वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग जस्तै
ताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा
बादल र चन्द्रमा ???
यिनीहरुको चैँ हुने/नहुने कुनै भर छैन ।
म यो समय
रातभरी ऐँठन भएर छटपट्टिन्छु
र असह्य मनोअवस्थामा
हरेक पल्ट लेख्न बस्छु कविता
(अवचेतन मनको सहज निकास लेखन नै रहेछ)
खै के के हो के के कुरा
कानभित्र अड्किएको किरा जस्तै भुनभुनाईरहन्छ
मेरो मष्तिष्कमा
-घरको कुरा गरीबिको कुरा
-देशको कुरा अन्यायको कुरा
-विश्वको कुरा भुमण्डलीकरणको कुरा
-मान्छेको कुरा विश्वासघातको कुरा
यी सबैको कर्कश चिच्याहटमा तयार हुन्छ मेरो कविता
तर नछापिदै भोलिको खवरपत्रिकामा
मैले तेसलाई जलाईदिनुपर्ने हुन्छ
किनकी हामी हिँसा चाहँदैनौँ
र त्यो कविताले
कि त सबै शाषकहरुको सामूहिक हत्या गराउँछ
कि त गराउँछ मेरा प्रिय पाठकहरुकै आत्महत्या !