मुख्य पृष्ठ » कविता » विश्व भूगोल, रम्घा र दशगजा

विश्व भूगोल, रम्घा र दशगजा

string(43) "user_uploads/members/324993388689_large.jpg"
लेखक
लक्ष्मी गौडेल
नाम : लक्ष्मी गौडेल
  लक्ष्मी गौडेल का रचनाहरू

जब झमझम असार बर्सन्थ्यो
रम्घालीहरू झर्थे गराहरूमा
बाउसो लिएर, हलो लिएर
तास्थे, सम्याउथे आली कान्लाहरू
प्रत्येक असार सँगै ताछिएका आलीहरू
एक पाइलो नअटाउने गरी साँघुरीन्थे

उ मुसुक्क मुस्कुराउथ्यो
साँघुरा आलीहरूमा
हिलाम्मे गराहरूमा !


सीमा छुट्याउन अभ्यस्त
साँघुरा आलीहरू
अझैपनि त्यस्तै होलान्
उसका पाइलाका पदचाप
उस्तै होलान्, दुरुस्तै होलान्
उ हिड्थ्यो आफ्नै बाटोमा
ओहोर दोहोर गर्न नसकेर
कहिले लड्थ्यो आफ्नै माटोमा
जब म पल्टाउथेँ
मेरो देशको नक्शा
स्पष्ट देखिन्थे रम्घाका
साँघुरा आलीहरू
म सोच्थेँ, मेरो रम्घा
एउटा युग जन्माएर
जीवन्त छ, स्पष्ट छ !


समय बदलिएपछि
मैले भानुसँगै ‘होमर’ पढें
‘किट्स’ र ‘शेली’ पढें
‘होमर’ सँगै मैले विश्व भूगोल पढें
प्रत्येक वर्ष
रम्घाका आलीहरू जस्तै साँघुरीएका
ताछिएका, भत्काईएका
सुस्ता र दशगजा

मैले असार सँगै अबिरल बगिरहने
अतिक्रमणको मारमा
उदासिएका आँखा पढें
बोल्न खोज्दा खोज्दै दबाइएका
अवरुध्द भाका पढें

समय जस्तै
रम्घा पछि
मैलेसुस्ता र दशगजा पढें
दाङको कोइलाबास पढें
धेरै पढिसँके
उनीहरू न्यायको पराकाष्ठा
तोडेर अगाडि बढिसके

त्यसैले उठ ! जाग !
किसानहरू, खेतालाहरू
पहरा दिनु पर्छ, सहारा दिनु पर्छ
बचाउनु पर्छ हाम्रो आस्था
हाम्रो स्वाभिमान
उठाउनु पर्छ हिमालजस्तै
अटल उच्च
स्वतन्त्र र सार्वभौम !


(सन् २००७ मा त्रि.वि. किर्तिपूरमा आयोजित अन्तर क्याम्पस खुल्ला कविता प्रतियोगितामा प्रथम भएको कविता)


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस