मुख्य पृष्ठ » कविता » भ्रमको पहाडबाट

भ्रमको पहाडबाट

bool(false)

¡ रिपोर्ट हराएको रात
“कस्तो धुम्म ! गाँठे, क्यै देख्दैन त हौ”
- भन्छ सुनमाया बिहान चियाकमान जानुअघि ।
 
टुरिष्टहरूको मतलबी कानमा
आधापिल्ठो इतिहासको सुइसुइला लगाउँदै
सोमबार पनि ढिलो घुम्छ
क्यापिटलको सुतुवा घड़ीकाँटा ।
किनभने त्यो साम्राज्यवादी घड़ीकाँटामा झुण्डिएको छ
मनबहादुरको पुरानो सपनाको एउटा गरुङ कोट
र राष्ट्रिय झण्डाको एउटा फोहोरी अण्डरपेन ।
 
आदिबासी बोजूहरूको गाउँ-खाने-कथामा
अजिङ्गरे कुइरोको दुश्मन-डोरी छ ।
त्यो डोरीले टनटनी कस्सिएर रुइँरुइँ बेह्रिएको छ आदिम पाहाड़हरू ।
 
र एत्तिखेर, त्यो कुइरो
अनिश्चितताको अर्ग्यानिक अनुहार हो ।
गन्ती र जुलूस
जन्ती र मलामी
हाट र भोटमा
इत्रिँदै हिँड़ेको मान्छेहरू ऐले मिसिनझैँ देखिएको हो ।
 
दिशाहारा छु लागिबस्छ टिस्टा आफैलाई पनि।
ठीक एत्तिखेर सरकारी बाँध बाँधिएको टिस्टाले
आदिम नदीबाट आधुनिक पोखरीको अवतार लिएको छ ।
 
र ठीक एत्तिखेर नै
युएसजी रिपोर्टले खुसुक्क भनिदिएको थियो
“सुनमायाको पाहाड़ी गर्भमा चे ग्वे भाराको खनाति छ”।
रिपोर्ट हराएको रात
पाहाड़वासीको आँखा छलेर
कसले गर्भ तुहाउन लग्यो फकाएर सुनमायालाई
कलकत्ताको सरकारी अस्पतालमा?
र तेत्तिखेर चिउरा बुकाउँदै जङ्गलमा आरन लगाउँदैथियो होला मनबहादुर ।
 
¡ सपनाको झ्याउँकिरीहरू
“किन मर्छ सपनाको झ्याउँकिरीहरू एसरी हँ...
भावनाको पतलुनको गोजीमा इतिहासको अण्डा बोकेर ?”
एउटा बुद्धिजीवी कविको नयाँ कविता लाइन। कसले पो पढ़ोस् ।
 
भ्रमहरूको इँटाले ठड़िएको सत्यको पर्खालभित्र
सुरक्षित ठान्दैछ अहिले पनि मिसिन-मान्छेहरू ।
त्यही पर्खालले नै छेकिनसक्छ
र छेकियो पनि
शताब्दीदेखि उनीहरूले बाल्न खोजेको उज्यालोको अनुहार ।
 
आत्मपराजित युगले वेश्यालयबाट गोद लिएको
आन्दोलनको शिशु
बढ़ेर पट्ठो भट्टु भएको छ अहिले ।
सत्ताले त्यसलाई किनेर मिसिन-मान्छे तर्साउने गुण्डा बनायो एत्तिखेर ।
 
¡ मैला खुनको जोरो
“किन नआओस् पनि जोरो... खुन नै त मैला थिएछ”
भन्छ रक्तजाँचको परिणाम पढ़ेर सन्तवीर ।
 
गणतन्त्रको कथा समाचारपत्रमा पढ़्छ बूढ़ोबाहरू ।
गणतन्त्रको गीत रट्छ नानीहरू स्कूलमा ।
गणतन्त्रको सेक्सी नाच हेर्छ युवाहरू देशभक्तिको सिनेमामा ।
भूत र भगवानसँगै डुलिरहन्छ गणतन्त्र पनि किताब-ठेलीहरूमा ।
 
अधिनायकको हैकमी घोड़ाको टाप सुनेर
नतमस्तक छ एत्तिखेर
चउरको समलैङ्गिक घाँस ।
गाँजाको गन्धले रुमलिएको कुइनेटोमा
कसम खाइयो, खुवाइयो। नबुझिएकोहरू अझ नबुझ्ने। नभनिएकोहरू अझ नभन्ने ।
र नसोचिएकोहरू अझ नसोच्ने ।
 
चौरस्तामा आईबी राई लीला नाच्दै गर्दा
टोल-टोल अस्तित्वयुद्धको नाटक खेल्छ
हन्ड्रेड डे, इन्दिरा आवास, बाटो, कम्युनिटी हल र कन्ट्र्याक्ट जबहरू ।
 
बागवीर लोहारे सन्तुलन राखेरै राजनैतिक बयान दिन्छ रक्सी सोंड़क्याएर-
“आकाश-पाताल देखाउनेहरू न आकाशको रह्यो। न पातालको रह्यो”।
उहिल्येको दिनलाई फोटोकपी गरिबस्छ पाहाड़ी नेताहरू
आजुको पिकनिक खानु ।
 
¡ चुपो लागेको दर्शक
“तैंले आफै आफ्नो निधारमा ठोकिनस् भने
ठोक्छु, तँलाई मै गोली ठोक्छु”
आत्महत्या गर्नु आँटेकोझैँ आमा। त्यै आमाले कठालो समातेको छ छोराको ।
आमाको आरोप छ - पछाड़िबाट वार गरेर धोकेबाज छोराले
अगाड़िबाट वार गर्ने उसको आदिबासी मर्यादा उल्लङ्घन गरेको छ ।
 
एत्तिखेर दर्शकले सधैँ चुपो लाग्नुपर्ने नाटकमा पात्रहरू बोल्दैछ ।
 
को हो एस्तो अचानक?
ठीक एत्तिखेर, आमाको गलामा त छोराको बन्दुकको नोंक छ !
दर्शकहरू एकैसाथ देख्दैछन् बन्दुकको ट्रिगर, आमाको गलाको छाला
र ट्रिगरभित्र छोराको अम्ला ।
 
“हजुर, के दर्शक बोल्नु पाउँछ?”
“चुप साले... तँ दर्शक होस् ... लाखेस बोल्लास् तँ”
 
¡ नफर्किएको टिस्टा
समयको रजस्वला माग्दैछ
इतिहासभरि बलात्कृत एउटा इतिहास ।
इतिहास लेखिने रातोरातो अक्षरहरू त एत्तिखेर
टिस्टामा तर पर्नुपर्ने
तर समझौता-पत्रमा सुनौलो रङले सत्तासीन छ ।
 
दिल्ली ताकेर बत्तिँदै जुलूस हिँड़ेको टिस्टा
फर्किएको छैन अझ।
फर्किन्छ कि
कतै ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस