रुँदा रुँदै
नदी बनेर बगेको आँशु
पिउँदै छु अझै तिला नदीमा ।
मरेको सम्झेर खलंगाको मोर्चामा
जिउँदै पुरिदिएछन् कमरेडहरुले
एके फोट्टी सेभेनले चाल्नो भएको ज्यान
कसरी घिसार्न सक्थें ?
त्यो अनकण्टार नदीको खोल्सामा !
होस् खुल्दा
नदीको उर्लिरहेको भेल
नदीकै कर्कश आवाज सुन्दै
आफ्नै आँखा अगाडि अपेक्षित मृत्यूलाई कुरिरहनु
सारै कठिन हुने रहेछ ।
न कुनै याचना सुन्नेहरु छन्
न छन् कुनै मान्छेका पदचाप ?
सिर्फ लाशै लाशको सिरानीमा
मानव रगतको दुर्गन्ध छ
चुक घोप्टिएजस्तै अध्यारोमा
डरले कामीरहेकी छु ।
मृत्यू कुरेर बसिरहँदा
संयौपटक मर्दै फेरि व्युंझिदै गरें
मर्नुभन्दा कयौं गुणा बढी गारो हुँदो रहेछ कमरेड
मरेर व्युंझनु ।
न चिच्याउँदा आउने
न रुँदा आउने
कहाँ छ मृत्यू ?
भोक, रोग वा अरु केहीमा ?
भन न ए कमरेड कहिले आउँछ मेरो मृत्यू ?
(माओवादीको हिंसात्मक आन्दोलनका क्रममा खलंगा आक्रमण गर्दा घाइते भएर तिला नदीमा जिउँदै पुरिएकी एक छापामार किशोरीको सम्झनामा )