अक्सर कविहरु
अक्सर लेखिरहन्छन्, कविता
रातलाई विपक्षी बनाएर
मानौँ
दन्त्यलोकको अनगिन्ती राक्षसहरुकी आमा हो, रात
चट्टानहरुको बस्ती र निलकाडाँको झ्याङ हो, रात
वा हो, कुनै बालकले देखेको डरलाग्दो सपना
म रात हुँ र छु कालो
के अनुहारको रङ हेरेर हृदय बुझिन्छ?
नबुझ्नेहरुले बुझ्नु
मैले अँध्यारोको भारी नबोकिदिएको भए
उज्यालोमा मिसिएर कसरि हाँस्थ्यो दिन?
मैले आफ्नै अनुहारको कालो झिकेर
हिउँको रङ पोतेको भए
वा आफ्नै कालो रङमा पड्काइएको भए आत्मघाती बम
सेतोको अस्तित्व रहन्थ्यो के?
अथवा
दोबाटोमा मैले घामको यात्रा रोजेेको भए
ताराहरुको बाटोमा को हुन्थ्यो यतिबेला?
म त पग्लेर मैनै, दीप जलिरहेँ
निभाइरहेँ समयको धर्म
फेरि मेरै उपहास?
मलाई एक एक थाहा छ
मेरो मौनतामा तिमीले के-के गर्यौ उपद्रो
बताउँ कि? स्वप्न बाटिकाको फूल च्यात्ने को थियो
र को थियो सिस्नुखेतीमा नहर सोझ्याउने
बताउँ कि? सोझा अनुहारको लाली खोसेर कहाँ बेचियो
र किनियो कसलाई श्रीपेच
बताउँ कि? पानीकुवा, ढुङ्गेधारा किन भत्काइयो? र
कहाँ बनाइयो ठुल्ठुला 'स्वीमिङपुल', 'सावर'
बताउँ? पालुवा कौमार्य लुट्ने को को हुन्
र को को हुन्? सिस-महलमा रातो गुलुप बिच्छ्याउने
के मात्र बताउँ?
के होला बाँकी उपद्रो, जहाँ तिमी नमुछिएका हौ
तिमी त उल्टै भन्छौ लाजै नमानी
'यो अपराधी रात'
यो कहाँको न्याय हो?
मैले त, बालक सम्झेर तिमीलाई
तिम्रा हर चकचक सहिदिएँ
भोकाएर आयौ ठानेँ र मिठो भोजनको कामना गरेँ
थाकेर आयौ ठानेँ र मिठो निन्द्राको कामना गरेँ
हुँदा-हुँदा तिमी त
मेरै अनुहारपट्टि फर्केर पिसाब गर्न लाग्यौ?
पर्ख! केहि दिन पर्ख
अब एक एक हिसाब हुनेछ