन्दर ललाटमा म्वाइँ खान सक्दिनँ
सम्पूर्ण नाङ्गिएर निसङ्कोच
म तिम्रै देह र आत्मामा एकाकार हुन सक्दिन
सङ्कटकालमा
भर्याङ्मुनि जब दगुर्न थाल्छ मुसो
भयभीत हुन्छ प्रेम
यसबेला मानिसहरूको हाँसो सोहोरिएर
पस्तछ हत्याराहरूको अनुहारमा
र निस्कन्छ शासकको अनुहारबाट
हाम्रो हाँसो पनि त सन्दिग्ध हुन्छ सङ्कटकालमा ।

सङ्कटकालमा
डाक्टरहरू अप्रोनमै जान्छन् रत्नपार्कको पेटीमा
आफ्नो भविष्यको जोखना हेर्न,
आफ्नो बुद्धिलाई सफा रेसमी रुमालमा राखेर
बुद्धिजीवीहरू लाग्छन् शक्तिपीठहरूतिर,
विख्यात पाज्ञहरू किस्तीमा राखेर आफ्नो आशुकाव्यकला
उपस्थित हुन्छन् मायामार्गको विशाल द्वारमा,
धूर्त हतियारधारी प्रसन्न हुन्छ र गर्व गर्न थाल्छ
आफ्नो आभामण्डलको
प्रिय, यतिबेला हरेक पत्नी बलात्कृत विधवाझैँ विलाप गर्न थाल्छे
र नजरबन्दमा हुन्छ प्रेमगीत सङ्कटकालमा ।

म तिम्रा स्तनहरूको पवित्रताको सम्मान गर्न थाल्दछु
म तिम्रा प्रेमाप्त केशराशिहरूको संभार गर्न थाल्दछु
भन्छन्— मसानमा प्रेतहरू जाग्दछन्
गाउँ वस्तीमा महामारी पसेपछि
म तिम्रा सपनाहरूको कविता सोच्न थाल्दछु सङ्कटकालमा ।

 

हतारमा यात्राबाट

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस