कतिन्जेल बेच्नु
रगत पसिना परदेशमा
घोटेर हाड छाला,
आमा !
बरु देश बेच्नु कसो होला ?
यसै पनि
मेरो होइन देश
तिम्रो जीर्ण शरीरले रुँगिबसेको पाखो बन्धक छ ।
छोटेधान झुल्ने साइँलाको गैरी बन्धक छ ।
दृष्टि पास भैसक्नै आँट्यो
बिस्तारै बिस्तारै
सिङ्गै बस्ती,
सिङ्गै गाउँ,
सिङ्गै देश ।
कतिन्जेल पो धान्ला
रेमिट्यान्सको कृत्रिम अक्सिजनले
थला बसेको देशको धुकधुकी ?
बरु सास छँदै
यो देश बेच्नु कसो होला ?
स्वाभिमानको नाउँमा–
सेतो टिसर्टको ठिक देब्रे पाटोमा
छापेकै हो ‘आइ लव नेपाल’ ।
प्रेयसीको फोटोसँगै
राखेकै हो पर्समा–
नयाँ नोटमा छापिएको सगरमाथाको फोटो ।
फेसबुकका भित्ता भरी-भरी
अघाउँजी पोस्ट गरेकै हो–
‘बुद्ध वज बर्न इन नेपाल’ ।
सम्झेर बालखा भोक
देशी ‘फोरम्यान’का अघिल्तिर झुकाउनुपर्दा शीर
झुकेझुकेजस्तो लाग्छ सगरमाथा,
झनक्क रिस उठ्दा
साँच्चै जन्मेनन् कि जस्तो लाग्छ बुद्ध मेरो देशमा ।
स्वाभिमान–
इतिहासले तिमीलाई ओढाएको
धौतवस्त्र मात्रै लाग्छ;
कोदाको ढिँडोजस्तो
आडिलो किन हुन्न आमा ?
म देश बेच्न खोज्दैछु ।
उभिएर धितोबजारको दैलोमा
सुन्दैछु–
देश किन्नेहरु दासको खोजीमा छन् ।
दास–जसको देश हुँदैन,
अनागरिक–जसको अस्तित्व हुँदैन,
म अस्तित्वविहीन अनागरिक बाँच्न सक्छु आमा !
जस्तो बाँचेको छु आज ।
तर आमा !
के सक्छु होला तिम्रो गलामा ‘प्राइस ट्याग’ झुन्ड्याउन ?
देश बेच्न त पहिले आमालाई अनागरिक बनाउनुपर्छ !!!