मसँग एउटा समय मौन बाँचिरहेछ
भन यो मौनता भन्दा
तिमी कति शक्तिशाली छौ ?
र बर्षौ देखिको निर्दोष कथा बाँच्नेहरु भन्दा
तिमीले उभ्याएको झुठो राज्य
भन कति शक्तिशाली छ ?
मैले बुझ्न नसकेको कुरा
एउटा भयानक कल्पना भन्दा पनि पर
आगोले सल्किरहेका गरिबका झुपडीहरु भन्दा
तिम्रो महल कति अग्लो छ?
हुरीको बेग एकछिन अघिको सन्नाटा भन्दा
तिमी कति भयानक छौ ?
त्यो उदासी बाँचिरहेको बगर
त्यो बसन्त अघिको पतझड जङ्गल
कति चै कमजोर होलान् र तिमी भन्दा ?
एउटा पहाड छिचोलेर आएको पंक्षीको आँखा भन्दा
तिम्रो रहरको सौर्न्दर्य
कति चै सुन्दर होला र ?
बर्षौ देखि तिम्रो सुकामोहरमा
अनमोल आशिर्वाद दिएर जाने भिखारी
भन तिमी भन्दा कति गरिब छ ?
मैले बुझ्न नसकेको कुरा
किन फर्किएनन् ?
आमाको थोत्रो मझेत्रो ओढेर हराएको छोरो,
बैश भुलेर मुक्तिको खोजीमा लड्न गएकी छोरी ।
झ्यालबाट सधै जसो किन हराउँछन् एक जोडी आँखा सुदुर तिर
किन सधै झै मुस्कुराउन सक्दैनन् ओठहरु ?
पिढीमा बसेर बा सधै
किन सालको पातमा पिरहरु बेर्छन्
र धुवासँगै उडाउछन् ?
अझै पनि आमा किन साँचिरहन्छिन्
पोल्टा भरि भुटेको मकै
किन बरबराउँछिन् एक्लै
भित्तामा टाँगिएको आफ्नै कोखको तस्विर हेरेर ?
मैले बुझ्न नसकेको कुरा
एउटा कविले अङ्कुशे हानि झारेको
जुनको एक टुक्रा उज्यालो भन्दा
तिम्ले बाँडेको सपना कति साँचो होला ?
र मैले बुझ्न नसकेको अर्को पनि कुरा
यति धेरै जिवन कथाहरु हराएको
तिम्रो एक जोडी आँखा भित्र
देशको नक्शा कहाँ होला ?
चन्द्रनिगाहपुर, रौतहट