बाबु आजकल
अलिअलि टाइप गर्न सक्ने भएको छु
आँखा भने कमजोर हुँदैछन्
शमशेर डाक्टर, यो उमेरमा अपरेशन गर्न मिल्दैन भन्छन्
थाहा छैन यो आँखाले कहिले सम्म हरियो चिन्ला ?
बाबु यो उमेरमा भएपनि
तिमीलाई इमेल गर्न सक्ने भएको छु ।
हिजो तिमीसँग स्काइपमा कुरा गरेपछि
आमा रातभरी रोई
दिदीहरू महेन्द्रनगर छन्
दाई देहरादुन छ
तिमी तेता छौ
हामीलाई हरेक दिन अनुहार देखाउने
यही कास्कीकोट र सराङ्कोटको डाँडो छ
शमशेर डाक्टर भन्दैथिए
आमाको दुख अब निक्लियो
घुँडाको जोर्नी राम्रो सँग घुम्दैन
आमा हिँड्नै नपाई दुख्छ भन्छे ।
परार सम्म
खरबारी बाट चुली लगाएर
घाँसको भारी बोक्ने आमालाई
आफ्नै रित्तो शरीर भारी भएको छ ।
शमशेर डाक्टर, यो उमेरमा दुःख नगर्नुस् भन्छन्
शमशेर डाक्टर, यो उमेरमा अपरेशन गर्न मिल्दैन भन्छन्
जताततै दुख्न थालेपछि
दुख खोज्न
मेला जान नपर्ने रहेछ !
मलाई थाहा छ तिमीले बिर्सिका छैनो
तिमी सानो छँदा चंगा उडाउन सिकाएको थिएँ मैले
र भनेको थिएँ
चंगा चुँडिएर रुखमै अड्कियो भने नरुनु भनेर
बाबु
चंगा चुँडिदा त मैले नया चंगा किनेर दिन्थेँ तिमीलाई
अहिले त तिमीहरुनै चंगा भएर उड्यौ
र अड्कियौ नझर्ने गरी
अहिले त तिमीहरु नै चरा भएर उड्यौ
र बनायौ नया गुँड सपनाको निलो आकाशमा !
घरको दलिनमा गौँथलीले गुँड बनाएको छ
केटाकेटीहरु अझै पनि चंगा जुधाउँदै हिँड्छन्
यतिमात्र सोच्छु
तिमी उड्ने सपनाको आकाश पनि
यहीँ कतै भईदिएको भए !
हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया)
सन्दर्भः बा को मुख हेर्ने दिन (कुशे औँसी—२०७०)